शेयर बजारमा बेथितिका चाङ, यस्तो हुनसक्छ सुधारको उपाय, राजिब प्याकुरेलको लेख 

बिजमाण्डू
२०७६ साउन ६ गते १५:४० | Jul 22, 2019
शेयर बजारमा बेथितिका चाङ, यस्तो हुनसक्छ सुधारको उपाय, राजिब प्याकुरेलको लेख 

Tata
GBIME
Nepal Life

म शेयर बजारको पुर्णकालिन लगानीकर्ता हुँ। लगानीकर्ता विश्लेषक हुन सक्दैन भन्ने मान्यतामा बिश्वास गर्ने भएकाले बजारमा बटुलेका अनुभव र देखेका बजार बिकासका सपनाहरुकका बारेमा लेख्दैछु। 

बजारसँग सम्बन्धित पक्षमा सरकार, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज/ सिडिएस, शेयर, ब्रोकर र लगानीकर्ता पर्छन्।

सरकार हरेक व्यावसायिक क्षेत्रको सर्बोपरी हो। राज्यले लिने आर्थिक नितिले शेयर बजार पनि प्रत्यक्ष प्रभावित नहुने कुरै भएन। सरकारले प्रत्यक्ष रुपमा बजारमा हस्तक्षेप नगर्न र विशेषज्ञताको निगरानीमा बजारलाइ राख्नको लागि धितोपत्र बोर्डको अबधारणा ल्याएको हो।

नेपालको मात्र नभएर बिश्वभरको अभ्यास यही हो। त्यसको बिपरित अर्थ मन्त्रालयले अनावश्यक प्रभाव बोर्डमा राखिरहेको देखिन्छ। धितोपत्र  बोर्डको पदाधिकारी नियुक्ति राज्यको दोस्रो प्राथमिकताको पदमा गनिने राजनैतिक नियुक्तिभन्दा माथि उठ्न सकेको छैन।

शेयर बजारको बृहतर बिकासको बाधा यहीँबाट सुरु हुन्छ। शेयर बजार सम्बन्धि ऐन कानुन तथा नीति निर्देशनहरु अर्थ मन्त्रालय अन्तर्गत पर्ने तर त्यहाँ गरिने निर्णयहरुको प्रभाव बजारमा कस्तोसम्म पर्छ भन्ने कुराहरुको सूक्ष्म अध्ययन त परै जाओस् सिधा प्रभावको आँकलन समेत भएको पाइँदैन। हरेक राजनैतिक प्रणाली र पार्टी तथा प्रशासन संयन्त्र यहाँ उस्तै देखिन्छन्।

धितोपत्र बोर्ड सरकारले धितोपत्र बजारको नियमन, ब्यबस्थापन, सुपरिवेक्षण तथा अनुसन्धान गर्ने उदेश्यले खोलेको शीर्ष नियामक हो। शेयर बजारको दिगो बिकास र स्थायित्वको ताला चाबी बोकेर बस्ने यो निकायको भुमिकानै बजार बिकास र बिस्तारको कारक हुनेमा कुनै सन्देह छैन। 

सरकारले शेयर बजारको छुट्टै सरकारको रुपमा बोर्डको गठन गरेको हो। संचालक समितिको संरचना हेर्ने हो भने पनि देशकै उत्कृष्ट मध्येमा पर्छ धितोपत्र बोर्ड। अर्थ र कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, चार्टर्ड एकाउन्टेन्ट, उद्योग बाणिज्य महासंघजस्ता निकायका प्रतिनिधित्व रहने र धितो बजार बिज्ञले कार्यकारी भुमिकामा रहने अबधारणा हेर्ने हो भने त आज नेपाली  धितोपत्र बजार बिश्वकै उत्कृष्ट मध्यमा पर्नु पर्ने हो।

बिज्ञता र विविधताको राम्रो सन्तुलन छ बोर्डमा तर निति निर्माण, तर्जुमा तथा कर्यान्वयनमा त्यो छनक बिल्कुलै पाइँदैन। बजार बिकासको अनुसन्धानको कुनै संकेत पनि पाइँदैन। हचुवा र सनकको नीति निर्माणले पूँजी बजार न यता न उता भइराखेको छ। अलमले योजना, निष्प्रभावी कार्यक्रम र ढुलमुले दिशानिर्देशले पूँजी बजार बिकास र बिस्तारमा चित्त बुझ्ने ठाउँ छैन। 

