बिग मर्जरका बारेमा बैंकहरुमा छलफल सुरु, कुन उपयुक्त भन्दै हिसाबकिताव निकालिन थालियो

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ असार २ गते १२:०२ | Jun 17, 2019
बिग मर्जरका बारेमा बैंकहरुमा छलफल सुरु, कुन उपयुक्त भन्दै हिसाबकिताव निकालिन थालियो

Tata
GBIME
Nepal Life

काठमाडौं। बजेटमा 'ठूला बैंक' मर्ज गर्ने नीति लिने उल्लेख भएपछि बाणिज्य बैंकहरुको सञ्चालक समिति र उच्च ब्यवस्थापनमा 'बिग मर्जर' को गहन छलफल हुन थालेको छ।

चालु बर्ष नै बिग मर्जर नीति लिन खोजेको राष्ट्र बैंकलाई बजेटमा सरकारले संबोधन गरिदिएपछि आगामी बर्ष नीति ल्याउन अझ सहज भएको छ। त्यसैले पनि अधिकांस बैंकबीच बिग मर्जरमा जाँदा कुन बैंक उपयुक्त पार्टनर हुनसक्ला भनेर छलफल सुरु भएको हो।

नेपाल बैंकर्स संघले औपचारिक रुपमै मर्जर नीति ल्याउन सुझाब दिइसकेको छ। त्यसका लागि उसले केही सहुलियत पनि मागेको छ।

गभर्नर डा. चिरञ्जिबी नेपालको कार्याकाल आगामी चैतमा सकिँदैछ। फागुनबाटै उनी बिदामा बस्ने छन्। यस हिसाबले उनीसँग ८ महिनाको समय हुनेछ। ८ महिनाको अवधिभित्र कम्तिमा मर्जरको 'सैद्धान्तिक स्वीकृति' सक्ने मुड गभर्नर छन्। यस अवधिमा केही बैंकलाई 'अन्तिम स्वीकृति' दिएर एकिकृत कारोबार गराउन पनि सकिने बुझाइ राष्ट्र बैंकको छ।

यसको संकेत राष्ट्र बैंकका अधिकारीहरुले बैंक ब्यवस्थापन र सञ्चालक समिति सदस्यहरुलाई दिइसकेका छन्। त्यसैले पनि बैंकरहरु मर्जरका लागि उपयुक्त पार्टर छान्न छलफलमा जुटेका हुन्।

कतिपय बैंकको सञ्चालक समितिले कुन बैंक उपयुक्त हुन्छ भनेर विश्लेषण गर्ने जिम्मा व्यवस्थापनलाई दिइसकेको छ। ती बैंकहरुले वासलातको चिरफार गरेर 'हाम्रा लागि यो उपयुक्त हुन्छ' भनेर 'पावर पोइन्ट प्रिजेन्टेसन' पनि दिन थालेका छन्।

स्रोतहरुका अनुसार, भर्खरै केही विकास बैंकलाई गाभ्ने सहमति गरेको प्राइम कमर्सियल बैंकको सेञ्चुरी बैंकसँग कुराकानी चलिरहेको छ। यी दुई बैंकमा केही साझा लगानीकर्ता पनि छन्। अहिले प्राइम बैंक ठूलो समस्यामा छ। एकातिर जुनसुकै बेला अर्को बैंकमा सर्नसक्ने कल डिपोजिटको हिस्सा ठूलो छ भने दृष्टीबन्धक गरिसकेको अवस्थामा पनि कबुल गरेको ऋण रकम दिन सकेको छैन। त्यसैले प्राइमले अहिले तरलता सहज हुने र कल डिपोजिटको मात्रा कम हुने गरी मर्जरका लागि पार्टनर खोजिरहेको छ।

ग्लोबल आइएमइ बैंक पनि पार्टनर खोज्न जुटेको छ। आधा दर्जन संस्थालाई गाभेको ग्लोबल आइएमइको पहिलो रोजाइमा सानिमा बैंक छ। सानिमाले भने ग्लोबलसँगको मर्जरलाई 'इन्टरटेन' गरेको छैन। सँगसँगै ग्लोबलले कुमारी बैंकलाई पनि प्रस्ताब गरिसकेको छ।

