किसानलाई आत्महत्याबाट जोगाएका भारतका पूर्व अर्थमन्त्री चिदम्बरम, भष्ट्राचारमा कसरी तानिए?

बिजमाण्डू
२०७६ भदौ ५ गते २१:५१ | Aug 22, 2019
किसानलाई आत्महत्याबाट जोगाएका भारतका पूर्व अर्थमन्त्री चिदम्बरम, भष्ट्राचारमा कसरी तानिए?


Tata
GBIME
Nepal Life

महाराष्ट्रको नारा गाउँका ५५ वर्षका दत्तु चौधरीले आत्महत्या गरे। तीन हेक्टर जमीनमा किसानी गर्दै आएका चौधरीले खेती गर्न लिएको ऋण तिर्न नसकेर ज्यान फाले। यो सन् २००८ को कुरा हो।

चौधरीले आत्महत्या गरेको ठिक चारदिनअघि तत्कालीन अर्थमन्त्रीले घोषणा गरेका थिए '२ हेक्टर जमीन भएका किसानहरुले सरकारी बैंकबाट लिएको सबै ऋण मिनाहा हुनेछ।' त्यसै दिन पनि थप दुई किसानले आत्महत्या गरिसकेका थिए।

आत्महत्या गर्ने ति तीनैजना किसान बिदर्भमा कपास खेती गर्ने किसानहरु थिए। जुन ठाउँ तत्कालीन भारतमा किसानहरुको आत्महत्या गर्ने थलो नै बनिसकेको थियो र ऋणमा डुबेका किसानहरुलाई आत्महत्यातर्फ उन्मुख गराउने त्यही कपास खेती थियो।

घाटामा गएका किसानहरुले आत्महत्या गर्ने दर बढ्दै गएको थियो। त्यसअघिको एक दशकमा १ लाख ५० हजार कृषिक्षेत्रमा तत्कालिन समयको चरम दुरावस्थाबाट पीडित भएर ज्यान फालिसकेका थिए। घोषणा गरे अनुसार २ हेक्टर जमीन भएका किसानहरुले सरकारी बैंकहरुबाट लिएको ऋण मिनाहा हुन्थ्यो। यस अन्तर्गत ब्यक्ति वा साहुसँग लिएको ऋण भने पर्दैनथ्यो। दत्तुले बैंक नभई साहुसँग ऋण लिएका थिए त्यसैले हतासमा ज्यान फालेका थिए।

यो प्याकेज अन्तर्गत ६० हजार करोड भारतीय रुपैयाँ अर्थात १५ अर्ब डलरभन्दा बढी रकम मिनाहा भएको थियो। किसानहरुको ऋण मिनाहा गर्दा साना तथा सीमान्तकृत किसानहरुलाई केही राहत हुनसक्ने अनुमान गर्दै तत्कालीन अर्थमन्त्रीले यस्तो प्याकेज ल्याएका थिए जसबाट ३ करोड साना तथा सीमान्तकृत किसानको ऋण पूर्ण मिनाहा भएको थियो भने थप एक करोड किसानको ऋण तिर्दा सहुलियत पाए। र यो मिनाहाको घोषणा गरेका थिए तत्कालीन अर्थमन्त्री पि चिदम्बरमले जो बुधबार भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन्।

सन् २००८ मा उनले भारतीय अर्थव्यवस्थालाई मन्दीको प्रभावबाट जोगाउन विभिन्न कामहरु गरेका थिए। यस्तै सन् १९९६ देखि १९९७ को ड्रिम बजेटमा पनि उनले राज्यकोषको घाटा कम गर्नकालागि महत्वाकांक्षी कर सुधार कार्यक्रम सुरु गरेका थिए। उनलाई सरकारको खर्च अनुशासित गर्ने श्रेय पनि जान्छ।

आर्थिक नीतिको क्षेत्रमा सुधारका काम गरेकोमा चिदम्बरमलाई धेरैले सम्झन्छन्। उनले किसानको ऋण मिनाहा गर्नुका साथै रोजगार ग्यारेन्टी स्किम 'मनरेगा' ल्याएका थिए जसलाई ठूलो निर्णयका रुपमा लिइन्छ। यसैले ग्रामीण क्षेत्रका बासिन्दालाई धेरै राहत भएको थियो।

पलानीअप्पन चिदम्बरम भारतीय काँग्रेस पार्टीका बरिष्ठ नेता हुन्। पार्टीमा विद्वान नेता मानिने उनले फियरलेस इन अपोजिसन पावर एण्ड एकाउन्टिबिलिटी, स्ट्यान्डिङ गार्ड अ इयर इन अपोजिसन, अ भिउ फ्रम द आउटसाइड ह्वाइ गुड इकोनोमिक्स वर्क्स फर एभ्रिवान र अनडौन्डेड जस्ता किताबहरु लेखेका छन्।

