पूँजीगत लाभकर गणना विधि: मंगलबार फेरि बैठक डाकियो, साउन १कै आधारमा अहिले गणना

बिजमाण्डू
२०७६ साउन ६ गते १८:२४ | Jul 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयरको पूँजीगत लाभकरको द्विविधा सोमबार पनि टुङ्गिएको छैन। यता सिडिएससीले भने साउन १ गते भएको कारोबारको भारित औसत लागतकै आधारमा लाभकर गणना गरेको छ।

‘कट अफ डेट’ तय नहुँदा पूँजीगत लाभकर गणना गर्न गाह्रो परेको सिडिएससीले जनाउँदै आएको छ। आइतबार र सोमबार लगानीकर्ताले कट अफ डेट तोक्ने दवाव दिएपछि मन्त्रालय, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र सिडिएससी लगातार छलफलमा छन्। 

सोमबारको छलफलमा पनि कट अफ डेट तोक्ने विषयमा टुङ्गो नलागेपछि मंगलबार पुनः बैंठक बस्ने गरि छलफल स्थगित भएको छ। 
 भारित औसत लागतको गणना गर्दा लागत मूल्य लगानीकर्ता आँफैले स्वघोषणा गर्नु पर्ने व्यवस्था गरेसँगै लगानीकर्ताका संघ संस्थाहरु आन्दोलनामा उत्रिएका छन्। 

लगानीकर्ताले सिडिएससीलाई कारोबारको राफसाफ नगर्न दवाव दिएका थिए। तर नियम अनुसार सिडिएससीले दोस्रो बजारमा भएको कारोबारको राफसाफ गर्नै पर्ने हुन्छ। यदि लगानीकर्ता आफैले कारोबार नगरेको भए मात्रै लाभकरको गणना हुँदैन थियो। 

सिडिएससीले पूँजीगत लाभकरको गणना विधि भारित औसत लागतका आधारमा गर्ने तयारी गरेको थियो। आफ्नो तयारी अनुसार नै सिडिएससीले लगानीकर्ताले दिएको लागत मूल्यका आधारमा राफसाफ गरि पूँजीगत लाभकर गणना गरेको हो। 

अधिकांश कारोबार प्राथमिक बजारबाटै खरिद गरेको शेयरको भएको हुँदा साउन १ गते भएको कारोबारको पूँजीगत लाभकर गणना गर्न कुनै समस्या नपरेको सिडिएससीले जानकारी दिएको छ। 

शेयर बिक्री गर्ने लगानीकर्ताले ब्रोकरमार्फत आफ्नो लागत दिन सक्छन्। ब्रोकरले दिएको तथ्याङ्ककै आधारमा सिडिएससीले राफसाफ तथा पूँजीगत लाभरको गणना गर्ने व्यवस्था मिलाएको छ।