२० बर्ष पुराना सार्बजनिक सवारी गुडाउन रोक लगाएको सरकारले ‘ल्यान्डरोभर’ लाई दियो छुट

बिजमाण्डू
२०७६ असार १७ गते १८:०९ | Jul 2, 2019
२० बर्ष पुराना सार्बजनिक सवारी गुडाउन रोक लगाएको सरकारले ‘ल्यान्डरोभर’ लाई दियो छुट

Tata
GBIME
Nepal Life

काठमाडौं। २० बर्ष पुराना सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाईएको भएपनि ल्याण्डरोभरलाई भने नियम नलाग्ने भएको छ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गर्दै ल्याण्डरोभरको हकमा  २० बर्षे आयुको सिमा हटाउने निर्णय गरेको हो। पहाडी जिल्लाहरुमा संचालनमा रहेका २० बर्ष पुराना ल्याण्डरोभर यात्रुबाहक सार्वजनिक सवारी साधनहरुको हालको अवस्थाको अभिलेख राखी यातायात व्यवस्था विभागले बनाएको मापदण्ड बमोजिम हुने गरि संचालन गर्न दिने निर्णय गरिएको छ। 

काठमाडौं उपत्यका, पोखरा उपत्यका तथा सबै महानगरपालिका बाहेकका  पहाडी  जिल्लाहरुमा त्यस्ता सवारी साधन संचालन गर्न अनुमती दिने निर्णय गरेको हो।

२० बर्षे सबै खालका सार्वजनिक हटाउने निर्णयले पूर्वी र पश्चिमी पहाडी क्षेत्र सबैभन्दा प्रभावित बनेको थियो। नयाँ सवारी साधन पनि व्यवसायीहरुले नलैजाने र भएका सवारीसाधन पनि संचालनमा रोक लाग्दा त्यहाँका मानिसहरु समस्यामा परेको भन्दैं मन्त्रालयले ल्याण्ड रोभरलाई संचालन गर्न दिने निर्णय गरेको हो। मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले ४०/५० बर्षका ल्याण्डरोभरले पनि राम्रैसँग सेवा दिईरहेकाले छुट दिएको बताए। 

‘इन्जिन बलियो हुन्छ। ५० बर्ष सम्मकाले राम्रै सेवा दिईरहेका छन्। किसानले ढुवानीका लागि समेत प्रयोग गरेका छन्। सर्वसाधरणलाई पुर्याएको सेवा हामी आफैले महशुस गर्यौ त्यसकारण दिने निर्णय भएको हो,' उनले भने। उनका अनुसार विकसित देशहरुले ५० /६० बर्षका ल्याण्डरोभर कुदिरहेका छन्। 

सरकारले २० बर्षे सवारीसाधन हटाउने निर्णय गरेपछि व्यवसायीहरुले ल्याण्डरोभर लगायतका सवारी साधनहरुलाई देखाएर सजिलै पहाडी एरियामा संचालन भएको भन्दै इन्जिन फिट भएका सवारीसाधन चलाउन पाउनु पर्ने लविङ गर्दै आएका थिए। सरकारले व्यवहारिक पाटो हेरेर ल्याण्डरोभरलाई मात्रै दिएको ज्ञवालीले बताए। यो सवारीसाधन पहाडी एरियामा यात्रु तथा सामान ढुवानी गर्नका लागि प्रयोग गरिन्छ।