अनिल केडियाको दृढ ईच्छाशक्ति: खरानी बनेको यति कार्पेट दुई वर्षमा पुर्नस्थापित

बिजमाण्डू
२०७६ साउन ५ गते १०:२९ | Jul 21, 2019
अनिल केडियाको दृढ ईच्छाशक्ति: खरानी बनेको यति कार्पेट दुई वर्षमा पुर्नस्थापित

Tata
GBIME
Nepal Life

काठमाडौं। २०७४ असार १७ गते। उद्योगी अनिल केडियाका लागि कालो दिन थियो।र, त्यो दिन उनको मानसपटलबाट शायदै मेटिएला।

आफ्नो जीवनकालमा हुर्काएको एउटा उद्योग जुन निमेषभरमै खरानी बन्यो।त्यो पनि आफ्नै अगाडि।बुबाले सुरु गरेका र उनले हुर्काएको यति कार्पेट उद्योगमा लागेको त्यो आगोले अहिले पनि पोल्छ। यति कार्पेट जुन बेलामा आगोले समाप्त भयो त्यो बेला नेपालको नम्बर वान ब्राण्ड थियो।उद्योग केही बेरमै जलेको देखेका अनिल केही समय डिप्रेस्ड भएर बसे।

उनलाई केही महिना पूरानै अवस्थामा फर्किनै कठिन थियो।उद्योग ध्वस्त भएपछि बजारमा सकारात्मक र नकारात्मक दुबै खाले प्रतिकृया मिल्यो । उद्योग पुनः संचालन गर्नुपर्छ भन्ने सकारात्मक प्रतिकृया दिनेको संख्या सीमित थियो,तर उनमा उर्जा भर्न पर्याप्त।त्यसपछि उनले उद्योग संचालनमा ल्याउने दृढ ईच्छाशक्ति लिए।त्यो दृढ ईच्छाशक्तिकै कारण दुई वर्षमै यति कार्पेटको नयाँ उद्योग तयार पारे।जुन उद्योग भदौंबाट संचालनमा आउँदैछ।

                                          ….
उद्योग ध्वस्त बनेपछि पुनः ऋण लिएर उद्योग स्थापना गर्ने नगर्ने दोधारको अवस्थामा थिएँ। ‘करिब छ महिना मन सम्हाल्न गहुँङो भएको थियो', केडियाले विगत सम्झदैं भने,’कतिपय व्यापारीले महँगो उत्पादन छ, डिलर मार्जिन कम छ भनेर पुनः उद्योग गर्नुभन्दा अरु कुनै काम गर्न सुझाए।’,केही यस्ता व्यापारी पनि भेटिए जसले जबसम्म यति कार्पेट आउँदैन,तबसम्म कार्पेट नै बेच्दैनौ भनेर पुनः उत्पादन शुरु गर्न हौस्याएँ। ‘केही यूवा व्यापारी आफ्नो पसलमा यति कार्पेट देखेरै हुर्केका पनि छन्,उनीहरुको पनि यो ब्राण्डसँग भावनात्मक सम्बन्ध गहिरोसँग बसेको रहेछ,’अनिलले भने।

यी सबै कारणले आफ्नै लागी नभएर बजारको लागी भएपनि पुनः शुरु गर्नुपर्छ भन्ने लाग्यो, केडिया भन्छन्, ‘नाफा घाटाको व्यापारीक सोंचभन्दा पनि मानविय संवेदनाको बलमा मैले पुनः उद्योग लगाउने बारे बलियो विचार बनाएँ।’आफैंले शुन्यबाट शुरु गर्न सहज थिएन। एकजना साझेदार पाएँ(रिलायन्स समूहको नारायण तोदी)।’साझेदार पनि, मेरो नातेदार पनि। एक र एक एघार हुन्छ भनेको सुनिन्थ्यो, उद्योगमा पार्टनरशीप शुरु गरेपछि वास्तवमै एघार हुन्छ भन्ने अनुभव लिने अवसर मिल्यो,’ उनले भने’जग्गा किनेको एघार महिनामै विशाल क्षमता सहितको उद्योग खडा भइसकेको छ। भदौदेखि फेरी यति कार्पेट लिएर बजार प्रवेश गर्दैछौं।’

जीवन र मृत्यु शास्वत सत्य हो , यसलाई अस्वीकृत गर्न सकिदैन । दुई वर्ष अघिको त्रासदीपूर्ण घटना स्मरण गराउँदा उनी बिना हिच्किचाहट भन्दै थिए, ‘विनाश र निर्माणको क्रम निरन्तर जारी रहन्छ, त्यो घटना पनि त्यसकै निरन्तरता थियो।’ अनिलका लागि ठूलो संकट टार्ने आत्मविश्वास धार्मिक आस्थाकै कारण आयो।

