ढुवानीमा भ्याट: आपूर्तिमन्त्री यादबले ट्यांकर व्यवसायीलाई भने-‘समय थप हुन्छ’

बिजमाण्डू
२०७६ असार ११ गते १५:४५ | Jun 26, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले भ्याट कार्यान्वयनका लागि समय थप्ने आश्वासन दिएपछि पेट्रोलियम ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको आपूर्ति निरन्तर गर्ने भएका छन्।

सरकारले बजेटमा ढुवानी व्यवसायमा भ्याट लगाउने नयाँ व्यवस्था गरेको थियो। ढुवानीमा भ्याट लगाउने सरकारी निर्णयको विरोधमा पेट्रोलियम ढुवानी रोक्ने चेतावनी व्यवसायीले दिएका थिए।तर मन्त्री यादबले भ्याट कार्यान्वयन हुने तर त्यसका लागि समय भने थप्ने आश्वासन दिएपछि आपूर्ति निरन्तर हुने भएको हो।नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आपूर्तिमन्त्री यादबले भ्याट कार्यान्वयनका लागि केही समय थप्ने आश्वासन दिएकाले आपूर्तिमा निरन्तरता दिने निर्णय भएको जनाएको छ।

‘मन्त्रीज्यूसँग भएको छलफलपछि पेट्रोलियम ढुवानी क्षेत्रमा लागु भएको भ्याट कार्यान्वयनका लागि समय थप गरि सहज बनाउने प्रतिवद्धता आएको छ’ महासंघका महासचिव विश्व अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’पेट्रोलियम पदार्थ ढुवानी कार्य यथावत संचालन गरेर आपूर्ति सहज बनाउन सबै ढुवानी व्यवसायी सदस्य संस्थालाई अनुरोध गर्दछु।’ स्रोतका अनुसार मन्त्री यादबले महासंघका अध्यक्ष खगेश्वर बोहोरालाई टेलिफोन गरेर विहिबारसम्म भ्याट कार्यान्वयनका लागि समय थप्ने आश्वासन दिएका छन्।

त्यही आश्वासनपछि महासंघले यो विज्ञप्ति जारी गरेको हो।महासंघका अनुसार समय थप नभएमा असार १५ गते कार्यसमिति बैठक डाकेर हड्तालका कार्यक्रम घोषणा गरिनेछ।स्रोतका अनुसार प्रधानमन्त्री केपीशर्मा ओलीले कुनै हालतमा पेट्रोलियम पदार्थको आपूर्ति रोकिन नहुने र भ्याट कार्यान्वयनका लागि समय थप्न अर्थमन्त्री डा. युवराज खतिवडालाई आग्रह गर्ने बताएका थिए।आफ्नै दलको आन्तरिक दबाब र गुठी विधेयकका कारण समस्यामा परेका ओलीलाई पेट्रोलियम पदार्थको अभावले थप समस्यामा पार्ने अवस्था थियो।

व्यवसायी भ्याटमा जान तयार

आपूर्तिमन्त्री यादबसँगको छलफलमा महासंघका अध्यक्ष बोहरा र महासचिव अर्यालले ढुवानीमा भ्याटमा जान तयार भएपनि समय भने थप्नुपर्ने बताएका थिए।‘सरकारले ल्याएको निर्णयबाट हामी ब्याक हुन खोजेका होइनौं।तर सरकारले असंगठित रुपमा रहेको यो क्षेत्रमा भ्याट कार्यान्वयनमा ल्याउँदा केही समय दिनुपर्छ भन्ने हो।’

उनीहरुले मन्त्रीसँग भनेका थिए,’कम्पनीमा जान र त्यसलाई फाइनान्सिङ गर्न भने केही समय लाग्ने भन्दै समय मागेका थिए। अधिकांश ट्यांकर बैंक ऋणमा छन्। स्रोतका अनुसार कतिपय ट्यांकरधनीले कम्पनी दर्ता गरेर निगमलाई समेत आवेदन दिइसकेका छन्।