निरज श्रेष्ठले सनराइज बैंक नसम्हाल्दै छाडे: विवाद मिलाउन पहल नै भएन, ‘विवादमा काम गर्न सकिँदैन’

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ असार २६ गते ०९:०४ | Jul 11, 2019
निरज श्रेष्ठले सनराइज बैंक नसम्हाल्दै छाडे: विवाद मिलाउन पहल नै भएन, ‘विवादमा काम गर्न सकिँदैन’

Tata
GBIME
Nepal Life

काठमाडौं। सञ्चालक समितिको विवादमा ब्यवस्थापकीय नेतृत्व सम्हाल्न नसक्ने भन्दै निरज श्रेष्ठले कार्यभार नसम्हाल्दै सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पद त्याग गरेका छन्।

चार बर्षे कार्यकालका लागि करारपत्रमा हस्ताक्षर गरेपछि सञ्चालकहरुले नियुक्तिका बिषयमा विवाद गरेको भन्दै उनले अध्यक्ष मोतीलाल दुगडलाई पत्र लेख्दै नआउने जानकारी गराएका हुन्।

२९ बर्ष लामो बैंकिङ अनुभव सँगालेका निरजलाई गत जेठ २३ गते बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। सात सदस्यीय सञ्चालक समितिमा नियुक्तिपछि दुई जना सञ्चालकले सञ्चार माध्यममार्फत निरजको विरोध गरेका थिए। 

मालचन्द दुगड र शैलेन्द्र गुरागाइँले विरोध जनाएपछि निरजले अध्यक्ष मोतीलाललाई सञ्चालक समितिको विवादका बारे सोधेका थिए। दुगडले विवाद केही पनि नभएको असार २ गतेबाट बैंक आउन भनेका थिए। 

निरजले विवाद भए आफू आउन नसक्ने जानकारी अध्यक्षलाई दिएका थिए। उनले सुरुमा १५ दिनको समय दिएका थिए। अध्यक्षले एक महिनाको समय मागेपछि निरजले साउन ६ गतेअघि नै विवाद मिलाए मात्र आफू बैंक आउने जानकारी गराएका थिए। 

'यसबीचमा सञ्चालक समितिको विवाद मिलाउन पहल भएन। विवादका बीच काम गर्न गाह्रो हुन्छ' निरजले बिजमाण्डूसँग भने, 'त्यही भएर मैले अध्यक्षज्यूलाई बैंक 'जोइन' गर्न नसक्ने जानकारी गराइसकेको छु।'

विवादको चुरो
सिइओ नियुक्त गर्नुअघि निरजलाई बैक सञ्चालक समितिले 'पावर पोइन्ट प्रिजेन्टेसन' का लागि डाकेको थियो। उनले करिव दुई घण्टा आफ्नो प्रस्तुती दिएका थिए। त्यहाँ सञ्चालकहरुले सवाल गरे, उनले जवाफ दिए। 

त्यो बैठकमा दुई जना सञ्चालक भने अनुपस्थित थिए। शैलेन्द्र गुरागाईँ र मालचन्द दुगड। गुरागाईँले बैठक चलिरहँदा अध्यक्ष मोतीलाल दुगडलाई फोन गरेर भनेपनि- मालचन्द जी हुनुहुन्न। उहाँ नभएपछि म आउँदिन। निरजजी राम्रो मान्छे हो। म अर्को बैठकमा आउँला।

शैलेन्द्रसँग भएको कुराकानी सञ्चालक समिति चलिरहँदा मोतीलाल दुगडले सुनाएका थिए।

निरज आफ्नो प्रस्तुती सकेर हिँडे। त्यसको केही दिनमै सञ्चालक समितिको बैठक बस्यो। बैठकमा गुरागाईँले 'निरजजी राम्रो मान्छे हो। मैले त उहाँसँग सँगै पढेको पनि हो। त्यसैले उहाँलाई नियुक्त गर्दा मेरो समर्थन नै हुन्छ' भनेर बैठकमा आफ्नो धारणा राखे।

बैठकमा शैलेन्द्रले केही लामै बोलेका थिए। उनले अघिल्लो दिन निरज श्रेष्ठसँग सँगै बसेर लञ्च खाएको जानकारीसमेत सञ्चालक समितिलाई गराएका थिए।

बैठकमा मालचन्द दुगड उपस्थित थिएनन्। उनले बिरामी भएकाले आउन नसक्ने जानकारी गराएका थिए। सिइओमा निरजलाई नियुक्त गर्ने भनेर सञ्चालक समितिले माइन्युटमा हस्ताक्षर गर्न थालियो। 

