कर्जाको व्याजदर थोरै घटेको राष्ट्र बैंकको दावी, सहुलियत कर्जा लिनेहरु एकै महिनामा ९०८ ले बढे

बिजमाण्डू
२०७६ असार ५ गते ०९:४९ | Jun 20, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक बर्षको वैशाखमा बाणिज्य बैंकहरुको आधार व्याजदर गत बर्षको भन्दा ०.७३ प्रतिशतले विन्दुले घटेको छ। गत वर्षको तुलनामा कर्जाको भारित औसत व्याजदर ०.०९ प्रतिशतले बढेर १२.२३ प्रतिशत पुगेको छ। आधार व्याजदर र कर्जाको भारित औसत व्याजदर बढ्दै गर्दा निक्षेपको भारित औसत व्याजदर भने थप ०.०६ प्रतिशत विन्दुले बढेर ६.६७ प्रतिशत पुगेको छ। 

नेपाल राष्ट्र बैंकको दवाव तथा बैंकर एशोसिएसनको भद्र सहमतिले निक्षेपको व्याजदर थोरै मात्रै बढेको हो। 

उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाह तथा निर्यात विस्तारमा सहयोग पुर्याउने उद्देश्यले बैंकबाट प्रदान हुने पुनर्कर्जाको उपयोग बढेको छ। बैशाख मसान्तसम्ममा बैंकहरुले २५ अर्ब २८ करोड रुपैयाँ पुनर्कर्जा प्रदान गरेका छन्। 

भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा बैंशाख मसान्तसम्ममा दुई अर्ब ५१ करोड रुपैयाँ प्रदान गरिएको छ। यस्तो कर्जा १५ सय ७७ जनाले प्राप्त गरेका छन्। यस्तो कर्जा प्रवाह लामो समयदेखि बढ्न सकेको छैन। 

नेपाल सरकारबाट ५ प्रतिशत व्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा १५ हजार ५४७ जनाले उपयोग गरेका छन्। चैतको तुलनामा यस्तो कर्जा लिनेको संख्या ९०८ जना थपिएका छन्। चैतमा कृषि तथा पशुपंक्षी व्यवसायका लागि कर्जा लिनेहरु १४ हजार ६३९ जना थिए। यस्तो कर्जा २७ अर्ब ४२ करोड रुपैयाँ प्रवाह भएको छ।

जबकी चैतमा यस्तो कर्जा २५ अर्ब १८ करोड रुपैयाँ प्रवाह भएको थियो। वैशाखसम्ममा यस कर्जाका लागि सरकारले ९८ करोड २२ लाख रुपैयाँ व्याज अनुदान प्रदान गरेको छ। 

व्याज अनुदान अन्तर्गतकै कृषि बाहेक बाँकी क्षेत्रतर्फ भने जम्मा १३ करोड ६४ लाख रुपैयाँ मात्रै प्रवाह भएको छ।