गोल्यान समूहले माटो ब्राण्डको तरकारी काठमाडौं ल्यायो, ‘हरेक भान्छामा विषादीरहित खाना होस्’

भावना शर्मा/बिजमाण्डू
२०७६ साउन ३० गते १२:५० | Aug 15, 2019
गोल्यान समूहले माटो ब्राण्डको तरकारी काठमाडौं ल्यायो, ‘हरेक भान्छामा विषादीरहित खाना होस्’


Tata
GBIME
Nepal Life

महिनादिन अघिदेखि झापामा अनौठो टेम्पो कुद्न थाल्यो। फलफूल र तरकारीको चित्र कोरिएको रंगीचंगी टेम्पोले सबैको ध्यान सहजै तान्थ्यो। तरकारी राखेर गाउँघर र बजार क्षेत्रमा बेच्न हिँडेको टेम्पोमा लेखिएको थियो 'माटो' नेपालमा जन्मेको 'जैविक अनि ताजा'। यो स्लोगान लेखिएको टेम्पोप्रति सर्वसाधारणको उत्सुकता बढ्यो। बजार छेउको सडक किनारामा पनि स्टल राखेर माटो ब्राण्डका अर्गानिक तरकारी बेच्न थालियो। मानिसहरु भाउ दाँज्न थाले। भाउमा खासै फरक नभएपछि त्यहाँका मानिसहरु माटो ब्राण्डका उत्पादनप्रति सकारात्मक हुन थाले। 

यसैपनि अर्गानिक खानेकुरा भन्नेबित्तिकै महंगो खाद्यान्न हो भन्ने आम बुझाई छ। सिमित ठाउँमा मात्र पाइने र महंगो भएकै कारण सर्वसाधारणसम्म अर्गानिक उत्पादनहरु दैनिक उपभोग गर्न सकिन्छ भन्ने धारणा विकास हुन सकेको छैन।

यो पनि पढ्नुस्: झापालाई 'एग्रि प्रोसेसिङ जोन' बनाउन गोल्यान समूहको अर्बौ लगानी, २ सय बिघा जमीनमा अर्गानिक खेती

झापामा केही महिनादेखि भैरहेको यो प्रयोग अब चाँडै काठमाडौंमा पनि देख्न पाइनेछ। माटो ब्राण्डका अर्गानिक उत्पादनलाई गोल्यान समूहले बजारमा ल्याएको हो। कम्पनीले आजदेखि काठमाडौंस्थित भाटभटेनीका सबै स्टोरहरु, सेल्सबेरिज तथा बिग मार्टमा माटोका अर्गानिक तरकारी उपलब्ध गराएको छ। दुई महिनापछि अर्गानिक तरकारी र फलफूल लोड गरिएको रंगीचंगी टेम्पो झापामा जस्तै काठमाडौंका बजारमा पनि कुद्न थाल्नेछ। 

यो पनि पढ्नुस्: काठमाडौंमा लतिकाको 'चेन्नई एक्सप्रेस', चुनौतीमा रमाउँदै गोल्यान समूहकी 'दि सिक्रेट'

सामाजिक उत्तरदायित्व अन्तर्गत झापाका किसानलाई सहयोग गर्नकालागि थालनी भएको गोल्यान समूहको अर्गानिक खेतीले अब व्यावसायिक रुप लिइसकेको छ। कम्पनीकी निर्देशक लतिका गोल्यानले माटो ब्राण्डलाई बजारमा ल्याउनुको कारण खुलाउँदै भनिन्- 'झापाका किसानले उत्पादन गरेको अर्गानिक तरकारीले बजार पाइरहेका थिएनन्। हामीले उनीहरुको उत्पादन किन्ने बाचा गर्यौं। उनीहरुलाई अर्गानिक खेतीबारे सिकाउने क्रममा किसानले उत्पादन नगरेका तरकारी तथा फलफूलको नमुना खेती गर्दे जाँदा यसले बृहद रुप लियो।'

गोल्यान समूहले झापामा २ सय बिगाहा जमीन किनेर आफ्नै अर्गानिक फार्म पनि सुरु गरेको छ। बिभिन्न जिल्लाका कृषि सहकारी तथा अर्गानिक खेती गरिरहेका किसानहरुसँग पनि समूहले टाइअप गरी उत्पादन थालिसकेको छ। यिनै अर्गानिक उत्पादनहरुलाई माटो ब्राण्डको प्याकेजिङ गरी बजारमा ल्याइएको लतिकाले जानकारी दिइन्। 

