त्रिभुवन विमानस्थलमा थप २०० सीसी क्यामरा जडान गरिँदै, ब्यागेज हराउने र चोरिने समस्या कम

बिजमाण्डू
२०७६ भदौ ३१ गते १४:५८ | Sep 17, 2019
त्रिभुवन विमानस्थलमा थप २०० सीसी क्यामरा जडान गरिँदै, ब्यागेज हराउने र चोरिने समस्या कम

Tata
GBIME
Nepal Life

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन दुई सय वटा सीसी क्यामरा जडान गर्ने भएको छ।

यात्रु, यात्रुको लगेज सुरक्षादेखि अपराधिक कृयाकलाप नियन्त्रणका लागि दुई सय सीसी क्यामरा जडान गर्न लागिएको विमानस्थल नेपाल प्रहरीका डिआइजी सूर्य उपाध्यायले बताए।अहिले विमानस्थलमा तीन सय ४५ सीसी क्यामरा प्रयोगमा छ।‘सय वटा सीसी क्यामरा जडानको प्रकृयामा छ। थप सय वटाको टेण्डर प्रकृया सुरु भएको छ’ उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने।

उनले विमानस्थलको सुरक्षामा कुनै सम्झौंता नगरिएको बताउँदै विमानस्थलको मूल गेटदेखि जहाज पार्किङसम्म सीसी क्यामराको निगरानी रहेको जानकारी दिए।उपाध्यायले सीसी क्यामराको सहायताले ब्यागेज चोरीको समस्या समाधान भएको बताए। ‘कतिपय व्यागेज यात्रु आउने गरेको मुलुकबाटै खोलिएर आएको हुन्छ। तर यहाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान हरायो भन्ने गुनासो पनि सुनिन्छ। अहिले हामीले सीसी क्यामराको सहयोगबाट यस्ता गुनासा समाधान गरिरहेका छौं।‘ उनले भने।

डिआइजी उपाध्यायका अनुसार साउनदेखि भदौसम्ममा विमानस्थलमा व्यागेज सम्वन्धि आएका ५५ वटा समस्या मध्ये ४९ वटा समाधान भएको छ। एयरलाइन्सको हकमा आएका २७ वटा समस्या मध्ये २२ वटा समाधान भएको उनले बताए।उनका अनुसार सीसी क्यामराका कारण कर्मचारी समेत निगरानीमा आउने हुँदा समस्या कम हुन्छ।

सुरक्षासँगै नेपाल भ्रमण वर्ष २०२० लक्षित विमानस्थलको पूर्वाधार विस्तारको काम अगाडि बढाइसकिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए।उनले निकट भविष्यमा विमानस्थलमा आइपर्ने यात्रु सुरक्षासँगै ब्यागेज सुरक्षा समस्या शून्य प्रतिशतमा झार्ने दाबी गरे।