पर्यटनमन्त्रीले गठन गरेको समितिले भन्यो-‘रणनीतिक साझेदार विना एनएसी चल्न सक्दैन्’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ असोज १ गते १०:५५ | Sep 18, 2019
पर्यटनमन्त्रीले गठन गरेको समितिले भन्यो-‘रणनीतिक साझेदार विना एनएसी चल्न सक्दैन्’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार विना चल्नै नसक्ने अध्ययनमा देखिएको छ। योगेश भट्टराईले आफू पर्यटनमन्त्री हुनेवित्तिकै गठन गरेको सुझाब समितिले एक महिना लगाएर गरेको अध्ययन अनुसार रणनीतिक साझेदार नल्याए निगम प्रतिस्पर्धामा उत्रिनै नसक्ने देखिएको हो।

भट्टराईले पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका थिए। यो समितिले बुधबार पर्यटनमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाउँदैछन्।‘निगमलाई तत्कालै रणनीतिक साझेदार ल्याएर अघि बढाउनुपर्ने देखिएको छ। रणनीतिक साझेदार विना अहिलेको अवस्थामा निगम चल्न सक्दैन’ प्रतिवेदनमा भनिएको छ। पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार यही प्रतिवेदनका आधारमा निगममा रणनीतिक साझेदार ल्याउने प्रकृया अघि बढाइनेछ।

प्रधानमन्त्री केपीशर्मा ओलीले भट्टराईलाई पर्यटनमन्त्री बनाउँदा निगम सुधारको पहिलो ‘टास्क’ दिएका थिए। ओलीले रणनीतिक साझेदार ल्याएर भएपनि निगमलाई प्रतिस्पर्धी बनाउने गरि काम गर्ने मूख्य जिम्मेवारी उनलाई दिएका थिए।त्यही जिम्मेवारी अनुसार भट्टराईले अध्ययन समिति बनाएका हुन्।समितिले दिएको सुझाब अनुसार निगममा रणनीतिक साझेदार ल्याउने प्रकृया अघि बढाइनेछ।

प्रधानमन्त्री ओलीले निगमको ६१ औँ वार्षिकोत्सवमा अहिलेको अवस्थामा चलाउन नसकिए रणनीतिक साझेदार खोज्नुपर्ने बताएका थिए।उनले यथास्थितीमै निगमलाई पैसा दिन नसकिने र व्यवस्थापनको सुव्यवस्थाविनै पैसा दिन नमिल्ने बताएका थिए।त्यही भएर निगमले पैसा माग्दा समेत सरकारले दिएको छैन।अर्थमन्त्रालय स्रोतका अनुसार अहिलेको व्यवस्थापनमा निगमलाई अतिरिक्त पैसा दिन सकिदैन्।जहाज खरीद र खरीद भएको जहाज राम्रोसँग संचालन नगर्दा निगम ३७ अर्ब रुपैयाँ घाटामा गएको छ।

समितिले निगमको कार्यकारी अध्यक्ष मदन खरेलका बारेमा केही पनि बोलेको छैन।‘व्यवस्थापन परिवर्तन गर्ने विषय हामीले बोल्ने होइन। त्यो परिवर्तन गर्ने/नगर्ने जिम्मेवारी नेपाल सरकारको हो। त्यसैले हामीले प्रतिवेदनमा केही उल्लेख गरेका छैनौं’ समितिका एक सदस्यले भने। निगमको अध्ययन समिति बनेपछि कार्यकारी अध्यक्ष खरेल एक साता विदामा बसेका थिए।

उनले यो अवधिमा निगमको कर्मचारीको समेत फोन उठाएनन्। प्रधानमन्त्री केपीशर्मा ओलीले प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार हुँदाहुँदै आफ्नै गृह जिल्लाका खरेललाई कार्यकारी अध्यक्ष बनाएर ल्याएका थिए। खरेल आएपछि व्यवस्थापन सुधार हुनुपर्नेमा उल्टै खस्किएको छ। निगम स्रोतका अनुसार अझै नयाँ गन्तब्य उडानमा वेथिती मात्रै छ।

निगमले दीर्घकालिन रुपमा बजार गन्तब्य नहेरि सीमित स्वार्थ खोज्दा नयाँ गन्तब्यमा समेत निगमको जहाज उडान गर्दा वित्तिय बोझ मात्रै बोक्नुपरेको छ।जापानमा एक दशकपछि निगमले उडान गर्दा विवाद मुक्त भएन्।स्रोतका अनुसार खरेलले सही व्यवस्थापन गर्न नसक्दा ओशाका उडान विवादित बनेको हो।

सुरुमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचनलाई प्रतिनिधीको रुपमा ओशाका उडानका लागि प्रकृया थालेका खरेलले उडान गर्ने बेलामा भने हटाए।यो विवादले पनि ओशाका उडान सफल भएन्। ओशाकाको पहिलो उडानमै आवश्यक यात्रु पुगेन।यात्रु अभावकै कारण साताको तीन दिन उडान गर्ने तालिका निगमले परिवर्तन गर्दै दुई वटामा झारेको छ।खरेलले आफू अध्यक्ष हुँदा सरकारलाई बुझाएको प्रतिवद्धता एउटा पनि पूरा गर्न सकेका छैनन्।त्यही कारण प्रधानमन्त्री ओली समेत खरेलसँग असन्तुष्ट थिए।

समितिले निगमको व्यवस्थापन, खरीद प्रकृया आवश्यक उपकरण लगायतका बारेमा अध्ययन गरेको थियो। स्रोतका अनुसार समितिले वित्तिय अवस्थाका बारेमा पनि नजिकबाट अध्ययन गरेको थियो।