चेन होटल काठमाडौं केन्द्रित हुँदा दुर्घटना निम्त्याउन सक्छ’- योगेन्द्र शाक्यको विचार

बिजमाण्डू
२०७६ साउन २ गते १६:०८ | Jul 18, 2019
चेन होटल काठमाडौं  केन्द्रित हुँदा दुर्घटना निम्त्याउन सक्छ’- योगेन्द्र शाक्यको विचार



काठमाडौं। यतिखेर नेपालमा विदेशी चेन होटल धमाधम संचलानमा आइरहेका छन्। यसैगरी कतिपय चेन होटलहरु निर्माणाधिन अवस्थामा छन् । विशेष गरी काठमाडौंका मुख्य बजार क्षेत्रमा चेन होटलकै लागि भनेर गगनचुम्बी भवनहरु बनिरहेका छन्।

Tata
GBIME
Nepal Life

सेराटन, मोक्सी मेरियट, अलफ्ट, हिल्टन लगायत विभीन्न होटल निर्माणाधिन छन्। दुई वर्षको अन्तरालमा फेयरफिल्ड मेरियट, काठमाडौं मेरियट, ताजको भिभान्ता लगायत विभीन्न चेन होटल संचालनमा आइसकेका छन्।

नेपालमा धमाधम चेन होटलहरु खुल्नुले दुई दशकपछि पर्यटन क्षेत्रले ठूलो फड्को त मार्ने नै छ अग्ला र आकर्षक भवनहरुले शहरको रुप पनि बदल्दैछ।

मुलुकमा स्थायी सरकार, पर्यटन क्षेत्रमा लगानीमैत्री वातावरण, बैंकहरुको साथका कारण पछिल्लो पाँच वर्षयता चेन होटल संचालनमा व्यवसायीहरुको चासो बढ्नु स्वाभाविक हो। अग्ला, आकर्षक उच्चस्तरिय होटल त बने तर चेन होटलको भिन्न व्यवस्थापनसँगै सेवामा पनि चेनको आफ्नै मौलिकता कायम हुनु आवश्यक रहेको छ।

ठूला स्तरीय होटलहरु वृद्धि हुनुको अर्को कारण होटल व्यवसायमा नयाँ लगानीकर्ताबीच भइरहेको प्रतिस्पर्धा पनि हो।

पछिल्लो समय बैंकले पनि होटल क्षेत्रमा लगानी गर्नका लागि व्यवसायीहरुलाई राम्रो वातावरण सिर्जना गरेको छ। यसकारण पनि नयाँ होटलको आगमन हुनु स्वभाविक नै हो।

द्वन्दकालमा होटल व्यवसाय नै धरासायी अवस्थामा पुगेको थियो। जति पनि स्तरीय होटल संचालनमा थिए ती सबै बन्द हुने अवस्थामा पुगे। त्यतिखेर द्वन्दको संक्रमणले गाँजिएको नेपालमा पर्यटकहरु आउनै तर्सिसकेका थिए। पर्यटक नै नआएपछि वर्षौँदेखि संचालनमा आइरहेका ब्लुस्टार, नारायणी, शेर्पा, वुडल्याण्ड लगायतका पर्यटकीय स्तरका होटलहरु बन्द भए।  अहिले फेरि पर्यटकको आगमन संख्या बढेको छ।

२५ वर्ष अगाडिको तथ्यांक हेर्ने हो भने सन् २०११ सम्म पाँच लाखभन्दा पर्यटकको संख्या बढेको थिएन। द्वन्दकालीन समयमा त यो झन् खस्किएर दुई लाखमा झरेको थियो। त्यतिखेर बैंकहरुले पर्यटन क्षेत्रमा लगानी गर्नै बन्द गरे। सन् २०१० सम्म पर्यटन क्षेत्रलाई अस्थिर र जोखिमपूर्ण ब्यापार भनेर किटान गरिएको थियो।

