डलरको भाउ फेरि  घट्न थाल्यो, १०९ रुपैयाँको तहमा आयो डलर, रेमिटेन्स पठाउनेलाई वेफाइदा

बिजमाण्डू
२०७६ असार ३१ गते १३:४२ | Jul 16, 2019
डलरको भाउ फेरि  घट्न थाल्यो, १०९ रुपैयाँको तहमा आयो डलर, रेमिटेन्स पठाउनेलाई वेफाइदा

Tata
GBIME
Nepal Life

काठमाडौं। अमेरिकी डलरको भाउ केही दिनदेखि अस्थिर देखिएको छ। १११/११२ रुपैयाँ हाराहारी रहँदै आएको डलरको भाउ १०९ रुपैयाँमा आएको छ। 

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ।
 
अमेरिकी अर्थतन्त्रमा रोजगारीको मुद्दा उठेपछि भारु बलियो भएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ। डलरको भाउ १०९ रुपैयाँ ९६ पैसामा ओर्लिएको हो। गत साता १०९ रुपैयाँ ७८ पैसासम्म झरेको थियो। 

अमेरिकी डलरले पहिलो पटक २०७० भदौ ४ गते १०० रुपैयाँको स्तर उक्लिएको हो। त्यसपनि निरन्तर बढेर डलरको भाउ ११० रुपैयाँसम्म पुगेको थियो। ७ महिनाअघि बढेर ११९ रुपैयाँ पुगेको थियो। 

डलरको मूल्य घट्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा कमी हुन्छ। डलरको कमीले निर्यात व्यापार कमजोर हुन्छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत कमी हुन्छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी घट्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु सस्तो पर्ने छ।
 
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। त्यसैले डलरको भाउ घट्दा नै नेपाली अर्थतन्त्रलाई फाइदा छ।