मोट्रेक्स र लगानी बोर्डबीच छलफल, कम्पनीका तीन कडा शर्तमै अड्कियो छलफल, यस्ता छन् शर्त

बिजमाण्डू
२०७६ असार २६ गते ११:४८ | Jul 11, 2019
मोट्रेक्स र लगानी बोर्डबीच छलफल, कम्पनीका तीन कडा शर्तमै अड्कियो छलफल, यस्ता छन् शर्त

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपालमै गाडी एसेम्बल्डको स्वीकृति पाएको मोट्रेक्स र लगानी बोर्डबीच परियोजना लगानी सम्झौंता(पिआए)का लागि दुई चरणको छलफल भएको छ।

छलफल मोट्रेक्सले राखेका कडा शर्तमै केन्द्रित छ।बोर्डका उच्च स्रोतका अनुसार मोट्रेक्सले सात वर्ष अर्को कुनै कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न नदिने, एसेम्बल्डका लागि आउने पार्टसमा भन्सार छुट दिनुपर्ने र उत्पादित गाडी अरु कम्पनी सरहनै बेच्न पाउने शर्तमै छलफल केन्द्रित छ।

‘मोट्रेक्सले राखेका कडा शर्त कार्यान्वयन गर्न सकिने अवस्था छैन।’छलफलमा सहभागी एक अधिकारीले भने,’सात वर्ष अर्को उद्योग आउनै नदिने शर्त खुला बजार अर्थव्यवस्था विपरित छ।’ उनका अनुसार भन्सार छुटमा गाडीका पार्टस ल्याउने तर मूल्य भने अरु सरहनै हुने मागनै न्यायोचित छैन।‘मोट्रेक्सलाई मात्रै भन्सार छुटमा पार्टस ल्याउन दिन सकिदैन। उसलाई दिनेवितिकै अरु कम्पनीलाई समेत त्यही सुविधा दिनुपर्छ’ ती अधिकारीले भने,’मोट्रेक्सले राखेको माग पूरा गर्न नसकिने खालका छन्।’

मोट्रेक्सले सात वर्षपछि पनि ११ अर्ब रुपैयाँ भन्दा ठूला परियोजनालाई मात्रै अनुमति दिनुपर्ने शर्त राखेको छ। कम्पनीसँग परियोजना लगानी सम्झौंताका लागि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संयोजक रहेको समितिमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन र लगानी बोर्डका सहसचिव सदस्य छन्।

यो कम्पनीले माघ २५ गते एसेम्बल्ड प्लान्ट राख्न प्रस्ताव गरेको थियो। लगानी सम्मेलनका पूर्व सन्ध्यामा यो कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न दिने गरि विदेशी लगानी स्वीकृति दिइएको थियो। एसेम्बल्ड प्लान्टको अनुभव नभएको यो कम्पनीले कोरियामा एसेसरिज मात्रै उत्पादन गर्छ।प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको बोर्ड बैंठकले मोट्रेक्सलाई नेपालमा एसेम्बल्ड प्लान्ट स्थापनाका लागि स्वीकृति दिएको थियो।

यो कम्पनीको १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गर्दै कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्न स्वीकृति दिएको थियो। कम्पनीले पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने उल्लेख गरेको थियो।

कम्पनीले परियोजना सुरु भएको पाँचौ वर्ष र उत्पादन भएको चौथो वर्षबाट परियोजना ब्रेक इभनमा जाने प्रस्ताव गरेको थियो। कम्पनीले बुटवलमा रहेको मोतिपुर औद्योगिक क्षेत्रमा एसेम्बल्ड प्लान्ट बनाउन १० महिना लाग्ने प्रस्ताव समेत पेश गरेको थियो।