हिमालय एअरलाइन्सले बंगलादेशको ढाकामा उडान सुरु गर्यो, साताको तीन दिन उडान भर्ने

बिजमाण्डू
२०७६ साउन ६ गते १७:५४ | Jul 22, 2019
हिमालय एअरलाइन्सले बंगलादेशको ढाकामा उडान सुरु गर्यो, साताको तीन दिन उडान भर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एअरलाइन्सले ढाकामा पहिलो उडान भरेको छ। 

प्रिमियम क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ। 

एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका तयार पारिएको कम्पनीले जनाएको छ। यो नयाँ रुटले नेपालको एसियाली मुलुकसँग सम्पर्क अझ बढाउने विज्ञप्तिमा उल्लेख छ।

ढाकाको पहिलो उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, सचिव मोहनकृष्ण सापकोटा, नेपालका लागि बंगलादेशी राजदुत मासफी बिन्ते साम्स्, पर्यटन वोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले सहभागिता छ। 

कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान एच९ ६७८ काठमाडौंको त्रिभुवन विमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १ बजे अवतरण गरेको थियो। त्यही दिन कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान फर्किएको थियो। एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बंगलादेशमा आफ्नो जिएसए (साधारण विक्री एजेन्ट) का रुपमा नियुक्ति गरेको छ।