सानिमा बैकको पहिलो रोजाइमा भने बैंक अफ काठमाण्डू (बिओके) छ। उसको दोस्रो विकल्प भने लक्ष्मी बैंक हो। लक्ष्मीमा राजेन्द्र खेतान समूहको बहुमत शेयर भएकाले त्यहाँ अल्पमतमा परिने हो कि भन्ने भय सानिमा पक्षलाई छ। नबिल बैंकले सानिमालाई केही समयअघि मर्जरका लागि अनौपचारिक प्रस्ताव गरिसकेको छ। 

अहिले अधिकांस बैंकको आँखा भने बिओकेमाथि छ। प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त 'फर्स्ट जेनेरेसन बैंकर' भएकाले अब निरन्तरता नदिने भएकाले अर्को बैंकलाई व्यवस्थानपन 'टेकअप' गर्न सहज हुने बुझाइ बैंकरहरुको छ। 

एभरेष्ट बैंकसँग मर्जरको 'च्याप्टर' बन्द भएपछि लक्ष्मी बैंकले आफ्ना लागि उपयुक्त पार्टनरका रुपमा सानिमा बैंकलाई हेरेको छ। यससँगै उसको नजरमा कुमारी र सिद्धार्थ बैंक पनि परेको छ।

तरलता अभाव र केही ठूला ऋणमा समस्या परेका कारण मेगा बैंक पनि यतिबेला मर्जर पार्टनर खोजिरहेको छ। मेगाले कोसँग मर्जर गर्ने भनेर प्रकृया भने अगाडि बढाएको छैन। सञ्चालक समितिभित्रै रहेको पुरानो मर्जर समितिले विकास बैंकहरुसँग मर्जर गर्दा सजिलो हुने भन्दै केहीको नाम सिफारिस गरेका छन्।

सिभिल बैंकले आधा दर्जन संस्थालाई प्रस्ताव गरिरहेको छ। सिटिजन्सदेखि जनता बैकसम्म सिभिलको अनौपचारिक कुराकानी चलेको छ। प्राइमसँग मर्जर टुटेपछि ओमलाई गाभ्न खोजेको सिटिजन्स पनि पार्टनरको खोजीमा छ। ओमले एनएमबी बैंकसँग मिसिने निर्णय गरिसकेको छ। ऋणको गुणस्तरमा आश्वस्त हुन सके संभवत सिटिजन्स र सिभिलको कुराकानी अगाडि बढ्न सक्ने बैंकरहरु बताउँछन्।

मर्जरको चर्चामा सँधै रहने तर प्रकृया नथाल्ने नेपाल बंगलादेश बैंकले पनि ग्लोबलपछि सिटिजन्ससँग कुराकानी गरेको छ। तर कुराकानी खास अगाडि बढेको छैन।

बैंकरहरुका अनुसार, केही बैंकबाहेक बाँकी सबैको सबैसँग कुनै न कुनै रुपमा मर्जरको बिषयमा कुराकानी भइरहेको छ। मर्जरको सूचीमा सरकारी तीन बैंकका साथै, स्टान्डर्ड चार्टर्ड र नेपाल एसबिआइ बैंक छैन। कुराकानी गर्ने तर मर्जर नगर्ने चरित्रको भन्दै एभरेष्टलाई पनि कसैले मर्जरको सूचीमा राखेका छैनन्। आफ्नै हिसाबले वासलात ठूलो बनाएको एनआइसी एसिया बैंकसँग पनि कसैको नाम जोडिएको छैन। यस बाहेक सबै बैंक मर्जरका लागि छलफलमा छन्।

ठूला भनिएको नबिलसँग सानिमाको नाम जोडिएको छ भने नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर हुन सक्ने  आँकलन गरिएको छ। तर दुबै बैंकले मर्जरका लागि कुनै पनि छलफल नभएको जनाएका छन्। माछापुच्छ्रे बैंक सकभर विकास बैंकलाई गाभ्ने नभए मात्र बाणिज्य बैकलाई गाभ्ने रणनीतिमा छ।

प्रभु र जनता बैकबीच पनि अनौपचारिक कुराकानी भएको छ। नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक मर्जरका लागि इच्छुक देखिए पनि कसैले पनि उसलाई मर्जरको प्रस्ताोब भने गरेको छैन। सनराइज बैंकको सञ्चालक समितिमा रत्नराज बज्रचार्य प्रमुख कार्यकारी हुँदा सामान्य छलफल भएपनि पछिल्लो समय कुराकानी अगाडि बढेको छैन। स्रोतहरुका अनुसार बज्राचार्यका पालामा सिद्धार्थ बैंक उपयुक्त हुने बारे छलफल भएको थियो।