बिषादी नराखी पकाइएका फलफूलको खोजी बढ्यो, कुलेश्वरको बिषादीरहित फ्रुट चेम्बरमा यसरी पाक्छ केरा

बिजमाण्डू
२०७६ असार २८ गते ०९:०५ | Jul 13, 2019
बिषादी नराखी पकाइएका फलफूलको खोजी बढ्यो, कुलेश्वरको बिषादीरहित फ्रुट चेम्बरमा यसरी पाक्छ केरा



काठमाडौं। अचेल  बजारमा बिषादी हालिएका तरकारी तथा फलफुलको बिगबिगी छ। परीक्षणको प्रविधि नभएका कारण कुन फलफुल वा तरकारीमा कस्तो विषादी प्रयोग भैरहेको छ उपभोक्ताले थाहा पाउन सक्दैनन्।

Tata
GBIME
Nepal Life

राम्रो देखेर किनेको केरा भोलिपल्टै डाँठदेखि नै कुहिने समस्या अधिकांशले भोगेका छन्। विषादी हालेर पकाइएको केरा कालो हुने र स्वाद पनि भनेजस्तो नहुने उपभोक्ताको गुनासो छ। यस्तोमा  पहिलोपटक कुलेश्वर स्थित फलफुल बजारमा रहेको बिन्दबासिनी फ्रुट चेम्बरले केरा पकाउने सुरक्षित बिधिको प्रयोग थालेको छ।

 नयाँ प्रविधिबाट पकाइने केरा कालो दागधब्बारहित मात्र होइन खाँदा पनि बोटमै पाकेको जस्तो स्वादको हुने भएकाले यस्तो केरा लोकप्रिय हुँदै गैरहेको छ।गत वर्षको भदौदेखि बिन्दबासिनी फ्रुट चेम्बरले नयाँ प्रविधिले केरा पकाउन सुरु गरेको हो। चेम्बरले सबै किसिमका काँचो फलफुललाई पकाउने काम गर्छ। फलफुल व्यवसायी अमर बानियाँले यो चेम्बर संचालनमा ल्याएका हुन्।

यो चेम्बरमा चिस्यान विधिबाट केरा पकाइन्छ। बानियाका अनुसार उनले केरा पकाउने केन्द्र 'बनाना राइपिङ चेम्बर' बनाएका छन्। यो केन्द्रमा ठूला साना गरेर ६ वटा चेम्बर छन्। यहाँ दैनिक १८ देखि २० टन केरा पकाइन्छ। केरासँगै उनले मेवा, भुईंकटहर र आँप समेत पकाउन थालेका छन्।   

कसरी पकाइन्छ?

देशका विभिन्न क्षेत्रबाट ठूला मालवाहक ट्रकमा दैनिक रुपमा काँचो केरा केन्द्रमा आउने गरेको छ। उक्त केरालाई क्रेटमा प्याक गरी शितभण्डारमा राखिन्छ।

कक्षमा राखिएको पहिलो दिन चिस्यानको तापक्रम १६ डिग्री सेल्सिएसमा झारिन्छ। चिस्यानलाई निश्चित डिग्रीमा राखेपछि उक्त कक्षमा 'एथिलिन ग्यास' छरिन्छ।केराको मौज्दातलाई हेरेर छर्ने ग्यासको मात्रा तय गरिन्छ। ग्यास राखेपछि कक्षलाई २४ घण्टासम्म बन्द गरिन्छ।

यो ग्यास फलफुल बाटै तयार गरिने तथा आईएसओ सर्टिफाइड भएकोले सुरक्षित छ। यसले मानव स्वास्थ्यमा कुनै खराबी नगर्ने बानियाँले दावी गरे । केन्द्रले वातावरण व्यवस्था विभागबाट यो ग्यास प्रयोग गर्ने स्वीकृति लिएको पनि उनले जानकारी दिए।

चिस्यान कक्षमा केरा राखेको २४ घण्टापछि कक्षको तापक्रम १८ डिग्री सेल्सिएससम्म पुर्‍याइन्छ। करिब ७२ घण्टा पुगेपछि बिस्तारै केरा पहेँलिन सुरु गर्छ। पहेँलिन सुरु गरेपछि यसलाई बजारमा बिक्रीको लागि पठाइन्छ। अलि अलि पहेलिएको केरा बजारमा १० देखि १२ दिन सम्म बिक्री गर्न सकिने बानियाँले बताए।  

यस अघि बन्द कोठामा भट्टी प्रविधिबाट केरा पकाउने गरिएको थियो। यस अनुसार केरा पकाउन एउटा टिनको भाँडोमा भुस राखिन्छ। त्यसमा आगो लगाइन्छ। भुस बल्दैन त्यसबाट धुँवा मात्रै आउँछ। धुवासहितको भाँडो फलफुल रहेको कोठामा राखेर सबैतिरबाट झ्याल ढोका बन्द गरिन्छ।त्यसबाट आएको धुँवाले १२ घण्टा भित्रमा फलफुल पाक्ने गर्छ। तर त्यसरी पकाएको फलफुल ४/५ दिन भन्दा टिक्दैन।

त्यो भन्दा अघि कार्बाइड नामक रसायनको प्रयोग गरेर केरा पकाउने गरिन्थ्यो। यसरी पकाएको केरा स्वास्थ्यको दृष्टिकोणले हानिकारक र प्राकृतिक स्वादको अभाव हुने गर्छ।

केरा चाँडै पाक्ने भएपनि केही दिनमै कालो हुँदा बिक्रेतालाई बेच्न समस्या हुने तथा यसको प्रयोगले मानव स्वास्थमा असर पर्ने भएकाले व्यवसायीहरुपनि नयाँ प्रविधि प्रयोग गरी पकाएको केरातर्फ आकर्षित भएका हुन्।

नयाँ प्रविधिको प्रयोग कहाँ कहाँ हुँदैछ ?

हाल यो प्रविधिबाट काठमाडौँ लगायत भैरहवा, लमही, दाङ, र टिकापुरमा केरा पकाउन थालिएको छ। काठमाडौँ यो प्रविधि सफल भएपछि बानियाँले नै यसलाई पोखरामा समेत विस्तार गर्न पहल गरिरहेका छन्।

प्रदेश ४ सरकार र व्यवसायीको संयुक्त लगानीमा यसलाई पोखरामा  विस्तार गर्न लागिएको उनले बताए। पोखराको चिप्लेढुङ्गामा 'पोखरा कृषि शितभण्डार' स्थापना गरी यसलाई विस्तार गर्न लागिएको हो।

उक्त केन्द्र ९०  टन क्षमताको हुनेछ। पोखरामा खुल्ने उक्त शितभण्डारबाट बाग्लुङ, स्याङ्जा र तनहुँका आसपासका क्षेत्रका उपभोक्ताहरुले सुरक्षित रुपमा पकाइएको केरा उपभोग गर्न सक्नेछन्।