राजस्व असुलीको निराशाजनक तथ्यांक, चाडपर्वको अघिल्लो महिना समेत भन्सार लक्ष्य भेटिएन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ असोज २ गते ०९:४१ | Sep 19, 2019
राजस्व असुलीको निराशाजनक तथ्यांक, चाडपर्वको अघिल्लो महिना समेत भन्सार लक्ष्य भेटिएन

Tata
GBIME
Nepal Life

विराटनगर। अर्थमन्त्री डा.युवराज खतिवडाले सन्दर्भ मूल्य सूची गर्दै मूल्यांकनमा केन्द्रीकृत अनलाइन सुरु गरिएपनि भन्सार लक्ष्यको खाड्ल भने बढ्दै गएको छ।

चालु आर्थिक वर्ष लागेदेखिनै भन्सार असुलीको लक्ष्य बढ्न थालेको छ।चालु वर्षको भन्सार असुलीको तथ्यांकले निराशाजनक चित्र प्रस्तुत गरेको छ। चाडपर्व सुरु हुने अघिल्लो महिना भदौंमा समेत भन्सार लक्ष्य भेटिएन्।’ अर्थमन्त्रालयका अनुसार भदौंमा समेत राजस्व भेट्न नसकेको विरलै घटना छ।

‘दशैंतिहार जस्तो चाडपर्वमा विदेशबाट सामान बढी आयात हुन्थ्यो।स्वदेशभित्र कपडा,जुत्ता, विद्युतीय सामाग्री र सवारी साधन उत्पादन हुँदैन्।त्यो सबै विदेशबाट आयात हुने र दशैंतिहारमा बढी बिक्री हुने गर्थ्यो,’ अर्थका एक कर्मचारीले भने,’तर यो वर्ष उल्टो देखियो।मुलुकभित्र मागनै कम भएको देखिन्छ।’

ती कर्मचारीका अनुसार विशेषतः चाडवाडका अवसरमा गरिने पैठारीका कारण तीन महिनाको असुलीले पछिल्ला महिनामा पनि लक्ष्य पुर्याउन सघाउ पुग्ने गरेको अवस्था थियो। चिनियाँ व्यापारको हब मानिने महाबौद्धका यो वर्ष व्यापारनै छैन।

नेपाल चेम्बर अफ कमर्शका सदस्य एवं आरबी कम्प्लेक्स व्यापार संघका अध्यक्ष परशुराम दाहालले अस्थिर भन्सार नीतिका कारण व्यवसायीले आयातनै कम गरेको बताए।‘ भन्सार जाँचपासमा एकरुपता छैन। एउटै सामानको १५ दिन अघि र पछि फरक मूल्यांकन हुन्छ।

त्यस्तो अवस्थामा कसरी व्यापार गर्न सकिन्छ?’ उनले प्रश्न गर्दै भने,’यो पल्ट व्यवसायीले धेरै सामाननै ल्याएनन्।’ उनका अनुसार सबै क्षेत्रको व्यापार राम्रो नभएकोले दशैंका बेलामा समेत व्यापार कम भएको हो।‘ कुनै पनि व्यापार राम्रो छैन।घरजग्गा,शेयर,डन्डी,सिमेन्ट,रेष्टुरेन्ट लगायत सबे व्यापार समस्यामा छन्। यस्तो अवस्थामा दशैंमा ह्यापेनिङ हुन्छ भन्ने सोच्नुनै गलत हो’ दाहालले भने।

यो वाहेक राजस्वको महत्वाकांक्षी लक्ष्यले समेत असुलीको दूरी बढेको हो।चालु वर्षमा सरकारले राजस्व असुलीको महत्त्वाकांक्षी लक्ष्यमा पुग्न पैठारी गरिने अधिकांश व्यापारिक वस्तुमा भन्सार महसुल र अन्तःशुल्कका दरहरू वृद्धि गरिएको छ।

नयाँ आर्थिक ऐनले कतिपय मेसिन र तिनका पार्टपुर्जामा समेत अन्तःशुल्कका दरहरू निर्धारण गरेको छ। भन्सारमा राजस्व असुलीका सबै उपाय अपनाउँदा पनि लक्ष्यमा पुग्न भने मुख्य भन्सार कार्यालयहरू सकेका छैनन्।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोका अनुसार भदौंमा कार्यालयले १८ अर्ब ९१ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर असुली १४ अर्ब ७९ करोड मात्र भएको छ।त्यस्तै वीरगंज सुक्खा बन्दरगाह भन्सारले ४ अर्ब २० करोडको लक्ष्यमा ३ अर्ब ३८ करोड मात्र सङ्कलन गर्न सकेको छ।

सुक्खा बन्दरगाहले भन्सार महसुलतर्फ १ अर्ब ९२ करोडको लक्ष्यमा १ अर्ब ४८ करोड, भ्याट १ अर्ब ९४ करोडको लक्ष्यमा १ अर्ब ५७ करोड र अन्तःशुल्कको ३२ करोडको लक्ष्यमा २९ करोड मात्र असुली गरेको हो।

भैरहवा भन्सार कार्यालयले पनि लक्ष्य भेट्टाउन सकेको छै । भैरहवाले भन्सारले भदौमा भन्सार महसुलतर्फ ४ अर्ब ५३ करोडको लक्ष्य राखेकोमा ३ अर्ब ४२ करोड र भ्याटतर्फ ३ अर्ब ८१ करोडको लक्ष्यमा २ अर्ब ८७ करोड मात्र सङ्कलन गरेको छ। यो भन्सारले भदौंमा अन्तःशुल्कको २ अर्ब २७ करोडको लक्ष्यमा २ अर्ब २५ करोड असुली गरेको छ।

विराटनगर भन्सार कार्यालय पनि लक्ष्यमा पुग्न सकेको छैन। विराटनगर भन्सारले भदौंमा ४ अर्ब ९७ करोड ९३ लाख सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ अर्ब २८ करोड ५८ लाख मात्र असुली गरेको छ।

कार्यालयले भन्सार महसुलतर्फ २ अर्ब १२ करोड ६३ लाखको टार्गेटमा १ अर्ब ३१ करोड १३ लाख, भ्याटको २ अर्ब ६० करोड १२ लाखको लक्ष्यमा १ अर्ब ६६ करोड ३५ लाख र अन्तःशुल्कको २५ करोडको लक्ष्यमा ३१ करोड सङ्कलन गरेको तथ्याङ्क उपलब्ध गराएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टाको अवस्था यस्तै छ। कार्यालयले भदौंमा १ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८४ करोड ३३ लाख मात्र सङ्कलन गरेको छ।

कार्यालयले भन्सार महसुलतर्फ ६९ करोड ९८ लाखको लक्ष्यमा ४५ करोड १७ लाख, भ्याटतर्फ ४४ करोडको लक्ष्यमा ३६ करोड ९९ लाख र अन्तःशुल्कको ५८ करोड ४० लाखको लक्ष्यमा २ करोड १६ लाख असुली गरेको छ।