यातायातका डिजी भन्छन्, ‘तीन महिनाभित्र लाइसेन्स समस्या समाधान हुन्छ,’ नयाँ मेसिन ल्याइँदै

बिजमाण्डू
२०७६ असार २४ गते १५:३७ | Jul 9, 2019
यातायातका डिजी भन्छन्, ‘तीन महिनाभित्र लाइसेन्स समस्या समाधान हुन्छ,’ नयाँ मेसिन ल्याइँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतीपत्र(लाइसेन्स) छपाई र वितरणको समस्या तीन महिनाभित्र सहज हुने जनाएको छ। 

विभागका महानिर्देशक कुमारप्रसाद दहालले स्मार्ट लाइसेन्स छपाई र वितरणसँग सम्बन्धी सबै समस्या तीन महिनाभित्र सहज हुने दाबी गरेका छन्। उनले १२ दिनभित्रै मास प्रिन्टर र एक महिनाभित्र ६ लाख कार्ड आइपुग्ने जानकारी दिए ।

अहिले ल्याउन लागिएको मास प्रिन्टरले प्रतिघण्टा ५ सय कार्ड छाप्न सक्छ। ट्रायल पास गरेर स्मार्ट लाइसेन्स पर्खेर बसेका करिब ६ लाख सेवाग्राहीले तीन महिनाभित्र लाइसेन्स पाउने छन्।

ब्याकलक सकिएपछि पर्याप्त कार्ड र मास प्रिन्टर हुने भएकाले एक साताभित्रै लाइसेन्स दिने गरि व्यवस्था मिलाइने दाहालको दाबी छ। उनले आगामी वर्षका लागिसमेत १० लाख कार्ड र थप मास प्रिन्टर खरिद गर्न लागिएको जानकारी दिए। अहिले विभागले अध्ययन, विदेश भ्रमण ड्राइभिङ भिसा र शान्ति सेनामा जानेहरुका लागि एकै दिनमा लाइसेन्स दिने गरेको छ।

अहिले सबै प्रदेशमा लिखित परीक्षा तथा ट्रायल भइरहेको छ।प्रदेशले सबै प्रक्रिया पुरा  गरेर विवरण विभागको केन्द्रीय सर्भरमा पठाउने गरेका छन्। सोही आधारमा यातायात व्यवस्था विभागले लाइसेन्स छापेर वितरण गर्ने गरेको छ। प्रदेशमै सबै काम हुने गरेको भएपनि प्रिन्टर नहुँदा विभागमै छपाई हुँदै आएको छ। 

यसअघि लाइसेन्स छपाईका लागि छनौट भएको मालिका कम्पनीले छापेको करिब २५ हजार लाइसेन्समा प्राविधिक समस्या आएका कारण कम्पनीसँग क्षतिपूर्ती असुल गर्न लागिएको दहालले जानकारी दिए। बीचमा विभागले खरिद प्रक्रियाबाट प्रिन्टर ल्याउँदा ढिला हुने भन्दै ब्याकलक सक्नका लागि मालिकालाई करिब ५ लाख स्मार्ट कार्ड छाप्न दिएको थियो। मालिकाले छापेको  साढे तीन लाख कार्डमध्ये २५ हजारमा समस्या रहेको उनले जानकारी दिए।