एक सातामा शेयर बजार ४६ अंक तल आयो, अर्थमन्त्रीसँग रुष्ट लगानीकर्ता, सुधारको संकेत छैन

बिजमाण्डू
२०७६ भदौ ३० गते १५:४१ | Sep 16, 2019
एक सातामा शेयर बजार ४६ अंक तल आयो, अर्थमन्त्रीसँग रुष्ट लगानीकर्ता, सुधारको संकेत छैन


काठमाडौँ। एक सातादेखि शेयर बजारमा गएको पहिरो सोमबार पनि थामिएन। दैनिक घटिरहेको शेयर बजारमा सोमबार थप १६.१८ अङ्कको पहिरो गएको छ। बजार पुन ६ महिना अघि फर्किएको छ।

Tata
GBIME
Nepal Life

सोमबार बजार ११२३.८३ अंकमा ओर्लिएको छ। गत फागुन २५ गते बजार १२७४.७७ अंकमा रहेको थियो। त्यसयता बजारले १५१ अङ्क गुमाइसकेको छ। फागुन २५ यता बजार केही समय बढ्दो क्रममा रहेको भएपनि त्यस वृद्धि टिकाउ नहुँदा बजार लगातार घट्दो क्रममा देखिएको हो। 

चालु आर्थिक वर्ष लागेदेखि लगानीकर्ताको मनोबल घट्दो क्रममा देखिएको छ। कर र अन्य आर्थिक क्षेत्रमा देखिएका समस्याले लगानीकर्ताको मनोबल घटाउँदै लगेका कारण शेयर बजार थप धरापमा पर्दै गएको छ। गत साउनयता बजारले ९१ अङ्क गुमाएको छ भने गएको आठ कारोबार दिनमा बजारले करिब ४६ अङ्क गुमाएको छ।   

शेयर बजारप्रति हालका अर्थमन्त्री सकारात्मक नभएको कारण बजारले गति लिन नसकेको लगानीकर्ताको भनाइ छ। अर्थमन्त्रीले सुरुदेखि नै बजारप्रति सकारात्मक भाव नराखेको लगानीकर्ताको आरोप छ। 'शेयर बजारप्रति अर्थ मन्त्रीको सकारात्मक भाव नरहेकै कारण लगानीकर्ताको मनोबल खस्किएको हो' नेपाल इन्भेष्टर फोरमका महासचिव राजन लम्सालले भने। 

पछिल्लो समय लगानीकर्ता अर्थमन्त्रीप्रति रुष्ट रहेका छन्। 

शेयर बजार लगातार घट्दो क्रममा रहेको भएपनि सरोकारवाला निकायले बजारमा मनोबल वृद्धि गर्ने कुनै उपाय ननिकालेकोप्रति पनि लगानीकर्ता रुष्ट भएका छन्। 

'यत्रो बजार घट्दा पनि सरकार र सरोकारवाला निकायले केही नबोल्नु आफैमा आश्चर्य लाग्दोछ' लम्सालले भने। 

सोमबार १६९ कम्पनीका १२ लाख ४८ हजार कित्ता शेयर कारोबार भयो। करिब ३५ करोड रुपैयाँको शेयर कारोबार हुँदा छिमेक वित्तीय संस्थाको सबैभन्दा बढि शेयर कारोबार भयो। उसको मात्रै एक करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। 

सोमबार १२ समूहको शेयर कारोबार भयो। जसमा ट्रेडिङ् बाहेक सबै उपसूचक घटेका छन्। ट्रेडिङ् समूह २.२९ प्रतिशतले बढेको छ। सबैभन्दाबढि जीवन बिमा समूह २.५९ प्रतिशतले घटेको छ।