शेयरमा लगानी गर्न अर्थमन्त्रीले सुझाएपछि लगानीकर्ता हौसिए, २६.‍९१ अंक बढ्यो, ‘बिक्री नगर्नुस्’

बिजमाण्डू
२०७६ भदौ ३१ गते १५:२० | Sep 17, 2019
शेयरमा लगानी गर्न अर्थमन्त्रीले सुझाएपछि लगानीकर्ता हौसिए, २६.‍९१ अंक बढ्यो, ‘बिक्री नगर्नुस्’

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सकारात्मक अभिव्यक्ति दिएपछि शेयर बजारमा २६.९१ अंकले सुधार देखिएको छ। उनले शेयरमा लगानी गर्न अपिल गरेका थिए।

अर्थमन्त्रीको सकारात्मक बिचार आइरहँदा लगानीकर्ताका संघ/संस्थाले शेयर मूल्य धेरै तल आएकोले सस्तोमा बिक्री नगर्न लगानीकर्ताहरुलाई अपिल गरेपछि त्यसको प्रभाव पनि मूल्य सूचकमा देखिएको हो।

विगत तीन महिनादेखि शेयर बजार एकोहोरो घट्दै आएको थियो। बजार लगातार ओरालो झर्न थालेपछि लगानीकर्ताले अर्थमन्त्रीलाई जोडेर चर्को विरोध गर्दै आएका थिए। शेयर बजारप्रति अनुदारको ट्याग पाएका अर्थमन्त्रीले मंगलबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सवमा शेयर मूल्य सुधार हुनु पर्ने अभिव्यक्ति दिएका थिए। उनले अहिलेको समय शेयर खरिद गर्ने भएको बताएका थिए।  

मंगलबार बिहानै केही लगानीकर्ताको समुहले अहिलेको समयमा शेयर बिक्री नगर्न अनुरोध गर्दै आवश्यक परे आन्दोलनका लागि तयार हुन अपिल गरेका थिए। विगतका दिनमा दोहोरो अंकले शेयर बजार घट्दा कारोबार रकम २० देखि ३० करोड रुपैयाँमा सिमित हुँदै आएकोमा मंगलबार ३८ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। 

शेयर बजार सुधारको प्रभावले सम्पुर्ण सूचक तथा उपसूचक उकालो लाग्दै गर्दा म्युचुअल फण्डको भने थोरै घटेको छ। जलविद्युत क्षेत्रका लगानीकर्ता पेनिक हुँदै आएकोमा आज अधिकांस जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ। हाइड्रोपावरको सूचक ४.२७ अंकले सुधार भएको छ। अधिकांस जलविद्युत कम्पनीको शेयर मूल्य आधार मूल्यभन्दा धेरै तल छ। 

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधनको सूचक ४.५२ प्रतिशतले बढेको छ। जसमा शिवम् सिमेन्टको अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ४९ रुपैयाँले बढेर ५४४ रुपैयाँ पुगेको छ। 

बाणिज्य बैंकको सूचक २.०४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांस घोषणा गरेको सिद्धार्थ बैंकको अधिकतम तीन करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। 

मंगलबार चार वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। सर्किट लाग्नेमा शिवम सिमेन्ट, गुराँस लघुवित्त, राधी हाइड्रोपावर र अपि पावर छन्। १३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३ वटाको भने घटेको छ। बजारमा उछाल आएको दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ प्रतिशतले घटेको छ।