सिम्रिक एयरलाइन्स: मर्मत सम्भारमै खेलाँची गरेपछि सबै जहाज ग्राउण्डेड, थप अनुसन्धान हुँदै

बिजमाण्डू
२०७६ भदौ ३ गते १९:४८ | Aug 20, 2019
सिम्रिक एयरलाइन्स: मर्मत सम्भारमै खेलाँची गरेपछि सबै जहाज ग्राउण्डेड, थप अनुसन्धान हुँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले गर्दै आएको नियमित निरीक्षणमा सिम्रिक एयरलाइन्सले मर्मतसम्भारमा खेलाँची गरेको पाइएको छ।

कम्पनीको जहाजमा आधिकारिक पार्टपुर्जा प्रयोग नगरिएको पाइएपछि प्राधिकरणले कम्पनीसँग भएको सबै जहाज ग्राउण्ड गराएको छ।

विभागका अनुसार कम्पनीलाई 'लेवल वन' अन्तर्गतको कारवाही सिफारिस गरिएको छ। उडान सुरक्षामा असर परेको कैफियत देखिएको आधारमा 'लेवन वन' अन्तर्गतको कारवाही हुने प्राधिकरणका एक अधिकारीले बताए।

'नेपाली उड्डयन क्षेत्रमा यो चरम लापरवाही हो। प्राधिकरणले एक वर्ष अगाडि पनि कम्पनीलाई आधिकारिक पार्टपुर्जा नहालेको कारण चेतावनी दिएको थियो। नियामक निकायकै निर्देशन लत्याएपछि सबै जहाज ग्राउण्डेड गरेर अनुसन्धान अघि बढाएका हौं।' ती अधिकारीले भने।

नियामक निकायको निर्देशन नमान्ने कुनैपनि कम्पनीलाई कारवाही गर्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। 'हामी युरोपियन युनियनको सुरक्षा सूचीमा छौँ। नियामक निकायले सिफारिस गरेको पार्टपुर्जा प्रयोग नगरी मनोमानी ढंगले यसरी पार्टपुर्जा प्रयोग गर्नु गलत हो। कम्पनीले चरम लापरवाही गरेको छ। अहिले कम्पनीसँग भएको जहाज ग्राउण्डेड भइसकेको छ। कम्पनीलाई स्पष्टीकरणका लागि पत्राचार भइसकेको छ। कम्पनीको थप अनुसन्धान गरिनेछ।' उनले भने।

कम्पनीसँग हाल भएको दुईवटा विचक्राफ्टले पोखरा, भरतपुर र भैरहवा नियमित उडान गर्दै आएको छ।