त्यसैले होटलमा लगानी गर्नका लागि व्यवसायीहरु हतोत्साहित भए। भैरहेका व्यवसायीहरु नै आत्तिइरहेको अवस्थामा नयाँ लगानीकर्ता पस्ने अवस्थै भएन। त्यतिखेर गार्मेन्ट, पश्मिना, कपडा लगायत उद्योग संचालित थिए।

धेरै व्यवसायीहरुले लगानी गर्ने बाटो यही क्षेत्रहरु नै थियो। कसैले केही उद्योग संचालनमा ल्याएर अलिकति मुनाफामा गयो भने अर्कोले देखासिकी गरेर त्यस्तै उद्योग संचालनमा ल्याउँछन्। माग र आपूर्ति असन्तुलित भएपछि त्यो व्यवसाय नै जरैदेखि उखेलिन्छ। र त्यो इतिहासले पनि देखाउँछ।

मुलुकमा द्वन्दकालको अन्त्य भएपछि विश्वभर नेपालमा फेरि पर्यटक जान उपयुक्त भएको म्यासेज फैलियो। यसबाट क्रमिक रुपमा पर्यटकको संख्या बढ्दै गयो। तर वि.सं २०७२मा आएको विनाशकारी भुकम्पका कारण पर्यटक आउने क्रम ह्वात्तै घट्यो। यो अवस्थामा कतिपय निर्माणाधिन होटल व्यवसायीहरु त्रसित भए। त्यतिखेर कतिपय ठूला ठूला होटल सुरु भइसकेको थियो भने कतिपय नयाँ होटल निर्माण गर्ने क्रममा थिए।

गत वर्ष देखिएको १२ लाख पर्यटक आगमनलाई हेर्दा पर्यटन क्षेत्र फस्टाउनुका साथै होटल व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने देखिएको छ। पर्यटक बढेसँगै होटलको वृद्धि हुनु राम्रो हो। तर एउटै शहरलाई केन्द्रविन्दू बनाइ अस्वाभाविक रुपमा होटल खोल्दा आवश्यकता भन्दा धेरै भई व्यवसायमै ठूलो दुर्घटना निम्त्याउनु पनि हो।

पाँच वर्ष यता पचासवटाभन्दा बढी स्तरिय होटल पाइपलाइनमा छन् भने कतिपय होटल संचालनमा पनि आइसकेका छन्। नयाँ र स्तरिय होटल प्राय काठमाडौंमा मात्र सिमीत भयो। अहिले हेर्ने हो भने विभीन्न चारे होटलमा अक्युपेन्सी दर तुलनात्मक हिसाबले कम देखिन सुरु भैसकेको छ।  

माग कम र आपूर्ति ज्यादा भयो भने के हुन्छ? व्यवसायी नै घाटामा पर्छन् नी! मुलुकको विभीन्न क्षेत्रमा नयाँ होटल संचालनमा ल्याउनु राम्रो हो। तर एकै ठाउँमा चाहिँदो भन्दा बढी होटल संचालनमा ल्याउँदा यसले होटल क्षेत्रमै दुर्घटना निम्त्याउन सक्छ। पहिला पनि आवश्यकताभन्दा धेरै मात्रामा खोलिएका पश्मिना र गार्मेन्ट उद्योग कसरी धरासायी अवस्थामा पुगेका थिए सबैलाई थाहा भएकै कुरा हो।

केही होटलहरुको मुनाफाका आधारमा पछिल्लो समयमा लगानीकर्ताले होटल व्यवसायमा प्रचुर फाइदा देखेको हुनसक्छ। तर होटल भनेको लगानी गरेर मात्रै चल्ने र मुनाफा कमाउने व्यवसाय होइन। स्तरीय होटलले आफ्नो पहिचान बनाउनकै लागि भएपनि भिन्न सेवा सुविधाका साथै उम्दा आतिथ्यता दिन आवश्यक छ।

