संसदीय समितिमा सांसद अमनलाल र कुलमानबीच जुहारी चलेको आयोजनाको अझै काम भएन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ भदौ ५ गते १०:२९ | Aug 22, 2019
संसदीय समितिमा सांसद अमनलाल र कुलमानबीच जुहारी चलेको आयोजनाको अझै काम भएन

Tata
GBIME
Nepal Life

विराटनगर। केही महिना अघि सार्वजनिक लेखा समितिमा सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच बाझाबाझ आयोजनाको काम अझै सुरु हुन सकेको छैन।

घिसिङले मोदीको असहयोगकै कारण दुहबी कटहरी प्रसारणलाइनको तार टाँग्न नसकिएको बताएका थिए।प्राधिकरणले वस्तै छलेर सडकैसडक प्रसारण लाइन लैजान खोजेपनि स्थानीयले मानेका छैनन् जसका कारण आयोजना अवरुद्ध बनेको छ।मोदीकै संलग्नतामा तीन किलोमिटर क्षेत्रमा तार तान्न नसकेपछि ११÷३३ केभी क्षमताको कटहरी सबस्टेसनको सञ्चालन सुरु गर्न नसकेको हो।

आयोजनाले तीनवर्षअघि काम सुरु गरेको थियो ।मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर–५गिदनियाँ टोलका बासिन्दाले तार टाँग्न आयोजनालाई अवरोध पुर्याएका छन्।‘हामीले २० सौँ पटक अन्तरक्रिया गरिसक्यौँ, हामीले बोलुन्जेल उहाँहरू कन्भिन्स भएजस्तो देखिनु हुन्छ’, आयोजना प्रमुख शैलेश सापकोटाले भने, ‘तर अन्तमातार यहाँबाट लैजान पाइँदैन भन्ने अड्डी लिनुहुन्छ।उहाँहरू कसैका घरकम्पाउन्डबाट तार टाँगिएको पनि होइन, बाटैबाटो लगिएको हो। कसैको व्यक्तिगत जमिन माथि तार परेको छ भने सारिदिन्छौँ भन्दा पनि स्थानीयवासीले मानेका छैनन्।’

उनका अनुसार गाउँका केही व्यक्तिको उक्साहटबाट आयोजना अवरुद्ध भएको हो।‘गाउँमा कसैले उक्साइदिएका रहेछन्’, प्रमुख सापकोटाको भनाइ छ, ‘धेरै करेन्टवाला तारनेर बस्ने गर्भ तुहिन्छ, छोराछोरी जन्मँदैनन्, भएका बच्चा पनि अपाङ्ग हुन्छन् भन्ने भ्रम त्यस गाउँमा छ। हामीले उहाँहरूलाई धेरै सम्झाइसक्यौँ।’

कुल २५ करोड लागतमा बनेको कटहरी सबस्टेसन तयार अवस्थामा रहेको उनले जानकारी दिए।‘कटहरी सब स्टेसनको हामीले परीक्षण गरिसक्यौँ, तार आइपुग्ने बित्तिकै चलाउन सकिन्छ, उनले भने, ‘कटहरी सबस्टेसन सञ्चालन गर्न दुहबी ग्रीडबाट पूर्व–दक्षिण बुढीगङ्गा र ग्रामथान गाउँपालिकाहुँदै आयोजना–स्थलसम्म आइपुग्न साढे २० किलोमिटर तार टाँग्नुपर्छ। दुहबी ग्रीडबाट पूर्व–दक्षिण २ किलोमिटरसम्म तार अन्डरग्राउन्ड लगिएको छ। त्यहाँबाट दक्षिण बुढीगङ्गा गाउँपालिकासम्म १५ किलोमिटर पनि तार तानिसकिएको छ। गिदनियाँ क्षेत्रमा मात्र ३ किलोमिटर टाँग्न बाँकी छ।’

ग्रामथान गिदनियाँका ५ सयभन्दा बढी घर–परिवार एक्स्टेन्सन लाइनबाट प्रभावित हुने संघर्ष समितिका संयोजक भक्कुलाल विश्वासको भनाइ छ।विश्वासका अनुसार संघर्ष समितिमा बुढीगङ्गाका स्थानीय बासिन्दा पनि जोडिँदा १ हजार घरधुरी पुग्छन्।प्राधिकरणले स्वीकृत भइसकेको प्रसारण लाइनको एलाइन्मेन्ट परिवर्तन गर्न नसक्ने र स्थानीयले वस्तीबाट लानै नदिने अडानले कटहरी सबस्टेशननिर्माण सम्पन्न भएपनि संचालनमा आउन नसकेको हो।

सङ्घर्ष समितिका विश्वासको चेतावनी थियो, ‘हामी विकास विरोधी होइनौँ तर जबर्जस्ती प्रसारण लाइन लगिए जे पनि हुनसक्छ। यसको जिम्मेवार प्राधिकरण हुनेछ।’आयोजना अन्तर्गत प्रदेश नम्बर १ मा ८ ठाउँमा सब स्टेसन बन्दैछन्। मोरङको कटहरी र उर्लाबारी, झापाको घैलाडुब्बा र गौरादह, भोजपुरको प्याउली र रानीबास, तेह्रथुमको आठराई–सङ्क्रान्तिबजार र इलामको पञ्चमी–चिसापानीमा सब स्टेसनको निर्माण भइरहेको हो। जसमध्ये झापाको घैलाडुब्बामा सञ्चालनमा आइसकेको छ भने ७ ठाउँमा बाँकी छ।कटहरी सबस्टेसन सञ्चालनमा आएपछि औद्योगिक र सामान्य ग्राहकले समेत भोल्टेजयुक्त बिजुली पाउने र लाइन गइरहने समस्या नहुने प्रमुख सापकोटाको भनाइ छ।

कुलमान राजधानीका मात्र !
कटहरीमा बारम्बारको लोडसेडिङ र कमभोल्टेजले औद्योगिक क्षेत्र मारमा परेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए।

‘कार्यकारी निर्देशक कुलमानजीले राजधानीका तीन जिल्लाको विद्युत् आपूर्तिमा मात्र ध्यान दिएको आभास हामीलाई भएको छ’, अध्यक्ष मुन्दडाको आरोप छ, ‘काठमाडौं बाहिर जेसुकै होस्, कुलमानजीको ध्यानपुग्दैन जस्तो अनुभव भएको छ।’उनको प्रश्न थियो, ‘के उहाँ तीन जिल्लाको मात्र कार्यकारी निर्देशक हो?’

उनले लोडसेडिङ र लो भोल्टेजका कारण कटहरी औद्योगिक क्षेत्रले दैनिक १ करोडको नोक्सानी खेपेको बताए।कटहरीस्थित ग्रिनटायरका संचालक विनीत सिंघानियाका अनुसार विद्युत् समस्याकै कारण उद्योगबाट उत्पादित सामानको लागत मूल्य बढेको छ र झ्याप्पझ्याप्प बत्ती जाँदा इलेक्ट्रिक मेसिनरीहरू बिग्रने समस्याले दैनिक घाटा भइरहेको छ।आफ्नो उद्योगमा मासिक १० लाखभन्दा बढीको अनावश्यक खर्च विद्युत्कै कारण भइरहेको उद्यमी सिंघानियाको दाबी छ।