सुन महँगिएपछि सुरु भयो अवैध कारोबार, बैंकले बेच्नेभन्दा कम मूल्यमै बजारमा पाइन्छ सुन

बिजमाण्डू
२०७६ साउन २९ गते ०९:४८ | Aug 14, 2019
सुन महँगिएपछि सुरु भयो अवैध कारोबार, बैंकले बेच्नेभन्दा कम मूल्यमै बजारमा पाइन्छ सुन

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुले उपलब्ध गराउनेभन्दा प्रति १० ग्राम २३८ रुपैयाँ ९७ पैसा कम मूल्य राखेर व्यवसायीहरुले सुन बिक्री गरिरहेका छन्। 

व्यवसायीहरुले आफैले आयात गर्न पाउँदैनन्, बैंकबाट किनेर मात्र उपभोक्ता बजारमा बिक्री गर्नु पर्छ। बैंकमा प्रति १० ग्राम सुनको भाउ ६११०८.९७ रुपैयाँ छ। मंगलबार सुनचाँदी महासंघले १० ग्रामको मूल्य ६०८७० रुपैयाँ तय गरेको छ।

मुहान (बैंक) मै सुन महँगो भएका बेला त्यहाँभन्दा सस्तोमा कसरी व्यवसायीले सुन बिक्री गरिरहेका छन् त? 

व्यवसायीको भनाइमा अहिले सुन बिक्री गर्नेभन्दा पनि सर्वसाधारणबाट किन्ने काम भइरहेको छ। सर्वसाधारणबाट उठाएको सुन नै फेरि बिक्री गरिएको छ। उनीहरुले आफ्नो तर्कलाई भने आफैले काटिरहेका छन्। 

उनीहरुको भनाइमा अहिले दैनिक २५ देखि ३० किलो सुनको माग छ। यो मागलाई सर्वसाधारणले बिक्री गर्ने सुनले धान्दैन। त्यसो हुँदा उनीहरुले मुहानभन्दा सस्तोमा कसरी सुन बिक्री गर्न सके? 

यसमा राष्ट्र बैंकका अधिकारीहरु र बैंकरले शंका ब्यक्त गरेका छन्। 'पक्कै पनि भन्सार तिरेर आएको सुनको कारोबार भइरहेको छैन। दुई नम्बरी सुनले बजार पिटेको छ। नत्र महँगोमा किनेर सस्तोमा कसैले पनि बेच्न सक्दैन' राष्ट्र बैंकका ती अधिकारीले भने।

यस बारेमा राष्ट्र बैंकसँग केही दिनअघि राजस्व अनुसन्धान विभागले पनि सामान्य कुराकानी गरेको थियो। राष्ट्र बैंक स्रोतका अनुसार  विभागले सुन कारोबारको बारेमा अनुसन्धान गर्दैछ।

अहिले चिनियाँ बजारमा सुनको मूल्य प्रति १० ग्राम ५५ हजार रुपैयाँ छ। भारतमा ६० हजार ८०० रुपैयाँ पर्छ। भारतले चालु बजेटमा भन्सारसमेत बढाएको छ। बैंकरका अनुसार चीनबाट सुन नेपाल आउने। नेपालमा खपत हुनेजति भएर बाँकी भारत पुग्ने गरेको छ।

बैंकको सुनको मूल्य गणना विधि

'सिधासिधा अनुमान गर्न सकिन्छ अहिले सुन चीनबाट आइरहेको छ। जुन सुन किनेर व्यवसायीले सर्वसाधारणलाई बिक्री गरिरहेका छन्' राष्ट्र बैंक स्रोतले भन्यो, 'बैंकसँग किन्दा पनि नकिन्ने अनि बैंकको भन्दा सस्तोमा पनि दिने कुरा आन्तरिक उपभोक्ताका कारण मात्रै संभव छैन।'

अवैध रुपमा सुन आउँदा त्यसबाट सरकारले राजस्व पाउँदैन्। त्यही भएर पनि राजस्व अनुसन्धान विभागले सुन बारेमा राष्ट्र बैंकसँग कुराकानी गरेको हो।

बैंकर्स संघका अनुसार अहिले बैंकहरुसँग ६४५ किलो सुन स्टक छ। गत साता सुनसहित केही व्यक्ति पक्राउ परेपछि बैंकहरुबाट करिव ६० किलो सुन बिक्री भएको छ। यसमध्ये ४५ किलो राजधानी बाहिर बिक्री भएको छ।

'सुन पक्राउ परेपछि बैंकको सुन बिक्री भइहालेको छ। सबै सामसुम हुँदा बैंकको सुन नै बिक्री हुँदैन' ती बैंकरले भने, 'यसले पनि बजारमा उपलब्ध सुन सबै वैध स्रोतबाट आएका हुन् भन्नेमा प्रश्न जन्माएको छ।'

गत जेठ १५ मा बजेटले भन्सार महशुल बढाएको थियो। यसपछि सुन आयात हुने क्रम पातलिन थालेको थियो। माग कम भएर असारभरी बैंकहरुले जम्मा २६ किलो मात्रै सुन बिक्री गर्न सके।

जबकी पछिल्लो ११ महिनामा औसत साढे ६ सय किलोका दरले सुन बिक्री भइरहेको थियो। असारमा दिनको एक किलोका दरले पनि सुन बिक्री भएको छैन। असार १५ पछि बैंकहरुले १०० किलो सुन आयात गरे पनि त्यसपछि एक किलो सुन पनि आएको छैन।

'यस्तोमा जसले पनि अनुमान लाउन सक्छ कि नेपालको माग दुई नम्बरी सुनले धानिरहेको छ। त्यही भएर सुनको मूल्य बैंकले बेच्नेभन्दा कम राखिएको छ' ती बैंकरले भने, 'खुल्लमखुल्ला दुई नम्बरी काम हुँदा पनि सरकारले अनुगमन गर्न सकेको छैन।'