काठमाडौं-तराई फाष्ट ट्रयाकको प्रस्थान विन्दु खोकना, दुई वर्षमा जग्गाको भाउ चार गुणासम्म बढ्यो

बिजमाण्डू
२०७६ भदौ ५ गते १५:२९ | Aug 22, 2019
काठमाडौं-तराई फाष्ट ट्रयाकको प्रस्थान विन्दु खोकना, दुई वर्षमा जग्गाको भाउ चार गुणासम्म बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं।काठमाडौं-तराई फास्ट ट्रयाकको प्रस्थान बिन्दु रहेको खोकनामा दुई वर्षको अवधिमा जग्गाको मूल्य चार गुणा सम्मले बढेको पाइएको छ।

दुई वर्ष अघि सम्म चार लाख रुपैयाँ प्रति आनामा पाइने खोकनाको जग्गा अहिले प्रति आना कम्तीमा ८ लाख रुपैयाँ देखि बढीमा २५ लाख रुपैयाँसम्म पुगेको छ।फाष्ट ट्रयाक सम्पन्न हुने अहिलेसम्म पनि टुंगो छैन तर जग्गा किनबेचले भाउ भने आकासिएको छ।

फाष्ट ट्रयाकको चर्चा अघि खोकनाको जग्गा रोपनीकै लाख रुपैयाँमा पाइन्थ्यो।फाष्ट ट्रयाकसँगै कीर्तिपुरको चोभारमा सुख्खा बन्दरगाह र स्मार्ट सिटीले समेत जग्गाको भाउ बढाउन सहयोग गरेको छ।जग्गाको भाउ बढेपनि कारोबार भने न्यून छ।

महिनामा मुस्किलले १५/२० वटा सम्म जग्गा किनबेच हुने खोकनामा जग्गाको मूल्य कसरि बढ्यो त? स्थानीयका अनुसार जग्गा किनबेच धेरै नभएपनि किन्ने व्यक्ति धेरै हुँदा मूल्य बढेको हो।

कित्ताकाट रोकिएका बेला फास्ट ट्रयाकको शिलान्यास

खोकनामा जग्गाको कित्ताकाट रोकिएकै बेला सरकारले ०७४ वैशाखमा फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दियो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले जेठमा आयोजनाको शिलान्यास गरेपछि फागुनमा सेनाले खोकनामा क्याम्प खडा गरेपछि फाष्ट ट्रयाक बन्ने विश्वास बढ्यो।

त्यसपछि जग्गा किन्नेको भीड खोकनामा लाग्यो।जग्गा किन्ने बढेपनि कित्ताकाट रोकिएका बेला सीमित घडेरी चर्को मूल्यमा खरीदबिक्री भए।जग्गाको माग अधिक भएपनि आपूर्ति भने न्युन भयो। आपूर्ति नभएपछि मूल्य बढाबढ भयो। अहिले खोकनामा मासिक १५ देखि २० कित्ता जग्गा किनबेच हुन्छ। दुई वर्ष अघि सम्म खोकनामा मासिक चार वटासम्म किनबेच हुने गरेको मालपोत कार्यालय ललितपुरको तथ्यांकले देखाउँछ।कित्ताकाटकै रोकिएपछि आठ आना भन्दा थौरै जग्गा किनबेच गर्न नपाउने प्रावधानले समेत खोकनाको जग्गाको बिक्री कम भएको हो।

मालपोत कार्यालय ललितपुरका कर्मचारी सागर काफ्लेले भने, 'बागमती करिडोर, फास्ट ट्रयाक र स्मार्ट सिटीका कारण ससानो टुक्रामा जग्गा बिक्री हुन पाएन।'

सरकारी कर्मचारीले किने जग्गा

फास्ट ट्रयाक निर्माण हुने जानकारी पाएपछि सरकारी कर्मचारीलेनै खोकनाको जग्गा किनेको स्थानीय जग्गा व्यवसायी बताउँछन्। पैसा हुनेले धेरै र नहुनेले थोरै भएपनि आनाको पचास हजार रुपैयाँमा जग्गा किनेको एक व्यवसायीले बताए।

ती व्यवसायीका अनुसार खोकनाका नापी, मालपोत, फास्ट ट्रयाककै कर्मचारीले जग्गा किने। कर्मचारी वाहेक विभिन्न राजनीतिक दलका नेताहरुले समेत जग्गा किनेको उनले बताए।

फाष्ट ट्रयाकको बारेमा एसियाली विकास बैंकले सन् २००८ मा सम्भाब्यता अध्ययन गरेको थियो। सम्भाब्यता अध्ययन हुनेवित्तिकै कतिपय कर्मचारीले जग्गा किनेको स्रोतले बतायो। सन् २०१५ मा विस्तृत सम्भाव्यता अध्ययनको लागि भारतीय कम्पनी आइएल एण्ड एफएसलाई जिम्मा दिएसँगै आयोजनाले गति लिने विश्वासमा जग्गा कारोबार बढेको थियो।

सैंबुदेखि डुकुछाप सम्मै सरकारी कर्मचारीका जग्गा

 फाष्ट ट्रयाकको एलाइन्मेन्ट ललितपुरका सैंबु,खोकना,बुङमती र डुकुछाप क्षेत्रका जग्गा पर्छन्।सैंबु चक्रपथबाट नजिकै भएकोले महँगो मूल्यमै जग्गा किनबेच हुने गरेको थियो।त्यसपछि फाष्ट ट्रयाक समेत पर्ने देखिएपछि मूल्य अस्वभाविक रुपमा बढ्यो।फाष्ट ट्रयाकको प्रस्थान विन्दुमा रहेको खोकनामा सरकारी कर्मचारीको आँखा सुरुमै पर्यो।

बुङमती खोकना भन्दा तल पर्ने र काठमाडौं आउजाउ सहज नभएकाले धेरैको रोजाइमा यो क्षेत्र परेको छैन। तर सरकारी कर्मचारीले यहाँ पनि जग्गा किनेको स्थानीयको दाबी छ।

स्मार्ट सिटीले पनि बढ्यो

सरकारले काठमाडौं उपत्यकामा चार वटा स्मार्ट सिटी बनाउने घोषणा गरेकोमा एउटा खोकनामै पर्छ। स्मार्ट सिटी बनाउने भन्दै सुरुमा कित्ताकाटमा रोक लगाएको थियो।

कित्ताकाट रोक्दा विरोध भएपछि उपत्यका विकास प्राधिकरणले ८ आना भन्दा साना कित्ताकाट गर्न मात्रै रोक लगायो। नियम अनुसार पाउने कित्ताकाटमा पनि ८ आनाको सीमा तोकिएपछि खोकनामा जग्गा पाउन कठिन भयो।

त्यसपछि पहिलेनै कित्ताकाट भएका र प्लानिङको अनुमति लिएर काम गर्ने जग्गा व्यावसायिका प्लटिङको मूल्य एकाएक आकासियो। त्यही भएकाले खोकनाको जग्गा प्रतिआना कम्तीमा ८ लाख रुपैयाँ देखि २५ लाख रुपैयाँ सम्ममा किनबेच हुन थाल्यो।खोकना, बुङमती र डुकुछापमा रहेका ठूला प्लट व्यवसायीको कब्जामा छ। प्राइम लोकेसनमा हजारौं रोपनी जग्गा व्यवसायीको कब्जामा रहेको र केही जग्गा कर्मचारीकै कब्जामा रहेको स्थानीयको दाबी छ।