सानिमा ग्रुपले धुम्बाराहीमा सुरु गर्यो तारे होटल ‘अकामा’, तीन अर्बमा बन्यो होटल

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ भदौ १ गते २१:०१ | Aug 18, 2019
सानिमा ग्रुपले धुम्बाराहीमा सुरु गर्यो तारे होटल ‘अकामा’, तीन अर्बमा बन्यो होटल

Tata
GBIME
Nepal Life

काठमाडौं। पाँच वर्ष अघि सानिमा ग्रुपले धुम्बराहीमा बन्दै गरेको एउटा अपार्टमेन्ट खरिद गरेको थियो।अपार्टमेन्ट खरीद गरेपछि गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जीवा लामिछानेसहित नौं जना साझेदारले होटलमा रुपान्तरण गर्ने योजना बुन्यो।

लामिछानेलाई जर्मनीको फ्याङफ्रटमा स्काईलाइन,एभरेष्ट,गोथे होस्टल हफ लगायतका होटल संचालन गरेको अनुभवका आधारमा नेपालमा हस्पिटालिटी उद्योगमा जान सहयोग पुग्यो।सुरुमा दुईवटा ब्लकमा चार र पाँच तले भवनलाई कम्पनीले आठ र नौ तलामाथिसम्म उठायो।

१२ तले भवन निर्माणका लागि डिजाइन गरेको कम्पनीले वि.सं ०७२ को भूकम्पका कारण एक तला घटाएको सानिमा ग्रुपका प्रमुख कार्यकारी अधिकृत विनय श्रेष्ठले बताए। '१० तलामा आर्किटेक्ट सञ्जय श्रेष्ठले स्विमिङपुलको डिजाइन गरेका थिए। तर भूकम्प गएपछि हाइटमा स्विमीङ पुल नराख्नु उचित देखिएपछि भवनको तला नै घटाइयो। त्यसकारण हामीले एउटा भवन १० तले र अर्को भवन नौ तलेमा सीमित राख्यौँ।'

कम्पनीले पाँच वर्ष अघि ६ रोपनी छ आना जमिन सहित चारवटा भवन खरिद गरेको थियो। होटल बनाउने भएपछि धेरै स्पेस सिर्जना गर्नुपर्ने भयो। त्यसैले दुईवटा भवन भत्काएर सरकारी मापदण्ड अनुसार थप निर्माण अघि बढ्यो। ग्रुपका सिइओ श्रेष्ठका अनुसार होटलको क्षेत्रफल १ लाख ४२ हजार स्क्वायर फिट छ।

सुरुमा चारवटा भवन सहितको जमीन खरिद गर्दा कम्पनीले झण्डै एक अर्ब रुपैयाँ खर्च गरेको उनले बताए। पाँच वर्ष अघि रियलस्टेट व्यवसायी हरि श्रेष्ठले निर्माण गरेको अपार्टमेन्ट किनेर होटल तयार गर्दा झण्डै तीन अर्ब रुपैयाँ लागेको श्रेष्ठले बताए।

यसरी बन्यो 'अकामा'

सानिमा ग्रुपसँगै 'अकामा' का साझेदार तीन अन्य व्यवसायी छन् जो तिब्बतमा व्यवसाय संचालन गर्दै आएका छन्।

उनीहरुकै सुझावमा होटलको नाम 'अकामा' राखिएको श्रेष्‍ठले बताए। 'तिब्बतमा अकामाको धार्मिक अर्थ उत्कृष्ट भन्ने हो। हामीले ओम भनेझैं तिब्बतीहरुले अकामा हो। त्यसैकारण हामीले होटलको नामाकरण धार्मिक र उत्कृष्ट अर्थ झल्किने हिसाबले राखेका हौँ।' उनले भने।

अहिले नेपाल भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक ल्याउने योजनासँगै  पर्यटकलाई नेपाली मौलिक संस्कृति अनुसारको सुविधा दिने उनले बताए। 'पछिल्लो समय होटलहरु धमाधम निर्माण हुँदै छन्। हामी अत्याधुनिकसँगै नेपाली र चिनियाँ परम्परागत शैलीको सेवा दिन चाहन्छौं।' उनले भने।

होटलको मूख्य प्रवेशद्वार छिर्नेवित्तिकै आँखीझ्याल तथा तामाले बनेका विभिन्न सामाग्रीहरु देख्न सकिन्छ। यसले मौलिक तथा नेपालीपनलाई आत्मसाथ गरेको छ।  

