शेयर बजार: लगानीमैत्री बजेट आउँदा पनि बढेन बजार, बजार बढ्न नसक्नुको यस्ता छन् कारण

बिजमाण्डू
२०७६ जेठ ३२ गते २०:४५ | Jun 15, 2019


काठमाडौं। चालु आर्थिक वर्षको बजेटबाट चर्को आलोचना खेपेका अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा शेयर बजार मैत्री कार्यक्रम ल्याउने आंकलनसँगै शेयर बजारमा एकाएक उछाल आयो।

Tata
GBIME
Nepal Life

कतिपय बजार विश्लेषकहरुले शेयर बजारको बियरिस साइकल अन्त्य भएको विश्लेषण गरे। कतिपय लगानीकर्ताले नेप्से सूचक तीन हजार भन्दा माथि जाने अभिव्यक्ति समेत दिन भ्याए।

शेयर बजार क्षेत्रका जोडबलमा शेयर बजार २२१ अंकले बढ्यो।सोही अवधीमा केही ठूला लगानीकर्ताले शेयर उठाए र केही लगानीकर्ताले ऋण लिएरै पनि किने।त्यतिबेला कारोबार रकम एक अर्ब ६९ करोड रुपैयाँसम्म पुग्यो। केही समय बजारले बुलिस ट्रेण्ड समात्यो।र, जेठ लागेसँगै बजेटलाई लिएर स्पेकुलसेन भयो।

बजेट पछिको पहिलो कारोबार बाहेक बाँकी दिनमा शेयर बजार लगातार घट्दो क्रममा देखियो। केही लगानीकर्ताले सस्तोमा खरिद गरेको शेयर संकलन गरेर राखे पनि बजारमा अल्पकालिन लगानीकर्ता नै हाबी हुँदा थप माग सिर्जना भएन। बजार बढ्ने संकेतसँगै ऋण लिएर शेयर खरिद गरेका लगानीकर्ताको क्षमता विस्तार कम हुँदै गयो।

बजेट शेयर बजारमैत्री हुँदा पनि किन बढेन्? यसको उत्तर सहजै दिन सकिन्छ।तरलता अभावका कारण बजारले लय समात्न सकेको छैन।नीतिगत सुधारले मात्रै शेयर बजार बढ्न सक्दैन्। बजार बढ्नका लागि बैंक ऋण सहज हुनुपर्छ।अझ ब्याजदर एकल अंकमा भएमा मात्रै शेयर बजारले सकारात्मक बाटो लिन्छ भन्ने यही उदाहरणनै काफी छ।बैंकमा निक्षेप राख्दा राम्रो ब्याज पाएसम्म लगानीकर्ताले शेयर बजारमा जोखिम मोल्दैन्।

बैंकहरुले १० प्रतिशत भन्दा माथिको व्याजदरमा ऋणपत्र निष्काशन गरिरहेका छन्। उक्त ऋणपत्र समेत बिक्री हुन सकेको छैन। ऋणपत्र बिक्री हुन नसक्नुले पनि बजारमा अझै तरलताको समस्या समाधान हुन नसकेको प्रमाणित गर्छ।

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवका अवसरमा शेयर बजार मौद्रिक नीतिको छायाँमा पर्न नहुने अभिव्यक्ति दिएका थिए। अर्थमन्त्रीले मौद्रिक नीतिको छायाँमा शेयर बजार पर्न नहुने अभिव्यक्ति दिएपनि नेपालमा बैंक व्याजदरको स्थिरता भने हुन सकेको छैन।

अर्को पक्ष दोस्रो बजारमा अहिले पनि ७५ प्रतिशत भन्दा धेरै शेयर पूँजी बैंक तथा वित्तीय संस्थाहरुकै छ। यसले गर्दा मौद्रिक नीतिको छायाँबाट हटाउन अन्य क्षेत्रका कम्पनीको प्रतिनिधित्व बढाउनु पर्छ।

पछिल्लो समय बाणिज्य बैंकको शेयर मूल्यमा उछाल आउँदा बजार नै सुधार भएको थियो। एक चरण बैंक तथा वित्तीय संस्थाको बजार मूल्य बढेसँगै नाफा सुरक्षित गर्ने लगानीकर्ता हाबी हुँदा बजारमा सुधार आउन सकेको छैन। बाणिज्य बैंकमा केहि करेक्सन आउदै गर्दा बीमा कम्पनी तथा अन्य कम्पनीहरुले चेक एण्ड व्यालेन्स गर्न नसक्दा बजार थप ओरालो लाग्न थालेको हो।

२०/२५ करोड रुपैयाँ पूँजी भएका बीमा कम्पनीहरुले लगभग पूँजी जुटाउने अन्तिम चरणमा छन्। पूँजी बढ्ने स्पेकुलेसनसँगै आकासिएको शेयर बजार अहिले बढ्न सकेको छैन। बीमा कम्पनीको बोनस र हकप्रदको शेयर विस्तारै बजारमा आउन थालेको छ। बीमाको शेयर आपूर्ति बढ्दा बजार ओरालो लागेको छ।

त्यस्तै माइक्रोफाइनान्सले पनि लगातार पूँजी बढाइरहेका छन्। यसका साथै नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको पूँजी बढाउदा पहिलाको जस्तो हकप्रदलाई मान्यता नदिने अनुमानले गर्दा पनि बजार बढ्न सकेको छैन।

जलविद्युत कम्पनीहरुले राम्रो प्रतिफल दिन सक्ने अवस्था छैन। जलविद्युत कम्पनीले दिने प्रतिफल भन्दा साधारण निक्षेपको व्याजदर धेरै छ। जलविद्युत कम्पनीहरु प्रति लगानीकर्ताको विश्वास कमजोर हुँदा पनि बजार मूल्य बढ्न सकेको छैन।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र हाइड्रोपावरको शेयर मूल्य घट्दै गर्दा उत्पादनमूलक क्षेत्रका कम्पनीको बजार मूल्य बढिरहेको छ। शिवम सिमेन्ट, बोटलर्स नेपाल, हिमालयन डिस्ट्रलरी जस्ता कम्पनीको शेयर मूल्य बढिरहेको छ। शेयर मूल्य बढ्न सक्ने कम्पनीमा मात्रै लगानीकर्ता केन्द्रित छन्।