पहिलो चरणमा काठमाडौंमा तरकारी उपलब्ध गराएको र बिस्तारै फलफूल तथा मंसिरपछि अर्गानिक चामल पनि बजारमा ल्याउने उनले बताइन्। उनका अनुसार झापा र बर्दियाका किसानहरुसँगको सहकार्यमा अर्गानिक चामल उत्पादन भैरहेको छ। बर्दियामा उत्पादन हुने 'काला नमक' प्रजातिको अर्गानिक चामललाई मंसिरमा माटो ब्राण्डमा बजारमा ल्याउन लागिएको हो। 

अर्गानिक सामाग्री तथा खाद्यान्नतर्फ उपभोक्तालाई आकर्षित गर्नु गोल्यान समूहको योजना हो। 'हामी चाहन्छौं हरेक भान्छामा अर्गानिक खाना होस्।' बिषादी राखिएका खाद्यान्नले स्वास्थ्यमा पार्ने असरबारे बताउँदै लतिकाले भनिन् ' हामी नाफाका लागि काम गरिरहेका छैनौं। घाटामै गएर भएपनि आम सर्वसाधारणसम्म सस्तो र सुलभ ढंगले अर्गानिक उत्पादनको पहुँच बढाउने हाम्रो लक्ष्य हो।' 

बिषादी र रसायनको प्रयोग नगरी खेती गरिने भएकाले अर्गानिक उत्पादन यसैपनि कम हुन्छ। त्यसैले सिमित उपलब्धता र मूल्य महंगो छ। किसानहरु पनि धेरै उत्पादन हुने र किरा नलाग्ने भएकाले बिषादीकै प्रयोग गरी खेती गर्दै आएका छन्। बिषादीको प्रयोगले उत्पादन त बढी हुन्छ तर यसले मानिसको स्वास्थ्य र जमीनको गुणस्तरमा बिस्तारै ह्रास आउने तथ्यलाई भने नजरअन्दाज गरेको देखिन्छ। 

सुरुका केही वर्ष अर्गानिक खेतीमा धेरै नफल्ने, किरा लाग्ने जस्ता समस्या भएपनि माटोबाट बिषादीको असर घट्न थालेसँगै राम्रो उत्पादन पाइने किसानहरु पनि बुझ्न थालेका छन्। स्थानीय किसानका सबै अर्गानिक उत्पादनको बाइ-ब्याक ग्यारेन्टीका साथै बजार पुर्याउने जिम्मा कम्पनीले लिएसँगै किसानहरु पनि उत्साहित भएको लतिकाले बताइन्। 

हाल समूहले देशका बिभिन्न क्षेत्रमा अर्गानिक खेतीका लागि किसान तथा स्थानीय कृषि सहकारी समूहहरुसँग सहकार्य गरिरहेको छ।  झापामा सुरु गरेको अर्गानिक खेतीका उत्पादनहरु स्थानीय बजारमा लगेर 'टेस्ट' गरिसकेको कम्पनीले काठमाडौंको बजारमा आफूलाई स्थापित गर्न लागेको हो। यसकालागि कम्पनीले ललितपुर, धादिङ, मकवानपुर, बर्दिया र झापामा भएको उत्पादनलाई माटोको प्याकेजिङमा उपलब्ध गराउनेछ। 

काठमाडौंकै सर्वसाधारणहरुले पनि अर्गानिक तरकारी तथा फलफूलहरु सुलभ र सस्तो पाइरहेका छैनन्। यी उत्पादनहरु केही गिनेचुनेका  ठाउँमा मात्र पाइन्छ। त्यसमा पनि अर्गानिकका सिमित उत्पादनमात्रै उपलब्ध हुने।  महंगो हुने कारण पनि दैनिक उपभोगका निम्ति यो सहज छैन। 'हामी बिचौलिया नराखी किसान र बजारबीच सम्बन्ध बनाउँछौं। जसले गर्दा अर्गानिक उत्पादन सस्तो पर्न जान्छ।'- लतिकाले योजना सुनाइन्। अन्य तरकारी तथा फलफूल सरहनै मूल्य राखेर सबैको पहुँचमा सुलभ तरिकाले अर्गानिक उत्पादन पुर्याउने समूहको लक्ष्य हो। 

अर्गानिक उत्पादन परियोजनाको जिम्मा लिएकी समूहकी निर्देशक लतिका भन्छिन् 'नेपालले वर्षेनी अर्बौंको खाद्यान आयात गरिरहेको छ। हामी आफैंले यो उत्पादन गर्न सक्छौं। नेपाली माटोमा बिबिधता छ। हिमाल, पहाड र तराइमा सबै किसिमका उत्पादन हुन्छ। यी सबै ठाउँमा अर्गानिक उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन, गर्ने सहकार्य गर्ने र बिउबिजन उपलब्ध गराउने र बाइ ब्याकसम्मको हामी जिम्मा लिन्छौं।" 

