नेपाल बैंकको प्रमुख कार्यकारीमा १४ को आवेदन: तीन सरकारी बैंकको बोलबाला, को को कस्ता?

बिजमाण्डू
२०७६ भदौ ५ गते १०:५४ | Aug 22, 2019
नेपाल बैंकको प्रमुख कार्यकारीमा १४ को आवेदन: तीन सरकारी बैंकको बोलबाला, को को कस्ता?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन परेको छ। अधिकांस आवेदकहरु नेपाल बैंक, राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकका बहालवाला र अवकाशप्राप्त छन्। निजी क्षेत्रका बैंकबाट आवेदन दिने न्युन छन्।

आवेदकमध्ये अधिकांस कम सुनिएका/चिनिएकाहरु छन्। बैंककै कामु प्रमुख कार्यकारी अधिकृत भएर चलाइरहेका कृष्णबहादुर अधिकारीले पनि आवेदन दिएका छन्। प्रमुख कार्यकारीले मासिक तीन लाख रुपैयाँ तलब पाउने छन्। कार्यकाल चार बर्षको हुने छ।

बैंकले सबैको प्रस्ताव हेरेर अन्तर्वार्ता सुरु गर्ने छ। यसमध्ये ३ जनाको नाम नियुक्तिका लागि सिफारिस हुने छ। सञ्चालक समितिले एक जनालाई नियुक्त गर्ने छ। कमसेकम यो प्रकृया सकिन एक महिनाभन्दा केही बढि लाग्ने बैंकले जनाएको छ।

आवेदन दिने रामदेव यादव तत्कालिन मध्यमाञ्चल ग्रामिण विकास बैंकमा थिए। उनले अवैध रुपमा सञ्चालित नेटवर्किङ व्यवसाय युनिटीको अधिनमा बैंकलाई लैजान खोजेका थिए।

अर्का आवेदक अरुणकुमार ढुंगाना कृषि विकास बैंकको नायव महाप्रबन्धकबाट अवकाश हुन्। आवेदक शेषरमण आचार्य कृषि विकास बैंकको नायव प्रमुख कार्यकारीबाट अवकाश हुन् भने पूर्णप्रसाद आचार्य कृषि बैंकका बहालवाला नयाव नायब महाप्रबन्धक हुन्। 

आवेदन दिएकामध्ये धेरै संस्था चहारेको अनुभव पुष्पराज भण्डारीसँग छ। उनी नियामक राष्ट्र बैंक हुँदै नेपाल एसबिआइ बैंक, वीरगंज फाइनान्स, बैंक अफ काठमाण्डूसम्म पुगेका थिए। 

नबिल बैंकका बरिष्ठ कर्जा विश्लेषक मुरारीप्रसाद अर्यालले पनि प्रमुख कार्यकारीका लागि आवेदन दिएका छन्। प्रभु बैंकमा गाभिएको एक फाइनान्सका प्रमुख कार्यकारी अशोक खड्की पनि अर्का आवेदक हुन्।

नेपाल बैंकका विभागीय प्रमुख सुन्दर पन्थी, नायव महाप्रबन्धकबाट अवकाश राजुनाथ खनाल,  नेपाल बैंकका वहालवाला विभागीय प्रमुख डिल्लीराम शर्माले पनि आवेदन दिएका छन्। 

उड्डयन क्षेत्रका गोविन्दप्रसाद दाहालसमेतले आवेदन दिएको बैंक स्रोतले जनाएको छ। नेपाल बैंकको ८ तहसम्म काम गरेर राष्ट्रिय बाणिज्य बैंक पुगेकी दुर्गाकुमारी कँडेलले पनि आवेदन दिएकी छिन्। उनी त्यहाँ १० तहमा कार्यरत छिन्। 

राष्ट्रिय बाणिज्य बैंकमा १० तहसम्मा पुगेका तथा आरबिबी क्यापिटलका पूर्व प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले पनि आवेदन दिएका छन्। उनी ट्रेड युनियनमा पनि आवद्ध थिए।