दिगो रुपमा होटल संचालन गर्नका लागि राम्रो व्यवस्थापनसँगै आफ्नै जनशक्ति उत्पादन गर्न जरुरी छ। जनशक्तिको  अभाव पूर्तिकालागि चलिरहेको होटलको जनशक्ति तानेर आफ्नोमा लाँदा यसले दुवै पक्षलाई बेफाइदा पुग्छ। हाल विभीन्न नयाँ चेन होटल संचालनमा आइसकेका छन्। अन्तराष्ट्रिय चेन ब्राण्ड आइरहँदा लोकल होटलमै कार्यरत जनशक्ति लगिरहेका छन्। यसबाट लोकल होटलमा काम गर्दै आइरहेका जनशक्ति चेन होटलको व्यवस्थापनमा टिक्न ज्यादै गाह्रो परिरहेको पनि छ।      

चेन होटल कै कुरा गर्ने हो भने यतिखेर जतिपनि चेन होटल संचालित छन् यिनीहरु लगानीकर्ता होइनन्। यिनीहरु दुई किसिमबाट आवद्ध हुन्छन्। कि त व्यवस्थापनको जिम्मा लिने अथवा जिम्मा नलिइकन नामको प्रयोगकै भरमा फ्रेन्चाइज भएर मुनाफा कमाउने हुन्छन्। केहीले चेनबाटै महाप्रवन्धक पठाएर होटल व्यवस्थापन संचालन गर्दै आएका छन् त केहीले मार्केटिङमात्र हेर्दै आएका छन्।

नेपालमा विभीन्न चेन होटलको फ्रेन्चाइज आयो भन्छन् तर वास्तविकता हेर्ने हो भने उनीहरु अर्काको लगानीमा व्यवस्थापन लिएर या मार्केटिङ गरेर मुनाफा लिने उद्धेश्यले आएका हुन्छन्। यसैकारण उनीहरु कहिले पनि घाटामा जाँदैनन्। घाटामा जाने भनेक लगानीकर्ता हुन्।

लगानीकर्ताले भविष्यको पूर्वअध्ययन गरेर लगानी गर्न आवश्यक छ। बैंकबाट अरबौँ रुपैयाँ ऋण लिएर यो व्यवसायमा लगानी गरिन्छ। अनि बैंक भनेको त सर्वसाधारणको पैसा वचत गर्ने विश्वासिलो केन्द्र हो। होटल राम्रोसँग संचालनमा आएन भने होटल त डुब्छ नै यो सँगै बैंक पनि डुब्न सक्छ। भविष्यमा यस्तो किसिमको आर्थिक दुर्घटना आउन नदिन लगानीकर्ताले पूर्व अध्ययन गरेर लगानी गर्न उचित देखिन्छ।     

पहिला ओवराय, हिल्टन, सेराटन, इन्टरकन्टिनेन्टल, ताज, आइटिसी लगायत चेन होटल नआएको होइन। इतिहासमा पहिलोपटक सोल्टीले सन् १९६८मा ओवरायको चेन लिएर संचालन गरेको थियो। हाल संचलानमा आएका होटलहरुमा पनि ओवरायमार्फत तालिमप्राप्त दक्षता अझैपनि प्रयोग भइरहेका छन्।       

नयाँ मार्केट सिर्जना हुने र आफ्नै तरिकाको जनशक्ति उत्पादन हुने कारणले व्यवसायीहरु चेन आउँदा खुसी हुनु स्वभाविक हो। होटलको स्वाद, राम्रो पेन्टिङ र राम्रो बेडरुम राख्नुभन्दा पनि त्यहाँ दिइने सेवाको स्वाद र 'युनिक ह्युमन टच' हुन जरुरी छ।

