डेढ महिनामा ब्रोइलर कुखुराको मासु किलोमै ११० रुपैयाँ बढ्यो, मंगलबारदेखि सरकारले अनुगमन गर्ने

बिजमाण्डू
२०७६ माघ २० गते १६:०५ | Feb 3, 2020
डेढ महिनामा ब्रोइलर कुखुराको मासु किलोमै ११० रुपैयाँ बढ्यो, मंगलबारदेखि सरकारले अनुगमन गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। डेढ महिनाकै अवधिमा ब्रोइलर कुखुराको मासु किलोमा १ सय १० रुपैयाँ बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही अगाडि बढाउने भएको छ।

विभागले ठूला ह्याचरी र बिक्रेतालाई मूल्य बढ्नुको कारण पेस गर्न शुक्रबार निर्देशन दिएको थियो। यो निर्देशन गरेपनि कुखुराको मासु लगातार बढिरहेको छ। सोमबार ब्रोइलर कुखुराको मासुको मूल्य किलोको ३ सय ९० रुपैयाँ छ। डेढ महिना अघि कुखुराको मासुको मूल्य २ सय ८० रुपैयाँ थियो।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मंगलबारबाट ठूला ह्याचारी र बिक्रेताको अनुगमन गरेर मूल्य नियन्त्रणको प्रयास गरिने बताए। ‘अहिले एकाएक कुखुराको मासु र अण्डाको मूल्य बढाइएको छ। मिलेमतोमा मूल्य बढाइएको आशंकामा हामीले कारण पेस गर्न भनेका थियौं,’ उनले बिजमाण्डूसँग भने, ‘अब हामीले अनुगमन गरेर मूल्य नियन्त्रणको प्रयास गर्नेछौं।’ डेढ महिना अघि

लागतभन्दा कममा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि ह्याचरी उद्यमीले चिकेन होलिडेको निर्णय गरेका थिए। १० दिनसम्म चल्ला उत्पादन र बिक्री नगर्ने निर्णयसँगै मूल्य लगातार बढेको छ।

१० दिन चल्ला बिक्री बन्द हुनेवित्तिकै कुखुरा उत्पादन कम भयो। ब्रोइलर र लेयर्स गरी देशभर हप्तामा २५ लाख चल्ला उत्पादन बन्द गरेर मूल्य बढाइएको थियो। त्यो बेलामा मागभन्दा आपूर्ति बढी भएपछि अहिले किसानले बोइलर जिउँदो किलोको १ सय ५० रूपैयाँ र अण्डा प्रतिगोटा ८ रूपैयाँमा बिक्री गरेका थिए।