धितोपत्र बोर्डको प्रभावकारितालाई बेला बेलामा नेपाल राष्ट्र बैंक, बिमा समितिजस्ता निकायहरुले छायाँमा पारिराखेको हुन्छ। बजार  ब्यबस्थापन र संचालनको लागि आँफैले नियमन र निर्देशन गर्ने स्टक एक्सचेञ्जमा समेत बोर्डको प्रभाव र भुमिकाको सँधैजसो प्रश्न उठिरहेको हुन्छ। 

पूँजी बजार भनेको पूँजीको परिचालन र ब्यबस्थापन गर्ने बजार हो, यो सामान्य त पूँजीवादी सिद्धान्तमा चल्नु पर्छ न कि समाजबादी सिद्धान्त। १० कित्ता शेयर घर घरमा चुल्हो चुल्होमा पुर्याउँदैमा पूँजी बजार बिकास हुने तर्कमा सहमत हुन सकिँदैन। 

नेपाल स्टक एक्सचेञ्ज सन् १९९३ मा तत्कालिन आबश्यकता अनुसार सरकार र नेपाल राष्ट्र बैंक प्रमुख प्रबर्द्धक बनि स्थापना भएको हो। स्टक एक्सचेञ्ज नै २६ बर्षदेखि निर्बिकल्प रहेको छ। समयको  गतिशीलतालाई नबुझेर सरकारी पाराले नेप्से चलिरहनु नै बजार बिकासको मुख्य बाधक हो। 

स्टक एक्सचेञ्ज प्राबिधिक रुपमा र प्रबिधिमा अत्यन्तै चुस्त दुरुस्त हुनुपर्ने निकाय हो। फुल अटोमेसनमा आउन नेप्सेले गरेको संघर्षलाई हेर्ने हो भने अब भर परिरहनु पनि मुर्खता हुने देखिन्छ। सिडिएस जुन तरिकाले नेप्सेको एकलौटी सम्पत्ति बनएर ल्याइयो, बजार बिकासमा नेप्सेले ठाउँ ओगटिरहने तर आफू केही नगर्ने छनक दिएको छ। बिशुद्ध प्राबिधिक ज्ञान भएका आधुनिक पूँजी बजारको अध्यताहरुले हाक्नुपर्ने नेप्से यहि बजारमा लगानीकर्ताको हैसियतले कामगरी केही पैसा कमएकाहरुको जिम्मा लगाउने चलन चलेको छ। यो आबस्थामा कसरी बजारको आधुनिक बिकासको सम्भावना देख्न सकिन्छ र? अन्तरास्ट्रिय स्तरको बजार बिकासको लागि जति सकिन्छ चाँडो नेप्सेको हालको संरचनामा व्यापक परिवर्तन गर्नु पर्ने देखिन्छ। 

हाल नेप्सेमा रहेको राष्ट्र बैंकको र सरकारको शेयर स्वामित्व निजि क्षेत्रलाई बिक्री गरि निजीकरणको बाटो लिने वा नयाँ एक्सचेञ्ज संचालन गर्न निजि क्षेत्रलाई अबसर दिनु पर्छ। यति नहुने हो भने यो बजारको बिकास कसरी सम्भव होला र? करिब १५ खर्बको पूँजीकृत शेयर बोक्ने र त्यसको स्वामित्व बोक्ने नेप्सेले हाल चलाइरहेका सफ्टवेयेर र प्रणालीको स्तर र त्यसको बिश्वासनियतामा सहमत हुन सकिन्न। कारोबार समयमा कयौंपटक कामै नगर्ने सफ्टवेयरको कारणले हुने क्षतिको भर्पाइ ब्रोकर र लगानीकर्ताले माग्न थाल्ने बेला भएको छ।

शेयर दलालमार्फत लगानीकर्तासम्म स्टक एक्सचेञ्ज पुग्ने माध्यम मात्र हो। कारोबारको सहजता र सुलभताको लागि दलालको ब्यबस्था गर्ने अबधारणा बिकास भएको हुनुपर्छ। निकै साँघुरो र पुरातन सोचले दलालको कर्यक्षेत्र सुरुमा जसरी तोकिएको थियो त्यहीनै आजसम्म कायम छ। कार्य विविधता र बजारमा बिकसित औजारहरु प्रयोग गर्ने अबसरबाट दलालहरुलाई बञ्चित गरिएकोले दलालहरु दलाल कम लगानीकर्ता ज्यादा भएका छन्। 

निश्चित मापदणड तोकी निगरानीमा लगानीको बाटो खोलिदिएर मौलाएको अनौपचारिक कारोबारले औपचारिक बाटो पाई बजारमा शुद्धता आउने देखिन्छ। दलालको इजाजत निश्चिोतलाई दिएका कारण उनीहरु लगानीकर्ताहरुलाई उपेक्षा गरि नेप्सेप्रति बढी बफादार हुने गरेको देखिन्छ। यहि कारण थप दलाल बजार प्रवेश गराउने माग सँधै रहिरहको पाइन्छ र त्यो रेसमा बैंकहरु पनि थपिन आइपुगेका छन्। 

