नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको स्रोत नखुलेको ३० करोडको सम्पति भेटियो

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ साउन १ गते ०९:४३ | Jul 17, 2019
नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको स्रोत नखुलेको ३० करोडको सम्पति भेटियो

Tata
GBIME
Nepal Life

काठमाडौं। सम्पति शुद्धिकरण विभागले सांसद सूर्यबहादुर केसीले स्रोत नखुलेको सम्पति आर्जन गरेको भेट्टाएको छ। ०७६ सालमा मात्रै तीन वटा मुद्दा हालिसकेको विभागले केसीविरुद्ध केही समयभित्रै मुद्दा हाल्ने तयारी गरेको छ।

'मुद्दा हाल्ने अन्तिम चरणमा छौं। सबै कागजपत्रको अनुसन्धान भइरहेको छ' विभागका एक अनुसन्धान अधिकृतले बिजमाण्डूसँग भने, 'अहिले पनि कोठा थुनेर केही फाइल अध्ययन गरिरहेका छौं।'

केसीको ३० करोड रुपैयाँ बराबर 'कालोधन' फेला परेको विभाग स्रोतको दावी छ। विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गतको निकाय हो। विभागले केही समयमै प्रधामन्त्री केपी शर्मा ओलीलाई मुद्दाको सबै पक्षका बारेमा जानकारी गराउने तयारी गरिरहेको छ। प्रधानमन्त्रीले निर्देशन दिने वित्तिकै मुद्दा हाल्ने ती अनुसन्धान अधिकृतले जानकारी दिए।

विभागले पोलिटिकल्ली एक्सपोज पर्सन (राजनीतिक रुपमा चिनिएका) हरुको अनुसन्धान गर्दा केसीको कालोधन देखिएको हो। 'लगभग एक ट्रकजति त हामीले फाइल नै झिकायौं होला' ती अधिकृतले भने, 'सबै फाइल अध्ययन गर्दा कालोधन देखिएको हो।' केसीसहित अरु ६ जनाविरुद्ध मुद्दा हाल्ने तयारी विभागको छ।

यो मुद्दामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक पनि जोडिएका छन्। नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए। उनी ७८ लाख रुपैयाँनै धरौटी राखेर छुटेका थिए। पाठकको समेत विभागले छानविन गरिरहेको छ। स्रोतका अनुसार यही कलेजसँगै केसीको मुद्दा पनि जोडिएको हो। केसी यो कलेजका संचालक हुन्।

'केही संस्थामा फ्रड गरेर कालोधन थुपारेको देखिन्छ' ती अधिकारीले भने। सम्पति शुद्धिकरण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विभागले अनुसन्धान गर्ने काम गर्छ।

केसीको बैंक तथा वित्तीय संस्थाहरुमा समेत शेयर लगानी छ। केसीको बैंक कारोबार पनि शंकास्पद देखिएको छ। उनको कारोबार र उजुरीका आधारमा अनुसन्धान गर्दा कालोधन देखिएको हो। 

उनको बैंक कारोबारका बारेमा वित्तीय जानकारी इकाइले विभागलाई जानकारी गराएको थियो। अनुसन्धानका क्रममा राजस्वलगायतका कार्यालयहरुको पनि सहयोग लिइएको ती अनुसन्धान अधिकृतले जानकारी दिए।

'अब हामी एक पटक सरकारी वकिल कार्यालयसँग पनि समन्वय गर्छौं' ती अधिकृतले भने, 'अनि मात्र मुद्दा हाल्ने छौं।' 

गत र चालु गरी विभागले कुल एक दर्जन मुद्दा अदालतमा हालिसकेको छ। पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै अधिकांस मुद्दाको फैसला विभाग अनुकुल भने आएका छैनन्।

केसी पोखराका चर्चित ब्यवसायी पनि हुन्। उनी राप्रपा सहप्रवक्ता थिए। राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट अहिले सांसद छन्। 

केसीको लगानीमा हिमश्री फुड्स प्रालि , हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू -सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक खुलेका छन्। 

उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक  क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक समेत भएका छन्।