होटल हायात एक वर्षदेखि नवीकरण भएन, नवीकरण गर्न होटल व्यवस्थापननै अनिच्छुक

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ भदौ ६ गते १३:४६ | Aug 23, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर र जग्गा विवादका कारण पाँच तारे होटल हायातको नवीकरण एक वर्षदेखि रोकिएको छ। संसदीय समिति र अख्तियारले समेत छानविन गरेकोले हायातको नवीकरण रोकिएको हो।

तारे होटल प्रत्येक पाँच वर्षमा पर्यटन विभागमा नवीकरण गर्नुपर्ने प्रावधान छ।होटलको शेयर होल्डरको आधिकारिक प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन, संसदीय समितिले देखाएको कैफियत, लगायतका कारणले नवीकरण नभएको पर्यटन विभागले जनाएको छ। होटलको नवीकरण गत असोजमै हुनुपर्थ्यो।

'तारा गाउँ रिजेन्सीले नै पर्यटन विभागमा नवीकरण पकृया  अगाडि नबढाउन अनुरोध गरेको छ। अहिलेसम्म पनि उहाँहरुले सेयर होल्डरको प्रमाणीत दस्तावेज ल्याउन सक्नुभएको छैन।वातावरणीय प्रभाव मूल्याङ्कन पनि पास भएको छैन,’ विभागका महानिर्देशक डण्डुराज घिमिरेले बिजमाण्डूसँग भने,’संसदीय समितिले शेयर नमिलेको,शेयर घटाउँदै लगेको, सार्वजनिक गर्नुपर्ने शेयरहरु संचालकले मात्र किनेको लगायत कुराहरु औँल्याएको छ। हाल अख्तियारमा शेयरको विषयमा छानविन भइरहेका कारणले नवीकरण रोकिएको हो।'

होटल व्यवस्थापनले सकृयता नदेखाएका कारण नवीकरण नभएको समेत जिकिर गरे।‘होटल नवीकरण नगरि होटल चलाउन मिल्दैन।तर उहाँहरुले नवीकरणका लागि सकृयता देखाउनुभएको छैन,’घिमिरेले भने,’उहाँहरुले शेयरको प्रमाणित विवरण ल्याउनुपर्यो।तारा गाउँको शेयर २२ प्रतिशत हो की ९ प्रतिशत हो निश्चित हुनुपर्यो।’

उनले होटल नवीकरण नहुँदा वित्तिय र विदेशी मुद्राको कारोबार गर्न नपाउने बताए। तर होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले वातावरण प्रभाव मूल्यांकनको प्रकृया अघि बढेको बताए।'पर्यटन निर्देशिका २०७० अनुसार हामीले सबै प्रक्रिया अगाडी बढाइसकेका छौँ। हामीले निर्देशिका अनुसार नविकरण गर्नु तीन महिना अघिनै सबै कागजपत्र बुझाइसकेका छौं। अहिले शेयर लगत अध्यावधिक बुझाइसकेका छौँ। हामी कानुनी प्रकृयालाई सम्मान गर्छौँ र यो हाम्रो लागि एउटा अवसर पनि हो।' परियारले बिजमाण्डूसँग भने।

उनले होटल नवीकरण नभएपछि अस्थायी रुपमा राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजत लिएको बताए। परियारले शेयरका बारेमा संसदीय समिति र अख्तियार लगायतका निकायले अध्ययन गरिरहेको बताउँदै कानुन अनुसार संचालनमा रहेको होटल बारे अध्ययन हुनुलाई अस्वभाविक रुपमा नलिएको बताए।

'नेपाल सरकारसँग सम्वन्धित विभिन्न निकायको अनुसन्धानका प्रकृया हुन्छन्। कम्पनीले यसलाई अवसरको रुपमा हेरेको छ। हामी कानुन अनुसार चलेको कारण वदनियतपूर्ण कार्य गरेका छैनौँ।' परियारले भने,’हामीले दुई पटक धेरै विदेशी मुद्रा आर्जन गर्ने होटलको रुपमा सिआइपी सम्मान समेत पाइसकेको कम्पनी भएकाले सरकारका सबै कानुनी प्रकृया पूरा गरिरहेका छौं।’