जनरल इन्योरेन्स र लुम्बिनी विकास बैंकले डाके साधारणसभा, जनरलको तीस करोडको आइपिओ आउने

बिजमाण्डू
२०७६ साउन ७ गते ०९:४३ | Jul 23, 2019


काठमाडौं। लुम्बिनी विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा डाकेका छन्। गत वर्ष मात्रै व्यवसाय संचालन अनुमति पाएको जनरलले साउन २९ गते पहिलो साधारणसभा डाकेको हो।

Tata
GBIME
Nepal Life

जनरल इन्स्योरेन्स कम्पनीले जारी पुँजीको ३० प्रतिशत प्राथमिक शेयर निष्कासन गर्ने विशेष प्रस्ताव साधारणसभा लैजाने भएको छ। कम्पनीले तीस करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभा पेश गर्नेछ।

साधारणसभाले संस्थापक तर्फका शेयरधनीहरुबाट संस्थापक संचालकको निर्वाचन गर्ने भएको छ। अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण एनएफआरएस प्रणाली अनुसार तयार परेको छ।

बीमा समितिमा निर्जीवन बीमा व्यवसायका लागि निवेदन दिएपछिका आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाबाट पारित गर्ने भएको छ।

त्यस्तै लुम्बिनी विकास बैंकले साउन २८ गते एघारौ वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा चुक्ता पुँजीको १७.०७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लगिने भएको छ।

बैंकको हालको चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ छ। ३७ करोड ७१ लाख रुपैयाँको बोनस शेयर वितरण सँगै बैंकको चुक्ता पुँजी दुई अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

साधारणसभामा अन्य कुनै बैंकसँग गाभ्ने या गाभिने सम्बन्धमा उपयुक्त प्रस्ताव आएमा यसको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ। बैंकले सहायक कम्पनी भिबोर क्यापिटल सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने छ।

साधारणसभा प्रयोजनको लागि बैंकले साउन २२ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। साउन २१ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउन सक्नेछन्।