बाहिरी चेन आएर लोकल होटलद्वारा उत्पादन भएका जनशक्तिको प्रयोग गर्ने हो भने उसको भ्यालु एडिसन खोइ त? पहिला चेन होटलहरु आए र गए। त्यो समयमा ओवराय एउटा मात्र म्यानेजमेन्ट कम्पनी थियो जसले नेपालमा प्रभाव पारेर गएको छ। अहिले ९० प्रतिशत तारे होटलमा ओल्ड म्यानेजमेन्ट ओवराय ट्रेण्ड जनशक्ति छन्। यिनीहरुले भारतमै लगेर जनशक्ति ट्रेनिङमा निकै जोड दिएको थियो।

यो बाहेक अरु चेन होटलले लोकल होटलमा भएका जनशक्ति चलाए र लोकल बिजनेसबाटै जनशक्ति लगे जसकारण व्यवसायलाई निरन्तरता दिन सकेनन्। त्यसो भएपछि चेन लिएर आउने मान्छे छट्पटिन्छ। उदाहरणको लागि पहिले एभरेष्ट सेराटन थियो। दुई दशक अगाडि सेराटन चेन भागेरै गएको थियो। संचालकलाई केही नभनिकनै सेराटन रातारात भागेर गएको थियो। यो इतिहास हो। हामी त्यतिखेर अचम्मति भयौँ। दुःख लागेर त्यतिखेर एमए लाहारीलाई फोन गरेँ। उनी अन्यौलमा थिए भन्ठानेको थिएँ तर उनले त्यतिखेर खुशीले स्याम्पेन पिएको बताएका थिए। स्ट्याण्डर्ड अनुसार खाली लगानी गर भन्ने अनि ठमेलको होटलको बिजनेस तानेर २५ डलरमा सेवा दिन्छ भने उनीहरु गएकोमा लाहारीले खुसी व्यक्त गरेका थिए।

मैले चेन होटल नराम्रो भन्न खोजेको होइन। हाम्रो इतिहासमा चेन होटल असफल भएकै हो। अब सफल होस् भन्ने कामना। यसका लागि उनीहरुले हामीले तयार गरेको जनशक्तिको सट्टा आफ्नै जनशक्ति उत्पादन गरोस्।

अहिले जतिपनि चेन होटल छन् उनीहरुले लोकलै विजनेस लिने हो भने धेरै लगानी गरेर चेनलाई किन पैसा बुझाउने? मेरो अनुरोध के छ भने पैसा चेन होटललाई दिइएको छ। पैसा तिरेपछि त्यहि अनुसारको काम चाहिँ लिनुपर्योई। उनीहरु आएर भ्यालु एडेड भएन भने उनीहरुसँगै लोकल होटललाई पनि प्रभाव पर्छ।

अहिले सजिलो छ। होटल व्यवसायमा बैंकले पनि सहयोग दिँदै आएको छ। स्थायी सरकारले पनि पर्यटन उद्योगलाई आर्थिक सम्बृद्धिको पहिलो प्राथमिकतामा राखेको छ।

पहिला ब्यापार ल्याउन  नसकेर, नयाँ जनशक्ति उत्पादन गर्न नसकेको कारण चेन होटल फेल भएको थियो। अब त्यसबाट पाठ सिकेर चेन होटल संचालनमा ल्याउने हो भने लगानीकर्ता र चेन होटलको व्यवस्थापन दुवैसँगै मुलुक पनि फाइदामा पुग्न सक्नेछन्।

अहिले यो क्षेत्रमा जनशक्तिको अभाव छ। अर्कोतर्फ ठूलो जनशक्ति रोजगार पाइएन भनेर भौँतारिइरहेका छन्। यो ग्यापको समाधान गर्न जरुरी छ। नयाँ आएका चेनले नयाँ जनशक्तिलाई आफ्नो चेनअनुसारको ब्राण्डेड जनशक्ति बनाउन जरुरी छ। अरु होटलबाट जनशक्ति लिन थालियो भने त्यो दिगो हुँदैन।(एस होटल्सका चेयरम्यान शाक्यसँग बिजमाण्डूका वसन्तराज उप्रेतीले गरेको कुराकानीमा आधारित)