‘दुर्घटना हामीले टारेर टर्दैन । तर संयमता भने हामीले राख्न सक्छौं। संयम राख्न सके ठूलो जीतको तयारी गर्न संभव हुन्छ। संकट आइपर्दा हामी हरेश खान्छौं तर पछि थाहा हुन्छ , त्यो त कुनै ठूलो सफलताको तयारी थियो,’उनले भने ‘म धर्मकर्ममा विश्वास गर्ने मान्छे, शायद पूर्वजन्ममा कसैको केही बिगारेको थिए,त्यही भएर दुर्घटना हुन पुग्यो। तर ध्यान योग गर्ने भएकोले सहने शक्ति बढी थियो।‘

५५ वर्षभन्दा बढी उमेर भइसकेको छ। आधा भन्दा बढी उमेर उद्योगको संचालन, स्तरोन्नती र बजारीकरणकै लागी उनले विताए। त्यही कारण उनको मनबाट यति कार्पेट कहिल्यै हटेन।

अझ सबल र आधुनिक उद्योग
वीरगंज उपमहानगरपालिका वडा नम्बर ३२ चोर्नीमा अवस्थित उद्योग ६५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ६० करोड रुपैयाँ लगानीमा निर्मित उद्योगमा ७० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको छानो छ।  

‘पहिले अर्द्ध स्वचालित प्रविधी प्रयोगमा थियो । उत्पादन क्षमता सीमित थियो। अहिले कच्चा पदार्थ मेशिनमा राख्ने र तयारी उत्पादन ट्रकमा लोड गर्ने बाहेक अन्य सबै काममा पूर्ण स्वचालित प्रविधी प्रयोगमा ल्याएका छौं। दुई मिटर चौडाइको साटो चार मिटर चौडाइको कार्पेट उत्पादन गर्न सकिने मेशिनरी जडान गरेका छौं,’ उनले भने। उनका अनुसार उत्पादन क्षमता दोब्बर बढेको छ।

’पहिले १ लाख २५ हजार मिटर उत्पादन क्षमता थियो।अहिले ३ लाख मिटर कार्पेट उत्पादन गर्न सक्छौं। उत्पादन समय र लागत दुबै कटौती भएको छ,’अनिलले भने।यति कार्पेट उद्योग परिसरमा बुट्टा रहित र बुट्टा कोरिएको गरी दुई खाले कार्पेट उत्पादन गर्ने बेग्ला बेग्लै प्लान्ट स्थापना गरिएको छ।

उद्योगको मुख्य उत्पादन प्लान्ट, कच्चा पदार्थ भण्डारण, तयारी उत्पादन भण्डारण,इन्धन भण्डारणको लागी बेग्ला बेग्लै छानो निर्माण गरिएको छ। यसअघि भक्तपुरको सल्लाघारीमा जम्मा ६ रोपनी क्षेत्रफलभित्र संचालन भएको उद्योग आगलागीबाट ध्वस्त भएपछि इन्धन,कच्चा पदार्थ र तयारी उत्पादन सबै एउटै छानोमुनी राख्नुहुन्न भन्ने पाठ सिकेका उद्योगी केडियाले पर्याप्त र तुलनात्मकरुपमा सस्तो जग्गाको खोजी गर्दै भक्तपुरको उद्योग गृहनगर वीरगंजमा सार्ने निर्णय लिएका हुन्।  

भक्तपुरमा सीमित जग्गा भएकोले सबै थोक टाँसिएर राख्नुपर्ने बाध्यता हुँदा डिजलबाट फैलिएको आगोले ठूलो क्षति पुर्यायो। संचालक केडिया भन्छन्, ‘अहिले आगलागीको संभावित जोखिम टार्न सुरक्षाको सबै खाले उपाय अपनाएका छौं।’

नन उभन कार्पेट उत्पादनको लागी चिनिएको यति कार्पेटले प्रति मिटर ३ सय ५० देखि ६ सय रुपैयाँ मूल्यसम्मको कार्पेट बजारमा ल्याउँदैछ। कलेज, स्कूल, व्यायामशाला,कार्यालय, प्रदर्शनी सबै प्रयोजनको लागी उपयुक्त हुने कार्पेटको भेराइटी उत्पादन गर्न लागिएको छ।उनले दुई वर्षसम्म बजारमा अनुपस्थित रहँदा हाम्रो महत्व बिक्रेता र ग्राहक दुबैले झन् राम्ररी बुझ्ने अवसर पाए। ‘हामी ब्याक भएपछि हाम्रो गुणस्तर,हाम्रो आपूर्ति प्रणाली, वितरण संजालबारे झनै थाहा पाए,’उनले भने,’बजारमा हाम्रो अनुपस्थिति खट्यो। कसैको उपस्थिति भन्दा पनि अनुपस्थितिमा उसको महत्व थाहा पाइन्छ। हाम्रो सवालमा पनि ठ्याक्कै त्यही भइदियो।’