बैंकलाई ब्रोकर लाइसेन्स दिनु, अरु ब्रोकर थप्नु, मौजुदा ब्रोकरको कार्यक्षेत्र बढाउनु वा सबब्रोकरको अबधरणा ल्याउनु आदि उपायहरु दलाल व्यावसाय ब्यबस्थित गर्न अबलम्बन गर्न सकिन्छ। मूल सङ्लो भयो भने खोला सङ्लो पार्न सकिन्छ, नेप्सेको आधुनिकीकरण र सबलीकरणले दलाल ब्यबसाय स्वत निर्मलीकरण हुन्छ।

लगानीकर्ता बजारको प्रस्थान बिन्दु हो। बजारको विविधता र बिकासले लगानीकर्ताको स्तर र चरीत्र निर्धारण गर्दछ। पूँजी बजारले लिने उद्देश्यनुसार बजारको निर्माण भै त्यसअनुसारका लगानीकर्ता बजारमा रहने हुन्। राज्यले अबलम्बन गर्ने नीति अनुरुप बजारमा लगानीकर्ताको आवागमन हुने गर्दछ। 

सहरका जनता, गाउँका जनता, ब्यतिगत वा संस्थागत, देशी या बिदेशी के कस्ता लगानीकर्ता बजारले प्राथमिकता दिएको हुन्छ सोही अनुसारको लगानीकर्ता बजारमा सकृय रहने हो। पूँजीबजार जोखिम र प्रतिफलको सिद्धान्तमा चल्ने हुँदा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा यसमा बढी सजकता अपनाउनु पर्ने हुन्छ। 

बजार भित्रका आन्तरिक मात्र नभई बाह्यीय अनगिन्ति कारणहरुले पनि शेयर बजार अति प्रभावित हुने हुँदा लगानीकर्ता अत्यन्त सजक, चलाख र डाइनामिक हुन जरुरी हुन्छ। बजारमा राम्रो प्रतिफल लिने भन्दा तुलनात्मक रुपमा गुमाउने लगानीकर्ता नै बढी देखिन्छन्। लगानीकर्ताको विविधताले नै यो बजारको अबधारणालाई जिबन्त राख्ने हुँदा एकै किसिमका लगानीकर्ताको अपेक्षा रख्न पनि मिल्दैन। बजार जति ब्यबस्थित बनाउन सकिन्छ, त्यति नै लगानीकर्तामा सहि सुचना र समान अबसरहरु सम्प्रेषण गर्न सकिने हुँदा सरोकारवालाहरुले यसका निम्ति प्रतिबद्ध हुनुको विकल्प छैन।

आजको पूँजी बजारले यी माथिका सबै निकायमा भएका  कमि कमजोरीहरुलाई सुधारेर केही काम गर्न आवश्यक छ।

सरकारको पूँजीबजार सम्बन्धि स्पष्ट र प्रभावकारि दीर्घकालीन निति आवश्यक छ।

धितोपत्र बोर्डको स्वायत्तता, गैर राजनितिक नियुक्ति, बिज्ञ समुहको सक्रिय भुमिका र स्पष्ट रोडम्याप बनाइ जबाफदेहिता सहितको निति तथा कार्यक्रमहरु चाहिन्छ।

स्टक एक्सचेञ्जको निजीकरण, अत्याधुनिक कर्यप्रणाली, सबल सक्षम र अन्तराष्ट्रिय-राष्ट्रिय अनुभव सहितको कुशल नेतृत्व आवश्यक पर्छ।

ब्रोकर व्यावसाय प्रतिस्पर्धी र पुर्ण व्यावसायिक हुनु पर्छ।

लगानीकर्ता त निराकार हुन्, बजार अनुसारका नै हुने हुन्।

बजारमा आइरहने अनगिन्ति समस्याको पुर्ण समाधान त संभव नहोला तर केही समयदेखि आइरहेका प्राथमिक बजार सम्बन्धि नीति, ट्रेडिङ सफ्टवेयरको समस्या, ब्रोकर बिस्तारका अन्योल, कर कानुन सम्बन्धि अस्पष्टता आदि जस्ता समस्याहरुको समाधान स्पष्ट नितिको प्रभावकारी कार्यान्वयन, जबाफदेहिता र कुशल ब्यबस्थापनबाट सम्भब छ। आशा गरौं भोलिको दिन राम्रै हुनेछ।