यसले स्वस्थ तथा गुणस्तरीय खाद्यान्नको पहुँच बढ्नुका साथै नभई ब्यापारघाटासमेत कम हुने उनको तर्क छ। 

गत आर्थिक वर्षको जेठ महिनासम्मको तथ्यांक अनुसार भारतबाट मात्रै साढे १३ अर्बको तरकारी, ९ अर्ब ७९ करोडको फलफूल आयात भएको छ। चामल मात्रै ३० अर्ब २० करोडको आयात भएको छ। अर्कोतर्फ खेतीयोग्य जमीन बाझिँदै गएका छन्। बेरोजगारी समस्याले बिदेशिने युवाहरुको संख्या पनि लाखौंमा छ। कृषिलाई व्यवसायिकरण गर्न सके यी सबै समस्या घटेर जाने लतिकाको भनाई छ। 'अहिले हामी नाफामा लक्षित छैनौं। हामी सुपथ मूल्यमा सर्वसाधारणलाई अर्गानिक खाद्यान्न उपलब्ध गराउन चाहन्छौं। यसका साथै हामी किसानको सहयोगी बनिरहेका छौं। यसबाट युवाहरुको बेरोजगारी समस्या पनि कम हुन्छ।'

निर्यात घटाउनमात्र होइन भविष्यमा अर्गानिक उत्पादन निर्यात गर्ने अवस्थामा पुग्ने दीर्घकालीन योजना पनि उनले सुनाइन्। 

माटो ब्राण्डमा  हाल तरकारी मात्र बजारमा ल्याएको समूहले चाँडै नै स्ट्रबेरी, ड्रागन फ्रुट, कागती, आप, मेवा, मोरिंगा, एभोकाडो, खुर्सानी, तरबुजा पनि बजारमा ल्याउने तयारी गरिरहेको छ। यसका साथै चिया र कफी तथा जडीबुटीको उत्पादन पनि चाँडै सुरु हुनेछ। यसकालागि समूहले देशका बिभिन्न स्थानमा अर्गानिक खेतीका लागि ब्यवसायिक किसान तथा सहकारीसँग सहकार्य सुरु गरिसकेको छ। 

१० वर्षअघिसम्म पनि बिषादीयुक्त खाद्यान्नबारे सर्वसाधारण सचेत थिएनन्। 'यस्तै खाएर हुर्किएका त हौं' भन्नेहरु अचेल क्यान्सर तथा अन्य गम्भीर रोगहरुका कारण बिषादी तथा रसायनयुक्त खाद्यान्नको प्रयोग गर्न नहुनेमा सचेत हुन थालेको लतिकाको अनुभव छ।

अर्गानिक खेती सुरु गरेका किसानहरु नै आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै उनीकहाँ आइपुग्दा उनलाई जुन आत्मसन्तुष्टी मिल्छ त्यो शायदै अरुलाई महसुस हुनसक्छ।  किनभने लतिका अर्गानिक खेतीसँग जोडिनुको पछाडि पैसाभन्दा पनि आत्मसन्तुष्टी नै जोडिएको छ।  

लतिकाका बुवालाई क्यान्सर भएको लास्ट स्टेजमा मात्र पत्ता लाग्यो। डाक्टरले 'केही महिनामात्र बाँकी छ' भनेका बुवालाई बचाउन लतिकाले हरसम्भव उपाय खोजिन्। यसबारे रिसर्च गरिन्। किताबहरु पढिन्। बुवालाई प्राकृतिक उपचार तथा जडिबुटी र हरसम्भव अर्गानिक उत्पादन उपलब्ध गराउन लागे उनीहरु। डाक्टरले केही महिनाको समय दिएका बुवालाई यही कारण थप तीनवर्षसम्म जोगाउन सके उनीहरुले। यसै क्रममा रसायन तथा बिषादीयुक्त खानाबाट पर रहँदा क्यान्सरको जोखिम कम हुनेबारे पनि उनले पढेकी थिइन्। क्यान्सरबाट बुवाको मृत्युपछि लतिकाले आफैंसँग गरेको प्रतिबद्धतामध्ये एक थियो 'क्यान्सर फ्रि बनाउन र स्वस्थ जीवनशैलीतर्फ डोहोर्याउन समाजमा सकेको योगदान गर्नेछु।' 

काठमाडौंमा अन्य ब्यापारिक कामहरुमा ब्यस्त रहेकै बेला जब गोल्यान समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत किसानहरुलाई सघाउने निर्णय गर्यो उनी हामफालेर झापा पुगिन्। हाल ३६ जनाको टिम लिएर माटो ब्राण्डलाई प्रवर्द्धन गरिरहेकी लतिकाले मुस्कुराउँदै भनिन् – 'खासमा यो ब्यवसायभन्दा बढी आत्मसन्तुष्टी हो।'