‘जहाजले रनवे छोड्दा बाँच्ने आशा नै हराएको थियो’ यति एयरलाइन्सका यात्रु घनश्याम थापाको अनुभव

बिजमाण्डू
२०७६ असार २७ गते १२:२० | Jul 12, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। शुक्रबार बिहान झण्डै १०:०० बजे नेपालगञ्ज-काठमाडौं उडानका लागि यति एयरलाइसको ९एनएएमएम कलसाइनको एटिआर ७१ जहाजले उडान गरेको थियो।

चालकदल सहित ६६ जना यात्रा गरिरहेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा जहाज एक्कासी धावनमार्गबाट बाहिरिएर घाँसे मैदानमा पुग्यो। नसोचेको भइदिँदा यात्रुहरु  निकै आत्तिएका थिए।

धावनमार्गबाट करिब १५ मिटर बाहिर घाँसे मैदानमा पुग्दै गर्दा अब बाँचिन्छ भन्ने आसै मारेको यात्रु घनश्याम थापाले बताए।

'हवाई यात्रा गर्दा यस्तो घटना पहिलोपटक झेलेको हुँ। घटना सामान्य नै हो तर बस र कारमा यस्तो हुँदा सहजै बाहिर निस्कन सकिन्छ। तर जहाजमा त्यो असम्भव। सबै यात्रु आत्तिएका थियौँ। जहाजले रनवे छोडेपछि त कहाँ पुगेर ठोकिन्छ अनि मरिन्छ भन्ने डरले डेरा जमाएको थियो। यस्तो अवस्थामा यो सोच आउनु सामान्य हो। परिचारिकाले हामीलाई नआत्तिनका लागि सहानुभुति दिइन्। त्यसपछि बाँचिएला की भन्ने आशा जागेको थियो।'  

थापाका अनुसार एकजना महिलालाई हर्टअट्याक भएको छ भने जहाज रोक्ने क्रममा एक जना यात्रुको आँखा छेउमा चोट लागेको छ। जहाज घाँसेमैदानमा पुगेर रोकिएको पाँच मिनेटमा सबै यात्रुलाई उद्धार गरिएको र  दुईजना घाइतेलाई अस्पताल पठाइसकिएको थियो।  

'ठूलो दुर्घटनाबाट जोगिएको महसुस भइरहेको छ। यतिखेर दोस्रो जन्म लिएको अनुभव भइरहेको छ।'उनले भने।

यति एयरलाइन्सका अनुसार नेपालगञ्ज-काठमाडौं उडान क्याप्टेन प्रमोद पौडेलले गरेका थिए।