मेलम्चीमा अर्को आश्वासन, असारमा सुन्दरीजलमा खानेपानी झार्ने, अस्थायी हेडवर्क्स बनाएर ल्याउने

बिजमाण्डू
२०७६ फागुन १ गते २०:५३ | Feb 13, 2020
मेलम्चीमा अर्को आश्वासन, असारमा सुन्दरीजलमा खानेपानी झार्ने, अस्थायी हेडवर्क्स बनाएर ल्याउने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले मेलम्चीको खानेपानी आगामी असार मसान्तसम्ममा सुन्दरीजल झार्ने घोषणा गरेको छ।

विहिबार खानेपानी मन्त्री विना मगरले श्वेतपत्र जारी गर्दै चालु आर्थिक वर्षभित्र मेलम्चीको पानी सुरुङमार्गको परीक्षण समेत सकेर सुन्दरीजल  झार्ने घोषणा गरेकी हुन्। 'हाम्रो टिमले बनाएको सेड्युलमा रहेर नै काम भइरहेको छ। हामी उत्साहित छौं,' उनले भनिन्।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख तिरेशप्रसाद खत्रीका अनुसार स्थायी हेडवर्क्स बनाउन समय लाग्ने भएकाले अस्थायी बनाएर पानी स्थानान्तरण गर्न लागिएको हो। उनका अनुसार अस्थायी हेडवर्क्स स्थायीको करिव ८० मिटरमाथि तर्फ बन्ने छ। ‘अस्थायी हेडवर्क्स करिव ४० प्रतिशत तयार भएको छ। यो फागुनसम्म तयार भइसक्छ,’ उनले भने।  खत्रीका अनुसार स्थायी हेडवर्क्सको पनि ३५ प्रतिशत काम पूरा भएको छ।

गत असोजमा हेडवर्क्स १५ महिना र सुरुङमार्ग फिनिसिङ एक वर्षमा सक्नेगरि चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाएको थियो। तर अहिले गरेको काम अनुसार समय अगावै सक्ने खत्रीको दाबी छ।

'ठेकदारले सम्झौता भन्दा पहिले नै सक्ने देखिन्छ,' खत्रीले भने, 'अस्थायी संरचना बनाएर असारमा पानी पठाइन्छ । पुससम्ममा स्थायी संरचना तयार भइसक्छ।'

इटालियन कम्पनी सिएमसी डि रेभेन्नाले छाडेपछि मन्त्रीपरिषदको निर्णयबाट १० वटा प्याकेजमा ठेक्का निकालेर काम भइरहेको छ। दुईवटा खरिद प्रक्रियाबाट र ८ वटा सिएमसीसँगै काम गरेका सव कन्ट्रयाक्टरहरुले पाएका छन्। उनका अनुसार सबै काम असार मसान्त अघि नै सकिने छ। समितिका अनुसार १४ वटा गेटहरु जडान गर्नुपर्नेमा ९ वटा जडान भइसकेको छ ।सुरुङमार्गको लाइनिङ,स्ट्रक्चर सुधारको काम अन्तिम चरणमा पुगेको छ। तीनवटा भेन्टिलेसन साफ्टमध्ये सुन्दरीजलको पूरा भइसकेको बताउँदै खत्रीले एउटा अन्तिमचरणमा पुगेको जानकारी दिए। उनले अर्कोको काम सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले यसलाई विशेष मेसिन चाहिने भएकाले सेन्सेटिभ मानिएको बताए।

त्यसै गरि सुरुङमार्गको मनिटरिङका लागि अटोमेसन सिस्टम समेत जडानका  लागि सम्झौता भइसकेको छ। असारसम्ममा सक्नेगरि सम्झौता गरेको समितिले जनाएको छ। समितिले दिएको विवरण अनुसार आयोजनाको ९५.१२ प्रतिशत भौतिक प्रगति छ भने ८९.७० वित्तीय प्रगति छ । आयोजनाका लागि करिव ३१ अर्ब ३६ करोड लागतमध्ये २८ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको छ।