योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयन, ‘वायुसेवा निगमलाई दिएको ऋणको चिन्ता लिनुपर्दैन्’

बिजमाण्डू
२०७६ भदौ ३१ गते १४:३५ | Sep 17, 2019
योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयन, ‘वायुसेवा निगमलाई दिएको ऋणको चिन्ता लिनुपर्दैन्’


Tata
GBIME
Nepal Life

तस्विर: रासस

काठमाडौं। कर्मचारी संचय कोषले योगदानमा आधारित निवृत्तिभरण प्रणाली कार्यान्वयनमा ल्याएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार कोषको ५८ औं वार्षिकोत्सवको अवसरमा निवृत्तभरण कोष व्यवस्थापनको उद्घाटन गरेका हुन्।

सरकारी क्षेत्रमा रहेको परम्परागत योगदान रहित निवृत्तभरण प्रणालीको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनले कोषका लागि दुरगामी प्रभाव पार्ने कोषका प्रशासक तुलसी प्रसाद गौतमले जानकारी दिए।

योगदानमा आधारित निवृत्तिभरण ऐन २०७५ कार्यान्वयनमा आएसँगै सरकारी सेवाका सबै कर्मचारीहरुको निवृत्तिभरण कोषको व्यवस्थापन कर्मचारी सञ्चयकोषले पाएको थियो। सुरुमा सैनिक द्रव्य कोषबाट प्रारम्भ भएको यो कोष अहिले निवृत्तिभरण प्रदायक संस्थाको रुपमा रुपान्तरण भएको गौतमले बताए।

सरकारले पछिल्लो समय निजी क्षेत्रलाई समेत समावेश गर्ने गरि सामाजिक सुरक्षा ऐन ल्याएको छ। सामाजिक सरक्षा कोष र कर्मचारी सञ्चयकोषको भूमिका उस्तै भएकोले अहिलेसम्म कर्मचारी कोषमा आवद्ध भएका निजी क्षेत्रको हकमा अन्योलता कायमै रहेको कोषका सह प्रशासक राजेन्द्र काफ्लेले बताए।

सामाजिक सुरक्षा कोषको कार्यान्वयनको प्रकृयाले कोषको दायरा विस्तार गर्ने अभियानमा अवरुद्ध भएको कोषका प्रशासक गौतमले जानकारी दिए। गौतमले अहिलेसम्म कायम संगठित संस्थाका कर्मचारीहरुले यस कोषमा नियमित रकम जम्मा गर्ने व्यवस्था मिलाइदिन माग राखे। 

कोषले नेपाल क्लियरिङ हाउससँग समन्वय गरि कोषबाट प्रवाह हुने सापटी भूक्तानीलाई चेक हित बनाइएको गौतमले जानकारी दिए।कोषमा हालसम्म ६ लाख सञ्चयकर्ता रहेका छन्। कोषले अहिलेसम्म २० वटा कम्पनीमा शेयर लगानी गरेको छ।

कोषले लगानीबाट प्राप्त कुल प्रतिफल मध्ये ९५ प्रतिशत भन्दा बढि रकम व्याज, मुनाफा सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्तालाई प्रदान गर्छ। आर्थिक वर्ष २०७४/७५ मा कोषले तीन अर्ब ९४ करोड रुपैयाँ मुनाफा गरेकोमा दुई अर्ब ७६ करोड संचययकर्तालाई नै मुनाफाको रुपमा वितरण गरेको गौतमले जानकारी दिए।

कार्यक्रममा ट्रेड युनियनका पदाधिकारीहरुले कोषको धेरै सम्पत्ती उपयोग विहिन भएकोले त्यसको व्यवस्थापन गरेर प्रतिफल लिनु पर्ने बताएका थिए। कोषले ठमेलको कार्यालयलाई लगनखेलमा स्थानान्तरण गर्ने र ठमेलको भवनलाई व्यवसायिक प्रयोजनका लागि भाडामा दिने भएको छ।

कोष र सामाजिक सुरक्षा कोषको कार्यक्षेत्रमा दोहोरोपना हुन नदिन थप नीतिगत सुधार गर्नुपर्ने देखिएको गौतमले बताए। बाणिज्य बैंकको नियमन संस्थागत सुशासन जोखिम व्यवस्थापन तथा संस्थागत क्षमतामा सुधार भएकाले कोषले बैंक तथा वित्तीय संस्थासँगको सहवित्तीयकरणका आधारमा हुने लगानीलाई प्राथमिकतामा राखेको प्रशासक गौतमले जनाए।

उनले भने ‘उपयुक्त र विश्वसनीय परियोजनाको लगानीमा कोषलाई समेत साझेदार बनाउन सबै बैंकका कार्यकारी प्रमुखहरुलाई अनुरोध गर्छु।’कोषले सरकारको जमानतमा नेपाल वायु सेवा निगमलाई कर्जा प्रवाह गरेकोले यसमा चिन्ता लिनु नपर्ने गौतमले बताए।