शैक्षिक प्रमाणपत्र धितोको ऋण जम्मा १६ जनाले पाए, ब्याज अनुदानको स्किममा साढे ३४ अर्ब गयो

बिजमाण्डू
२०७६ असार २४ गते १६:४५ | Jul 9, 2019
शैक्षिक प्रमाणपत्र धितोको ऋण जम्मा १६ जनाले पाए, ब्याज अनुदानको स्किममा साढे ३४ अर्ब गयो

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तब्यको २५ नम्बर बुँदा पढ्दा नेकपाका सांसदहरुले चर्को स्वरमा टेबुल ठटाएका थिए।

संघीय संसदको दुबै सदनलाई संवोधन गर्दै खतिवडाले पढेका थिए- उच्च शिक्षा हासिल गरेका युवालाई ब्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने ब्यवस्था मिलाइने छ।' 

आफ्नो गाउँ आँफै बनाउँ' र 'वृद्ध भत्ता' का कारण 'पपुलर' बनेको तत्कालिन एमालेका लागि यो अर्को 'पपुलिस्ट' कार्यक्रम थियो। त्यही भएर सांसदहरुले जोडतोडले समर्थनमा टेबुल ठटाएका थिए।

अर्थमन्त्रीले जुन जोसमा यो कार्यक्रम ल्याएका थिए, कार्यान्वयन भने एकदमै कमजोर छ। कार्यक्रम लागू भएदेखि जेठ मसान्तसम्म १६ जनाले यस्तो ऋण पाएका छन्। यो ऋणमा पाँच प्रतिशत ब्याज अनुदान पाइन्छ। कुल ९३ लाख ५० हजार रुपैयाँ मात्र लगानी भएको छ।

अर्थमन्त्री बजेट बक्तब्यमा अगाडि बढ्दै गए। २८ नम्बर बुँदा भट्याएपछि फेरी नेकपाका सांसदहरु उत्साहित भएर टेबल ठटाए। भाषणमा भनिएको थियो- विदेशबाट फर्केका युवाहरुको सीप प्रमाणीकरण गरी त्यस्ता युवाहरुलाई सम्बन्धित ब्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्म ऋण उपलब्ध गराउने ब्यवस्था मिलाएको छु। यो कार्यक्रमबाट जम्मा ३२ जना युवा मात्र लाभान्वित भएका छन्। उनीहरुले कुल २ करोड ३१ लाख ५० हजार रुपैयाँ बराबरको ऋण चलाएका छन्।

अर्थमन्त्री खतिवडाले अर्को पनि एउटा कार्यक्रम ल्याएका थिए- दलितहरुलाई सहकारी तथा सामुदायिक उत्पादन प्रणालीमार्फति आधुनिक व्यवसाय गर्न सामूहिक जमानीमा प्रति समूह १० लाखसम्मको ऋण ५ प्रतिशत ब्याज अनुदानम उपलब्ध गराउने। यो कार्यक्रममा पनि जम्मा ५० जनाले मात्र ऋण पाएका छन्। कुल २ करोड ७२ लाख २० हजार रुपैयाँ ऋण लगानी भएको छ।

अर्थमन्त्रीले अरु केही कार्यक्रम पनि ल्याएका थिए, ती कार्यक्रमको कार्यान्वयन पनि भएको छैन। महिला उद्यमशील कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने कार्यक्रम खतिवडाले ल्याएका थिए। यस्तो कर्जा जम्मा ५३५ जना महिलाहरुले पाएका छन्। कुल ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ ऋण गएको छ। 

अर्थमन्त्रीले झ्याली पिटेको अर्को कार्यक्रम हो- उच्च र प्राविधिक व्यवसायिक शिक्षा कर्जा योजना। यो ऋण पनि जम्मा ५७ जनाले पाएका छन्। कुल १ करोड ५८ लाख ६६ हजार रुपैयाँ मात्र गएको छ।

ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र भुकम्प पीडितहरुको निजी आवास कर्जा योजना भने पुरानै कार्यक्रम हो। कृषि तथा पशुपन्छी कर्जा कांग्रेसका पालामा डा. रामशरण महतले सुरु गरेका हुन् भने २०७२ को भुकम्पपछि निजी आवास कर्जा सुरु भएको हो। खतिवडाले आफ्नो बजेट कार्यान्वयन गर्नुअघि नै ९ हजार ५६३ जनाले १४ अर्ब १२ करोड कर्जा चलाएका थिए। अहिले यो बढेर ३३ अर्ब ९४ करोड १२ लाख रुपैयाँ पुगेको छ। ऋण लिनेको संख्या पनि १५ हजार ९१६ पुगेको छ।

सहुलियतपूर्ण ऋण कुल ३४ अर्ब ४१ करोड रुपैयाँ बराबरको गएको छ। कुल १६ हजार ६८२ जनाले यस्तो ऋण चलाएका छन्।