सुनसरी-मोरङका ३ सय बढी उद्योग पानी पसेर बन्द, ३० हजार बेरोजगार, ‘अर्थमन्त्रीले संवोधन गरेनन्’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ असार २९ गते १३:४९ | Jul 14, 2019
सुनसरी-मोरङका ३ सय बढी उद्योग पानी पसेर बन्द, ३० हजार बेरोजगार, ‘अर्थमन्त्रीले संवोधन गरेनन्’

Tata
GBIME
Nepal Life

विराटनगर। मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ९० प्रतिशत उद्योग बन्द भएका छन्। एक हप्तायताको अविरल झरीले विगत ४ दिनदेखि दुबै जिल्लाका ३ सय ५० मध्ये ३ सयभन्दा बढी उद्योग बन्द भएका हुन्।

उद्योग बन्द भएपछि ३० हजारभन्दा बढी मजदुर बेरोजगार भएका छन्। बर्दिवासमा पुल भत्किएका कारण यहाँका उद्योगका उत्पादन पश्चिमतर्फ पठाउन सकिएको छैन।

आइतबार अपराह्नसम्म पनि धेरै उद्योगमा पानी घटेको छैन। उद्योगी–व्यवसायीले एक हप्ताको अवधिलाई व्यावसायिक सङ्कटको अवस्था भनेका छन्।

‘दुबै जिल्लाका अधिकांश उद्योगका छेउमा खोला छन्’, मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवनकुमार शारडाले भने, ‘सुनसरी जिल्लामा बुढी खोला,  टेङ्ग्राखोला उद्योग नजिकै छन्। त्यस्तै मोरङको कटहरी औद्योगिक क्षेत्रमा लोहन्द्रा र जुडी खोलाको पानी पसेको छ।’

कुनै उद्योगमा खोलाको पानी पसेर र कुनैमा गतिलो निकास नभएर समस्या आइलागेको हो। उद्यमी शारडाका अनुसार ३ सयभन्दा बढी उद्योगको विद्युतीय सञ्जालको मुख्य केन्द्र प्यानल बोर्डसम्म पानी पुगेको छ। त्यसैले उद्योग सञ्चालन गर्नु अझ खतरा हुन्छ।’

प्रिमियर वायर, पायोनियर वायर, महालक्ष्मी केबुल, क्वालिटी विस्कुट, क्वालिटी सोप, क्वालिटी नुडल्स, क्वालिटी रिफाइनरी, आरती स्ट्रिप्स, हुलास वायर, रिलायन्स स्पिनिङ, श्रीराम रिफाइनरी, एसियनथाई फुड्स, पशुपति खाद्य तेल उद्योग लगायतका सयौँ उद्योग पानीका कारणले बन्द छन्।

उद्योग सङ्गठन मोरङका कार्यकारी सदस्य विपीन काबराका अनुसार कटहरी औद्योगिक क्षेत्रनेर रहेको सार्वजनिक पैनीमासेर स्थानीयले घर बनाएका र कसैले खेती गरेका छन्। त्यस्तै लोहन्द्रा खोलामा बाँध हाल्नु पर्ने काम गरिएको छैन। यिनै कारणले हरेकवर्ष यहाँका उद्योग डुबानमा पर्छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नम्बर १ का कार्यकारी सदस्य श्रवण अग्रवालले बाढीका कारण विस्थापित भएर अधिकांश मजदुर उद्योगमा नआएको उल्लेख गरे।

‘पानीले बन्द भएका त भइहाले, चल्नसक्ने उद्योग पनि मजदुर नआएका कारण विगत ४–५ दिनदेखि बन्द अवस्थामा राख्नु परेको छ’, आफ्नो उद्योग श्यामएग्रो प्रोडक्ट पनिबन्द राख्नु परेको जानकारी दिँदै कार्यकारी सदस्य श्रवणले व्यावसायिक क्षेत्रले दैनिक करोडौँको नोक्सानी ब्यहोरिरहेको दाबी गरे।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पानीका कारण उद्योगहरू बन्द भइरहँदा सरकारी पक्षमौन रहेको आरोप लगाए।

अध्यक्ष मुन्दडाले भने, ‘विस्थापित र पीडित सर्वसाधारणलाई सङ्घीय सरकारका गृहमन्त्रीले सम्बोधन गर्नु भएको छ। यसैगरी व्यवसायिक क्षेत्रलाई पनि अर्थ वाउद्योग मन्त्रीजीले सम्बोधन गरिदिनु भएको भए मह्लमपट्टीको काम हुन्थ्यो।’