लगातार मूल्य बढेपछि बैंकमा सुन थुप्रियो, मूल्य अझै बढ्ने सम्भावना, स्टक सकिएपछि आयात

बिजमाण्डू
२०७६ साउन ३ गते १५:३५ | Jul 19, 2019
लगातार मूल्य बढेपछि बैंकमा सुन थुप्रियो, मूल्य अझै बढ्ने सम्भावना, स्टक सकिएपछि आयात

Tata
GBIME
Nepal Life

काठमाडौँ। लगातार मूल्य बढेपछि बैंकमा सुन थुप्रिएको छ। सुन व्यवसायीहरूले बजारमा माग नभएको भन्दै खरिद गर्न छाडेपछि बैंकमै थुप्रिएको हो।

नेपालमा बैंकहरुले सुन आयात गरेर ब्यवसायीलाई बेच्ने कानुनी ब्यवस्था छ। बैंकले आयात गर्ने तर ब्यवसायीले नकिनिदिँदा सुन थुप्रिएको हो।

नेपाल बैंकर एशोसिएसनका अनुसार, शुक्रवारसम्म बैंकमा सात सय ४५ किलो सुन थुप्रिएको छ। अहिले बैंकले सुन आयात गर्न बन्द गरेका छन्। 

गत दुई हप्तादेखि सुन आयात लगभग ठप्पै रहेको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले जानकारी दिए। आर्थिक वर्षको अन्त्यमा सानिमा बैंकले न्यून मात्रामा सुन आयात गरेको थियो। उनका, अनुसार बैकले प्रत्येक वर्ष सुन आयात गर्ने निश्चित कोटा पाउँछन्। जुन आर्थिक वर्षको लगि तोकिएको कोटा हो त्यो कोटा बराबरको सुन सोही वर्ष आयात गरिसक्नु पर्छ। 

चालु आर्थिक बर्षमा भने सुन कसैले पनि भित्र्याएको छैनन्। मौज्दात सुन नसकिएसम्म आयात नगर्ने निर्णयमा संघ पुगेको छ। 

दैनिक २० किलो सुन बैंकले आयात गर्दै आएका छन्। माग बढेका बेला नेपालमा दैनिक २५ किलोसम्म सुन आयात हुने गरेको छ। 

लगातार सूनको मूल्य बढेका कारण आयात कम भएको व्यवसायीहरुले बताएका छन्। मूल्य बढेपछि बजारमा नयाँ सुन खरिद गर्नेभन्दा पुराना सुन बिक्री गर्ने क्रम बढेको सुन-चाँदी व्यवसायी माहासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।

मूल्य बढेका कारण असारको दोस्रो साता बजारमा पुराना सुन बिक्री गर्नेहरु बढेका छन्। पुरानो सुन बिक्री गर्ने धेरै आएपछि नयाँ सुनको माग ह्वात्तै घटेको हो। 

असारको दोस्रो साताबाट सुनको माग लगातार घटेपछि सुन व्यवसायीहरूको अनुरोधमा माहासंघले केन्द्रीय बैंकलई आयात कम गर्न सुझाएको थियो। असारको दोस्रो साताको अन्त्यतिर महासङ्घले पत्र लेखेको थियो। 

शुक्रवार सुनको मूल्य पुन बढेको छ। असार १० गते ऐतिहासिक मूल्य छोएर घटेको सूनको मूल्यले पुन त्यही मूल्य भेट्टाएको हो। नेपाली बजारमा प्रति तोला सुनको मूल्य ६५ हजार पाँच सय रुपैयाँ कायम भएको छ। 

असार १० पछि सुनको मूल्य घटेर प्रति तोला ६४ हजार तीन सय रुपैयाँसम्म झरेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकोले नेपाली बजारमा सुनको मूल्य बढेको शाक्यले बताए। 

नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यको आधारमा सुनको मूल्य तय गरिन्छ। शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ४३ डलर १० सेन्ट कायम भएको छ। यो हाल सम्मकै सर्वाधिक मूल्य हो। यसअघि अन्तर्राष्ट्रिय बजारमा १४ सय ४१ डलरसम्म पुगेको थियो। त्यस बेला नेपाली बजारमा सूनको मूल्य प्रति तोला ६५ हजार पाँच सय कायम भएको थियो।