होटलमा एक सय आठ कोठा छन्। दुईवटा कोठा भने छुट्टै किसिमका छन्। कोठाको मध्यभागमा लवी भएको कोठालाई दुईवटा अलग कोठाको रुपमा पनि प्रयोग गर्न मिल्छ। यसरी गन्दा होटलको कुल कोठा संख्या एक सय १० पुग्छ। तर चिनियाँ परम्परा अनुसार आठ अंक निकै भाग्यशाली मानिने भएकाले होटलमा एक सय आठवटा राखिएको उनले बताए।

होटलमा ९६ वटा सुपेरियर रुम, छ वटा डिलक्स रुम, तीन वटा फ्यामिली सुइट रुम र एउटा प्रेसिडेन्सियल रुम छ।होटलमा अमेरिकी ब्राण्ड 'साइबेक्स' का सामाग्री प्रयोग गरिएको छ।

होटलमा न्यूनतम दर  ९० डलरदेखि अधिकतम छ सय डलरसम्ममा राखिएको उनले बताए। सुरुवाती चरणमा ग्राहकले छुटमा होटल बुक गर्न सक्नेछन्। हाल होटलमा २५ प्रतिशत अक्युपेन्सी रहेको छ भने २५ प्रतिशत अग्रिम बुकिङ भइसकेको छ। आउँदो अक्टोबरसम्म ७० प्रतिशत अक्युपेन्सी कायम गर्ने योजना रहेको उनले जानकारी दिए।

होटलको नवौं तलामा चाइनिज-इटालियन रेष्टुरेण्ट 'चाओबेला' छ। होटलमा कफी सप, स्वीमिङ पुल तथा रेष्टुरेण्ट छ जहाँ ग्राहकले कन्टिनेन्टल र नेपाली रैथाने परिकारको स्वाद लिन सक्ने उनले बताए।

होटलमा पाँच हजार स्क्वायर फिटको एरियामा विभिन्न कक्षहरु बनाइएको छ जहाँ एकैपटकमा पाँच सयजनासम्म अट्न सक्ने क्षमता छ। हाल होटलमा डेढ सय जना कर्मचारी कार्यरत छन् भने छिट्टै नै थप पचास जना जनशक्ति थपिने छन्।           

होटलमा एक सयभन्दा बढी चार पाङ्रे सवारीसाधन पार्किङ गर्न मिल्ने सिइओ श्रेष्ठले बताए। पार्किङ प्रयोजनका लागि होटलले दुई तलाको बेसमेन्ट प्रयोग गरेको छ।     

होटल व्यवस्थापनको जिम्मा महाप्रवन्धक राजु श्रेष्ठले लिएका छन्। श्रेष्ठसँग झण्डै ३० वर्षको होटल व्यवस्थापनको अनुभव छ। श्रेष्ठले सोल्टी होटलमा १५ वर्ष र भारतको क्राउन प्लाजामा पनि एक दशक भन्दा बढी अनुभव छ।

होटलको ४० प्रतिशत व्यवसाय खानाबाटै गर्ने योजना रहेको बताउँदै उनले भने, 'होटलमा कर्पोरेट लगायत व्यक्तिगत समारोह उत्सव आयोजना गर्नका लागि सेमिनार हल, कन्फ्रेन्स हल, ब्यांकेट हल लगायत कक्ष छन्। हाम्रो मुख्य उद्धेश्य फुड वेभरेजमार्फत ४० प्रतिशत व्यवसाय गर्नु हो।रुममार्फत ६० प्रतिशत व्यवसाय गर्नु हो।त्यसैले हामीले सेवामा कम्प्रमाइज हुने छैन।'

होटललाई लोकेसनले पनि साथ दिएको छ। दुरीका हिसाबले यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ, वौद्धनाथ लगायत विभिन्न पर्यटकीय गन्तब्य नजिकै पर्ने भएकाले यसको फाइदा लिन सक्छ। अकामाको लक्षित ग्राहकमा ३० प्रतिशत आन्तरिक पर्यटक र बाँकी ७० प्रतिशत बाह्य पर्यटक रहेको श्रेष्ठले बताए। यसैले सुरुवाती चरणमा होटलले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तथा छुटको ब्यवस्था पनि गरेको छ।

पछिल्लो समय धमाधम संचालनमा आएका होटलको दिगो व्यवसायका लागि सरकार र निजी क्षेत्र दुवैको उत्तिकै भूमिका रहने बताउँदै सिइओ श्रेष्ठ भन्छन्,'क्षेत्र एउटै छ। सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्न जरुरी छ। अहिले भइरहेकै पर्यटकलाई मात्र सेवा दिने हो भने त यहाँका होटलहरुमा ग्राहक तानातानको अवस्था सिर्जना हुन्छ। त्यसैले थप पर्यटक आउने वातावरण बनाउन र पर्यटकीय गन्तब्यसम्म पुग्ने पूर्वाधार ब्यवस्थापनमा ध्यान दिन जरुरी छ।'