पेशाका आधारमा उनी एक वकिल पनि हुन्। तमिलनाडुको शिवगंगा जिल्लाका कनाडुकथन भन्ने गाउँमा जन्मेका पि चिदम्बरमले हार्वर्ड बिजनेस स्कुलबाट एमबिए समेत गरेका थिए। मद्रास ल कलेजबाट एलएलबी गरेका उनले चेन्नई उच्च न्यायालयमा वकालत गरे। यसैगरी उनले भारतको सर्वोच्च अदालतसम्म कानुनको अभ्यास गरेका थिए।

उनका छोरा कार्ति पी चिदम्बरम पनि काँग्रेसका नेता हुन्। यिनले राजनीतिमात्रै गरेनन् व्यापारका पनि हात हाले। साथै यी पनि बाबुजस्तै वकिल हुन्। काँग्रेससँग जोडिनुअघि यीनले वकालत गरे।सन् २०१४ मा लोकसभा सदस्य बनेका कार्तीले आफ्नो ब्यापार बढाउनकालागि धेरै कम्पनीहरुमा लगानी गरेका थिए।

उनको एडभान्टेज स्ट्रयाटेजिक कन्सल्टेन्सी, वसन हेल्थ केयर ग्रुप, एयरसेल लगायतका विभिन्न कम्पनीमा लगानी छ। अबैधानिक रुपले आर्थिक तथा कानुनी मद्दत गरेको आरोप उनीमाथि लाग्दै आएको थियो।

कार्तीको समेत लगानी रहेको मानिएको आईएनएक्स मिडियामा सन् २००७ मा अर्थमन्त्री रहँदा बाबु पि चिदम्बरमले  आईएनएक्स मिडियाले  विदेशबाट ल्याएको ३०५ करोडलाई फरेन इन्भेष्टमेन्ट प्रोमोसन बोर्डले निकासी स्वीकृत गरेको थियो। यसै विषयमा उनीविरुद्ध सिबिआइ र इडीले उनीविरुद्ध आर्थिक अपचलनको मुद्दा दायर गरेको थियो। यद्यपि, बुधवार बेलुकी उनी कांग्रेस कार्यालयमा उपस्थित भइ आफू निर्दोष भएको दाबी गरेका थिए।

यसै केसमा चिदम्बरमले दिल्ली उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएपनि अदालतले उनको निवेदन अस्वीकृत गरेपछि सिबिआइ र इन्फोर्समेन्ट डाइरेक्टर (इडी)ले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। अदालतले यस मुद्दालाई आर्थिक हिनामिनाको 'क्लासिक केस' भन्दै जमानत दिएमा यसले समाजमा गलत सन्देश प्रवाह हुने भन्दै जमानत नदिने निर्णय सुनाएको थियो।

सँधै विवादमा घेरिए

मनमोहन सरकारमा पि चिदम्बरम अर्थमन्त्री हुँदा केही यस्ता मुद्दाहरु उठे जसबाट धेरै विवाद भयो। पि चिदम्बरमलाई उनका बिरोधीहरु भन्ने गर्थे 'उनको आर्थिक बिचारधार दक्षिणपन्थी छ।' तर चिदम्बरमले भनेका थिए 'काँग्रेस समाजबादमा विश्वास गर्छ र म पनि गर्छु।'

चिदम्बरमसँग आइएनएक्स तथा एयरसेल म्याकिससको विवादमा जोडिएको पनि उनी अर्थमन्त्री हुँदा कै बखतको हो। उनले यी कम्पनीहरुमा विदेशी लगानी गर्न अनुमति दिए जसबाट उनको छोराले लाभ लिए।

तर चिदम्बरमले भनिरहेका छन् त्यसमा उनीमात्रै थिएनन्। फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्डकै नियम अनुसार यसमा स्वीकृति दिइएको हो साथै यसमा क्याबिनेट कमिटीको पनि स्वीकृति लिइएको थियो।

यसैगरी उनले टु जी लाइसेन्सको मामिलामा पनि विवादमा तानिएका थिए।चिदम्बरमलाई कहिले राम्रो काम गर्ने त कहिले विवादमा तानिने छवि भएको ब्यक्ति मानिन्छ। कानुन र राजनीतिका ज्ञाता र काँग्रेसका प्रभावशाली नेता मानिने चिदम्बरमले आखिरमा सन्तानमोहकै कारण जेलको बाटो हिँड्नुपरेको छ।

तर पक्राउ पर्नुअघि काँग्रेस कार्यालयमा आफू निर्दोष रहेको दावी गर्दै चिदम्बरमले भनेका थिए 'म जति स्वतन्त्रतामा विश्वास गर्छु उति नै आफ्नो देशका न्यायाधिशको समझदारीमा पनि विश्वास गर्छु। शुक्रबार तथा त्यसपछि पनि म आशा गर्छु स्वतन्त्रताको उज्यालो रहिरहनेछ।'शुक्रबार उच्च अदालतमा पि चिदम्बरमको भविष्यको फैसला हुनेछ।  (एजेन्सीहरुको सहयोगमा)