नबिल बैंकले निक्षेप २९ अर्बले बढायो, नाफा ४२९ करोड, स्ट्याण्डर्ड चार्टर्डको नाफा २४६ करोड

बिजमाण्डू
२०७६ साउन २९ गते ११:२२ | Aug 14, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नबिल बैंकले गत आर्थिक बर्ष चार अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। स्ट्यार्डर्ड चार्टर्ड बैंकले पनि दुई अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ।

नबिल बैंकले खुद व्याज आम्दानी ७ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ थियो। 

बैंकले सर्वसारधाणबाट एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले एक खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले यस वर्ष निक्षेप संकलन २१.९२ ले सुधार गरेको हो। 

बैंकको पूँजीकोष अनुपात १२.७१ प्रतिशत छ। खराव कर्जा ०.५५ प्रतिशतबाट बढेर ०.७४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले स्प्रेड दर ५.०५ प्रतिशतबाट ४.४३ प्रतिशतमा झारेको छ। 

स्प्रेड घटेपनि आधार व्याज दर भने ७.७८ प्रतिशतबाट ८.०९ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी दुई रुपैयाँले घटेर ४७ रुपैयाँ कायम भएको छ। बैंकले गत वर्ष बोनस शेयर दिएर चुक्त पूँजी ९ अर्ब एक करोड रुपैयाँ पुर्याएको थियो। जगेडा कोषमा ९ अर्ब ३३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ। 

यसैगरी स्ट्यार्डर्ड चार्टर्ड बैंकले खुद व्याज आम्दानी तीन अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकले विभिन्न शुल्क तथा कमिसनबाट ८२ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्षको भन्दा २४.९३ प्रतिशतले बढेको हो। 

बैंकले गत वर्ष ७५ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरि ५३ अर्ब ११ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ र जगेडा कोषमा ५ अर्ब १७ करोड रुपैयाँ जम्मा गरेको छ। पूँजीकोष अनुसार कर्जा लगानी तथा विस्तार नहुँदा बैंकको पूँजीकोष अनुपात १९.९० प्रतिशत छ। 

खराव कर्जा केहि सुधार हुँदा ०.१५ प्रतिशतमा झरेको छ। स्प्रेड दर नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै ५.०६ प्रतिशतबाट ४.४५ प्रतिशतमा झार्न सफल भएको छ। त्यस्तै आधार व्याजदर पनि केहि प्रतिशत विन्दुले घटेर ७.६३ प्रतिशतमा झरेको छ।  प्रतिशेयर आम्दानी ३१ रुपैयाँ छ।