चाडपर्वको मौका छोपी म्याद सकिएका खाद्य वस्तु बिक्री, ‘गुण नियन्त्रणका हाकिम काठमाडौंमा’

बिजमाण्डू
२०७६ भदौ ३१ गते १७:०५ | Sep 17, 2019

Tata
GBIME
Nepal Life

सुर्खेत।ठूला चाडवर्व नजिकिदै गर्दा दैनिक खाद्य उपभोग्य सामग्रीबाट उपभोक्ता ठगिने क्रम बढेको छ। दैनिक खाद्य उपभोग्य सामग्रीमा अखाद्य वस्तु मिसावट र म्याद सकिएका खाद्य वस्तु व्यापारीले मनपरी बिक्री गर्दा उपभोक्ता ठगिएका हुन्।

अधिकांश व्यापारीले सामानको मूल्य पनि खुलाइएको पाइदैन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा पनि व्यापारीको चरम लापरवाही देखिन्छ। वीरेन्द्रनगरको मंगलगढी चोक, हटिया लाइन, मंगलगढी जुम्लारोड, एरिचोकलगायतका विभिन्न स्थानमा व्यापारीले मनपरी ढंगले म्याद गुज्रेका सामान बेच्दै आएका छन्।

वीरेन्द्रनगर बजारमा भेटिएका स्थानीय उपभोक्ता तिलक शाहीले पछिल्लो समय बजारमा म्याद सकिएका सामान बिक्री गर्ने क्रम बढेको गुनासो गरे।‘दैनिक खाद्य उपभोग्य सामग्रीको पटक पटक हुनुपर्ने अनुगमन र नियमन हुन नसक्दा दिनदाहडै उपभोक्तालाई ठग्छन्’ उनले भने, ‘अहिले पनि अधिकांश खाद्य स्टोर, किराना पसलमा जाने हो भने म्याद गुज्रेका सामान बेचिरहेका हुन्छन्।’

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक खाद्य सामाग्रीको गुणस्तर अनुगमन नियमित हुनुपर्ने उनको माग छ।

कार्यालय सहायकको भरमा गुण नियन्त्रण कार्यालय

खाद्य सामाग्रीको गुणस्तर मापन गर्ने निकायले भने जनशक्ति अभावमा बजार अनुगमनको काम प्रभावकारी हुन नसकेको बताएको छ। कर्णाली प्रदेशमा संघीय सरकार मातहत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारी नहुँदा कार्यालय एक जनाको भरमा छ। ६ वटा जिल्लाको खाद्यवस्तुको गुणस्तर मापन गर्ने कार्यालय नै एक जनाले समाल्दै आएको एक कर्मचारीले बताए।

कार्यालयमा ६ जनाको दरबन्दी रहेपनि अहिले कार्यालय प्रमुख र कार्यालय सहयोगी मात्रै छन्। कार्यालय प्रमुख पनि कामकाजमा अन्यत्र गए कार्यालय सहयोगीको भरमा काम हुने गरेको छ।

कार्यालय प्रमुख काम विशेषले संघीय राजधानी गएको र कार्यालय आफूले नै सम्हाल्दै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय सहयोगी खिमराज पौडेलले बताए।

‘कार्यालयमा कोही हुनुहुन्न। कार्यालयको काम विशेषले हाकिससा'ब काठमाडौं जानु भएको छ। अहिले कार्यालयमा म मात्रै हो’, उनले भने।

यस्तोमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तिव्रताका साथ अघि बढाउने बताएको छ। भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले अबको एक हप्ताभित्र चाडपर्व लक्षित गरी बजार अनुगमनको काम अघि बढाउने बताए।

‘अबको एक साताभित्र चाडपर्व लक्षित योजनासहित बजार अनुगमनको काम अघि बढाउँछौँ’ उनले भने, ‘प्राय व्यापारीले म्याद गुज्रेका र अखाद्य वस्तु बेच्ने समय भनेको चाडपर्व (दशैँ/तिहार/छट) नै हुन्। त्यसैले अब एउटा टिम नै बनाएर नियमित अनुगमन गर्छौं।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका लागि आवश्यक कर्मचारी पठाउन केन्द्र सरकारलाई जानकारी पनि गराईसकेको प्रजिअ अधिकारीले बताए।‘कार्यालय खोलेर मात्रै हुदैँन। त्यसका लागि चाहिने आवश्यक कर्मचारी पठाउन मैले केन्द्र सरकारलाई जानकारी पठाईसकेको छु’ उनले भने, ‘आशा गरौँ अबको केही समयमा सरकारले कर्मचारी पठाउँला।’