रक्सौंलका स्थानीयले पाँच घण्टा नाका ठप्प पारे, इन्ट्री नगरि भारतीय गाडी नेपाल आउन दिनुपर्ने माग

बिजमाण्डू
२०७६ भदौ ४ गते २१:१२ | Aug 21, 2019
रक्सौंलका स्थानीयले पाँच घण्टा नाका ठप्प पारे, इन्ट्री नगरि भारतीय गाडी नेपाल आउन दिनुपर्ने माग


Tata
GBIME
Nepal Life

वीरगंज।भारतीय गाडी नेपालमा सहज प्रवेश गर्न नपाएको भन्दै रक्सौंलका स्थानीयले पाँच घण्टा नाका बन्द गरेका छन्।बुधबार विहान ११ बजेदेखि साँझ ४ बजेसम्म मितेरी पुलमा सवारी साधन चल्न रोक लगाए।

दुई महिना यता पर्सा प्रहरीले नेपाल प्रवेश गर्दा इन्ट्री नगरेका सवारी साधनलाई नियन्त्रणमा लिएपछि रक्सौंलका स्थानीयले नाका बन्द गरेका हुन्।
पर्सा प्रहरीले एक दर्जन भन्दा बढि भारतीय जीप,भ्यान,कारलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरेपछि विरोध भएको हो।प्रहरीले मंगलबार चार वटा गाडी र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएपछि नाका बन्द गरेर विरोध जनाएका हुन्।

‘नेपाल भारतको सम्बन्ध रोटीबेटीको छ,नेपाली गाडी बिहारको सुगौली सम्म कुनै झन्झट नबेहोरी जान्छ,भारतीय गाडीलाई घण्टौ लाइनमा बसेर इन्ट्री गर्नु पर्छ। एक दुई दिन ढिलो भयो भने जरिवाना तिर्नु पर्छ,’भारतीय जनता पार्टी रक्सौंलका नेता महेश अग्रवालले भने,‘तीन दिनको अल्टिमेटम दिएका छौ,प्रहरी प्रशासन र भन्सारले सहज भारतीय गाडीको वातावरण बनाएन भने फेरी आन्दोलन गर्छौै।’

नाका ठप्प भएपछि संघीय समाजवादी पार्टीका सांसद प्रदिप यादवले स्थानीयसँग सहजीकरण गरेर नाका खुलाएका थिए। ‘नाका ठप्प भएपछि रक्सौलका वासिन्दासँग छलफल गरेर खुलाए।भारतीय गाडीहरुको सवालमा वीरगंज भन्सारमा विहान ५ बजे देखि साँझ ५ बजे सम्म नियमित २ वटा काउन्टर व्यवस्था मिलाउन आग्रह गरिएको छ,’उनले भने,‘भन्सार तिरेर वा इन्ट्री गरेको भारतीय गाडीलाई सहज आवागमन मिलाउनु भन्सारका अधिकारी र सुरक्षा अधिकारी छलफल भएको छ।’ प्रहरीले समातेको ६ वटा गाडी तत्काल प्रकृया वा जरिवाना काटेर छोडने सहमति भएको उनले बताए।

पाँच घण्टा नाका ठप्प भएपछि करिब ६ करोड कम राजस्व उठेको वीरगंज भन्सारका सूचना अधिकारी मनीषकुमार महतोले जानकारी गराए।‘विहानै देखि करिब २ सय ट्याकरहरु रोकिएका थिए,’उनले भने,‘नेपाल प्रवेश र फर्किदा समस्या भएकोले बन्द गरेपनि नाकानै ठप्प पार्नु गलत हो। ’पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले नाका बन्द गरेको बारेमा कुनै जानकारी नभएको बताए।‘हामीलाई त्यस बारे केही थाहा भएन,’उनले भने,‘भन्सारको नियम पालाना नगरी भारतीय गाडी नेपाल प्रवेश गरेमा प्रहरीले कारवाही गर्छ।’