त्यहीबीचमा शैलेन्द्रलाई फोन आयो। उनी 'म अहिले हस्ताक्षर गर्दिन, मालचन्दजीसँगै गरौंला' भनेर बाहिरिए। बैठकले निरजलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेपछि उनलाई चार बर्षका लागि 'कन्ट्राक्ट पेपर' मा हस्ताक्षर गरायो। 

आफूसँगै पढेको साथी भनेर प्रशंसा गरेका शैलेन्द्रको सार्वजनिक रुपमा बोली फेरियो। उनले निरजमाथि प्रश्न उठाउँदै उनको नियुक्तिमा आफ्नो समर्थन नरहेको प्रतिकृया सार्वजनिक गरे। शैलेन्द्र 'युटर्न' हुनुमा दुई वटा मूख्य कारण रहेको उनी निकटहरु बताउँछन्।

शैलेन्द्रले बैककै केही बरिष्ठ कर्मचारीहरुलाई 'तपाईँ हो आगामी सिइओ' भनेर आश्वासन बाँडेका थिए। अर्कोतिर उनले 'राजनीतिक तथा प्रशासनिक दबाब' का कारण अरु कसैलाई प्रमुख कार्यकारी बनाउन खोजेका थिए। 

बैंक सञ्चालक समितिमा मोतिलालका साथै बच्चराज तातेर, मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी छन्। 

स्रोतहरुका अनुसार, सञ्चालक समिति बैठकमा निरजलाई नियुक्त गर्नुअघि मोतीलालले 'तपाईँहरुलाई कोही उत्कृष्ट लाग्छ भने नाम प्रस्ताव गर्नु होला' भनेर सोधेका पनि थिए। तर न मालचन्द न त गुरागाईँले नै अर्को विकल्प दिएका थिए।

'निरजजी जागिर माग्दै आएको पनि होइन। हामीले नै बोलाएको हो। नियुक्त गरिसकेपछि उहाँलाई विवादमा तान्नु ठीक होइन तर साथीहरुले बुझिरहेका छैनन्' एक सञ्चालकले भने। 

अनि निरजले दिए निकास
निरजले विवादका कारण बैंकको छवी क्षयिकरण हुने भन्दै चाँडोभन्दा चाँडो मिलाउन अध्यक्षलाई आग्रह गरेका थिए। उनले विवाद मिलाउन नसक्ने भए आफू करारनामा भङ्ग गर्नसमेत तयार रहेको जानकारी गराएका थिए।

'लामो समय पर्खिँदा पनि विवाद मिल्ने अवस्था नदेखेपछि मैले कन्ट्राक्ट भङ्ग गरेको जानकारी गराइसकेको छु' निरजले भने, 'ब्यक्तिका कारण बैंककको छवि बिग्रिनु हुँदैन भन्ने म चाहन्छु।' निरजले करार सम्झौता गर्नुअघि सञ्चालक समितिमा विवाद रहेको भन्ने सुइँकोसम्म पनि पाएको भए आफूले हस्ताक्षर गर्दिन थेँ भने। 

'विवादकाबीच बैंक अगाडि बढ्न सक्दैन। म विवादमा काम गर्ने प्रबृत्तिको मान्छे पनि होइन' उनले भने, 'साँच्चै भन्दा मैले उहाँहरुलाई निकास दिएको हुँ।' उनले आकर्षक तलब सुविधा, बहुमत सञ्चालक आफ्नो पक्षमा (सातमध्ये पाँच) हुँदा हुँदै पनि विवादका माझमा बस्न रुची नभएको बताए।

उनले अध्यक्षसहित पाँच जनाले बारम्बार बैक 'जोइन' गर्न आग्रह गरेको जानकारी दिँदै भने- तपाई आएपछि सबै मिलिहाल्छ भन्नु भयो। पछि मिल्छ भने अहिले किन निमल्ने भन्ने मेरो तर्क हो। सुरुमै मिलेर गयो भने बैंक राम्रो हुन्छ। नभए समस्या बारम्बार आउँछ। 

'त्यही भएर मैले बिबाद चाँडोभन्दा चाँडो मिलाउन भनेको थिएँ। बैंकको छवि नबिग्रियोस् भन्ने मेरो चाहना हो। तर सञ्चालकहरु नै प्रचारबाजीमा लागेर छवि गिराउने काममा लागे' उनले भने, 'यस्तो परिस्थितिमा काम गर्न गाह्रो हुन्छ।'