भिसिटीएस घरेलु तथा साना व्यवसायीलाई बाध्यकारी नहुने, प्यान र भ्याट बारे आइतबार वार्ता

बिजमाण्डू
२०७६ साउन ३ गते २३:०८ | Jul 19, 2019
भिसिटीएस घरेलु तथा साना व्यवसायीलाई बाध्यकारी नहुने, प्यान र भ्याट बारे आइतबार वार्ता

Tata
GBIME
Nepal Life

फाइल तस्विर

काठमाडौं।ढुवानी व्यवसायमा भ्याट, पारिश्रमिकका लागि अनिवार्य प्यान र भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम(भिसिटीएस)का विरुद्धमा देशव्यापी हड्ताल सुरु भएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले व्यवसायीसहितको आकस्मिक बैठक डाकेर समस्या समाधानका लागि पहल थालेका छन्।

ओलीले शुक्रबार दिउँसो तीन बजे विभिन्न व्यवसायिक संस्थाका प्रतिनिधीसहित अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबसहितको बैठक राखेका थिए।सरकारका तीन योजनाका विरुद्धमा काठमाडौं वाहिर मात्रै हड्ताल हुँदा कुनै पहल भएको थिएन्।

तर शुक्रबार राजधानीको व्यापारिक केन्द्र मानिने न्यूरोडका सयौं व्यापारी विरोध प्रदर्शनमा उत्रिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक डाकेका थिए। नेपाल उद्योग वाणिज्य स्रोतका अनुसार सरकारी अव्यवहारिक नीतिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको समय मागेपनि शुक्रबार आकस्मिक बैठक तय भएको थियो।‘हामीले प्रधानमन्त्रीको समय मागेका थियौं। तर शुक्रबार प्रधानमन्त्रीबाट आकस्मिक बोलावट भयो’ महासंघका एक पदाधिकारीले भने।

बैठकमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई तत्कालै बैठक राखेर व्यवसायीका मुद्दा संबोधनका लागि निर्देशन दिएका थिए। बैठकपछि महासंघद्वारा व्यवसायीलाई जारी सर्कुलरमा समेत घरेलु तथा साना उद्योगी व्यवसायीलाई हालाका लागि भिसिटीएस बाध्यकारी नहुने र भिसिटिएसका लागि जनचेतना कार्यक्रम संचालन गर्ने आश्वासन प्रधानमन्त्री ओलीबाट आएको उल्लेख छ।

यो वाहेक थ्रेसहोल्डका आधारमा भिसिटीएस,स्थायी लेखा नम्बर र ढुवानीमा मूल्य अभिवृद्धि करलगायतका बारेमा आइतबार अर्थमन्त्री खतिवडाको संयोजकत्वमा वार्ता हुने महासंघको सर्कुलरमा उल्लेख छ।महासंघकी अध्यक्ष भवानी राणाले विहिबार विराटनगरमा भएको छलफलमा सरकारले व्यवसायीको मुद्दा संबोधन नगरे हड्तालमा उत्रिने चेतावनी दिएकी थिईन्।उनले भिसिटीएस र प्यानका बारेमा केही दिनभित्रै समस्या समाधान हुने समेत दाबी गरेकी थिईन्।

सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको यी तीन योजनाका विरोधमा व्यवसायी हड्तालमा उत्रिएका छन्।ढुवानी व्यवसायीले बुधबारदेखि ढुवानी ठप्प पारेका छन्।