६ दिनमा भएको क्षति दुई दिनमै पूर्ति भयो, अर्थमन्त्रीको भनाइपछि ५० अंकले बजारमा सुधार 

बिजमाण्डू
२०७६ असोज १ गते १५:२३ | Sep 18, 2019
६ दिनमा भएको क्षति दुई दिनमै पूर्ति भयो, अर्थमन्त्रीको भनाइपछि ५० अंकले बजारमा सुधार 


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिएपछि दुई दिनमै शेयर बजार ४९.५९ अंकले सुधार देखिएको छ। बजार लगातार ओरालो झर्न थालेपछि लगानीकर्ता संघ/सस्थाका प्रतिनिधिले सोमबार अर्थमन्त्रीलाई बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिन आग्रह गरेका थिए। 

Tata
GBIME
Nepal Life

लगानीकर्ताको आग्रहलाई मान्दै खतिवडाले मंगलबार कर्मचारी सञ्चय कोषको ५८औं वार्षिकोत्सवमा शेयर बजारमा लगानी गर्न सबैलाई सुझाव दिएका थिए। उनले शेयर बजार धेरै नै तल झरेको र शेयर खरिद गर्ने उपयुक्त सयम भएको अभिव्यक्ति दिएका थिए। उनले नेपालमा कर्मचारी सञ्चय कोष जस्ता संस्थाहरुले दोस्रो बजारमा लगानी गरेर राम्रो नाफा आर्जन गर्न सक्ने बताएका थिए। 

पछिल्लो समय प्राथमिक शेयर नै बिक्री हुन छाडेको अवस्थामा उनले कर्मचारी सञ्चय कोषजस्ता संस्थाले शेयर खरिद गर्नु पर्ने बताएका थिए। उनको अभिव्यकतिलगत्तै मंगलबार शेयर बजार २६ अंकले सुधार भएको थियो। 

६ कारोबार दिनमा घटेको बजार दुई दिनमै पुर्ति भएको छ। सोमबार लगानीकर्ताका विभिन्न संघ संस्था तथा समुहले लगानीकर्ताहरुलाई आत्तीएर शेयर बिक्री नगर्न आग्रह गरेका थिए। उनीहरुले 'पेनिक' भएर शेयर बिक्री नगरी आवश्यक परे आन्दोलनमा उत्रिन सबैलाई आह्वान गरेका थिए। 

शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले बजारबाटै पैसा निकालेर दशै तिहार मनाउने गरेका छन्। दशै अगाडि लगातार बजार घट्दा सस्तोमा शेयर बिक्री गर्नु पर्ने अवस्थाका लगानीकर्ताहरुलाई दुई दिनको सुधारले ठूलो राहत दिएको छ। दशै नजिकिदै गर्दा बजारमा आपूर्ति थप बढ्ने र कम्पनीको मूल्य घट्ने विश्लेषण गरिएको थियो। 

बुधबार शेयर बजार सुधार हुँदा १२९ वटा कम्पनीको मूल्य बढेको छ भने १९ वटाको घटेको छ। नेप्से सूचक २२.६८ अंकले सुधार हुँदा ११७३.४२ अंकमा रोकिएको छ। १.९७ प्रतिशतले सुधार भएको बजारमा ४७ करोड ६८ लाख रुपैयाको कारोबार भएको छ। 

बुधबार सबैभन्दा धेरे शिवम सिमेन्टको ६ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। कम्पनीको शेयर मूल्य दुई दिनमै ८४ रुपैयाँले बढेको छ। शिवमको कारोबारमा मंगलबार अधिकतम बढ्ने क्रममा सर्किट लागेको थियो भने बुधबार पनि ८.२७ प्रतिशतले बढेको छ। 

लाभांस घोषणा भएका अधिकाम्स कम्पनीको शेयर मूल्यमा उछाल आएको छ। तर बुक क्लोज भएका कम्पनीको मूल्यमा भने खासै सुधार देखिदैन।