सरकारले साझालाई विद्युतीय बस खरीदका लागि तीन अर्ब रुपैयाँ दिने, विहिबार सम्झौंता हुँदै

बिजमाण्डू
२०७६ साउन १ गते १८:१२ | Jul 17, 2019
सरकारले साझालाई विद्युतीय बस खरीदका लागि तीन अर्ब रुपैयाँ दिने, विहिबार सम्झौंता हुँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि तीन अर्ब रुपैयाँ दिने भएको छ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र साझा यातायात सहकारी संस्थाबीच विहिबार सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ। मन्त्राललयका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार साझा यातायातलाई विद्युतीय बस खरिदका लागि यो रकम दिइएको हो। मन्त्रीपरिषदको बैठकले नै साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि दिने निर्णय गरेको हो।

मन्त्रीपरिषदबाट नै  विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने भन्दै तीन सय विद्युतीय बस खरिद गर्ने निर्णय भएको थियो। भौतिकमन्त्री रघुवीर महासेठलाई विद्युतीय बस खरिद गरेर संचालन गर्ने जिम्मेवारी दिएको थियो। मन्त्रालयले अधिकार सम्पन्न यातायात प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने योजना बनाएको थियो।वैशाखबाट नै प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने भनिएपनि अहिलेसम्म संचालनमा आउन सकेको छैन्।

प्राधिकरण गठन प्रक्रिया नै सुरु नभएका कारण साझालाई नै तीन सय विद्युतीय बस खरिद गर्ने गरि जिम्मा दिन लागिएको स्रोत बताउँछ। सरकार आफैले संचालन गर्न नसक्ने भएपछि साझामार्फत विद्युतीय बस संचालन गर्न लागिएको हो। तर बस किन्नका लागि त्यसको सिट क्षमता,बसको आकार,बसमा उपलब्ध सुविधा, लगायतका मापदण्डहरु भने मन्त्रालय नै तोक्नेछ। ‘हामीले तोकेको स्पेसिफिकेशनका आधारमा साझाले बस किनेर संचालन गर्नुपर्ने छ।‘ ज्ञवालीले भने।

साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेयले विद्युतीय बस खरीदका लागि सरकारले पैसा दिन लागेको बताए। सरकारले आगामी पाँच बर्षमा कम्तीमा २० प्रतिशत विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ।केहि समय अघि विद्युतीय बस खरिदका लागि ३ नम्वर प्रदेशले साझालाई ३० करोड रुपैयाँ दिएको छ भने ललितपुर महानरगपालिकाले डेढ करोड रुपैयाँ दिएको छ। नेपाल विद्युतीय प्राधिकरणसँग सहकार्य गर्दै भौतिक मन्त्रालयले चार्जिङ स्टेशन समेत बनाउन सुरु गर्ने जनाएको छ।