कार्पेटको बजार माग
स्वदेशी बजारमा भुइँमा ओछ्याउने वस्तु(पिभिसी कार्पेट,नन उभन कार्पेट,पार्केट) को बजारको आकारबारे यकीन तथ्यांक उपलब्ध छैन। तर अनुभवी उद्योगीका अनुसार अहिले स्वदेशी बजारमा वार्षिक ७ देखि ८ अर्ब रुपैयाँसम्मको कारोबार भइरहेको छ। कूल मागको ५० प्रतिशत हिस्सा पिभिसी कार्पेट, ३० प्रतिशत नन उभन र २० प्रतिशत आयातित कार्पेट र पार्केटले ओगटेको छ।

 उद्योगी केडियाका अनुसार नेपालमा वातावरण चिसो रहने भएकोले व्यक्तिगत आवास होस् वा कार्यालय, भारतीय बजारको तुलनामा कार्पेटको माग बढी छ। ‘भारतमा कार्पेटको साटो पर्दाको खपत हुन्छ, केडिया भन्छन्, ‘तर नेपालमा महँगो मूल्यको मार्बल ओछ्याइए पनि कार्पेट बिनाको भुइँ नून बिनाको तिउन झैं फिल गर्छन्। कार्पेट हाल्न खोज्छन्।’

 स्वदेशी बजारमा अहिले एसटी,हेरिटेज र आशी कार्पेट उद्योग संचालमा छन्। आगलागीका कारण यति कार्पेट बन्द भएपछि भैरहवामा जेन्सा कार्पेट उद्योग संचालनमा आएको हो।‘पहिले बजार मागको ५० प्रतिशत हिस्सा हाम्रो हातमा थियो,केडियाले भने, ‘अहिले अर्को एउटा प्रतिस्पर्धी थपिएको  छ, बजारमा चारजना उत्पादकको उपस्थितिले बजार हिस्सा घटबढ हुनु स्वाभाविक हो। अब ४० प्रतिशत बजार ओगट्न पाएपनि हामीले चित्त बुझाउनुपर्ने हुन्छ।’

निर्यात संभाव्यताबारेको जिज्ञासामा उनी तत्काल नन उभन कार्पेट निर्यातको संभावना नरहेको बताउँछन्। ‘हामी निर्यात गर्न सक्दैनौ। भूपरिवष्ठित मुलुक हुनुको बेफाइदा छँदैछ ,अर्कोतर्फ सरकारी कर, मजदुरको लागत,ढुवानी लागत सबै महँगिएको छ। स्वदेशभित्रै बेच्नुपर्ने बाध्यता छ।’

चुनौती के छन त ?
२७ वर्षको अनुभव छ, चुनौती भन्दा पनि ब्राण्ड छ। यो अवधीभित्र नयाँ प्रतिस्पधी पनि आए। पहिले ऋण कम थियो। अहिले ऋण बढेको छ। पहिले ब्याज सस्तो थियो अहिले महँगो छ। तर सँगसँगै अटोमेशनले लागत घटाएको।

वीरगंजमा उद्योग भएकोले कच्चा पदार्थको ढुवानीमा लाग्ने खर्च कटौती भएको छ। सीमित जग्गामा तयारी उत्पादन भण्डारणको लागी पर्याप्त ठाउँ नहुँदा बाहिर समेत भण्डारण गर्नुपर्ने बाध्यता थियो। अहिले उद्योग परिसरमै पर्याप्त भण्डारणको सुविधा छ।‘बजार पुरानै हो। बिक्रीको शैली पनि पुरानै हो। अनलाइन बजारीकरणलाई अझ फोकस गर्नेछौं। अनलाइन बुकिङ गर्दा बिक्रेताले कार्पेटको गुणस्तर,रंग,डिजाइन,प्रकार सहजरुपमा छनौट गर्न सक्छन्,’उनले भने।

नेपालको पहिलो कार्पेट उद्योगको रुपमा कमाएको ख्याती नै उद्योगलाई पुनः ट्रयाकमा डोर्याउन बलियो आधार हुनेछ।’व्यवसायिक इमान्दारिताले पनि अर्थ राख्छ। हामीले कहिल्यै पनि अभावको बेला नियोजितरुपमा आपूर्ति प्रभावित पार्ने वा भाउ बढाएर बिक्रेता र उपभोक्तासँग बेइमानी गर्ने काम गरेनौंं,’उनले भने।

२५ वर्ष पुरानो कार्पेट अझैसम्म पनि ग्राहकको घरमा सजिएका छन्। अनिल कुराकानीलाई विट मार्दै भन्छन् ‘त्यही हाम्रो स्ट्रेन्थ हो । देशभर हाम्रो ६ सय डिलर छन्।  भदौको पहिलो साताबाट उद्योग संचालनमा ल्याउने छौं ।यति कार्पेट, हाम्रो संस्कृति नारा बोकेर पुनः बजार प्रवेश गर्दैछौं।’