शेयर बजारप्रति अर्थमन्त्री ‘सफ्ट कर्नर’, बजार घटेपछि लगानीकर्ताको मनोबल बढाउने अभिव्यक्ति

बिजमाण्डू
२०७६ भदौ ३१ गते ११:५८ | Sep 17, 2019
शेयर बजारप्रति अर्थमन्त्री ‘सफ्ट कर्नर’, बजार घटेपछि लगानीकर्ताको मनोबल बढाउने अभिव्यक्ति

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर बजार लगातार दोहोरो अंकले घट्न थालेपछि अर्थमन्त्री डा. युवराज खतिवडाको भाषणमा परिवर्तन आएको छ। एक साता अघि अर्थमन्त्रीले शेयर बजारलाई मात्रै नहेर्ने अभिव्यक्ति दिएका खतिवडाले बजारमा लगानीकर्ताको मनोबल बढाउनुपर्ने धारणा राखेका छन्।

कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री खतिवडाले कर्मचारी सञ्चयकोष जस्ता निकायले शेयर बजारमा प्रवेश गर्नुपर्ने बताए।उनले भने ‘बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्दै छ। आर्थिक वृद्धिदर पनि राम्रो छ। राजनीतिक स्थायित्व छ। सुशासन अवस्था सुदृढ भएका छन् भने करका समस्या हल भइरहेका छन्। यो बेला दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने उपयुक्त समय हो।‘

पूँजी बजारलाई गति दिने बेला भएको भन्दै खतिवडाले सार्वजनिक संस्थाहरुलाई क्रियाशिल भएर लाग्न आग्रह गरे। नेपालमा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, दूरसंचार कोष छन्। सरकारी तथा निजी क्षेत्रबाट संञ्चालित सम्पूर्ण कोषको जोड्दा कुल ग्राहर्स्थ उत्पादनको २० प्रतिशत हुन आउने बताउँदै खतिवडाले भने ‘यस्ता कोषको ठुलो रकम पूँजी बजारमा खर्च हुन्छ भने केही रकम मुद्रा बजारमा पनि हुन्छ।‘ उनले मुद्रा बजारमा केही समस्या आएपछि अनुशासनमा रहन निर्देशन दिएको समेत बताए।

उनले भने ‘हामीले सबै कोषका संचालकलाई बोलाएर अलिकति अनुशासनमा रहनुस भन्यौं। अल्पकालिन व्याजदरलाई आर्थिक प्रणालीलेनै धान्नै नसक्ने नबनाउनुस भनेका थियौं। उहाँहरुले मान्नुभयो।’

कर्मचारी सञ्चयकोष जस्ता संस्थाको भूमिका दीर्घकालिन किसिमका पूर्वाधार विकासमा हुने खतिवडाले बताए। पछिल्लो समय प्राथमिक शेयर नै बिक्री हुन छाडेपछि मन्त्री खतिवडाले पूँजी बजारमा आइपिओ निष्काशनमा कर्मचारी सञ्चयकोष जस्ता संस्थाहरुको भुमिका सशक्त हुनुपर्ने बताए।