बन्देजमा नपरेका औषधि पनि रोक्यो भारतले, कोरोनाले वीरगंजका १४ वटा उद्योग बन्द हुँदै

बिजमाण्डू
२०७६ चैत्र २२ गते १९:४५ | Apr 4, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। निर्यातमा रोक लगाएका २६ प्रकारका औषधीको सूचीमा नपरेका केही औषधी र सहायक कच्चा पदार्थसमेत भारतले भन्सार नाकामा रोक्दा वीरगंज-पथलैया औद्योगिक करिडोरका १४ वटा उद्योगहरु बन्दको संघारमा पुगेका छन्।

तीन दिनयता नेपालका लागि आउने औषधि उद्योगका सहायक कच्चा पदार्थ रक्सौल भन्सारले रोकिदिएको छ। अझै केही दिन यस्तै रहे वीरगंज कोरिडोरका सबै उद्योग बन्द हुने वीरगंजका औषधी उद्योगीहरूले बताएका छन् ।

नेपाल औषधी उत्पादक संघका कोषाध्यक्ष तथा वीरगंजको मारुती फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रभात रुगंटाका अनुसार नेपाल आउने दर्जनौं ट्रकलाई भारतीय कस्टमले जाँचपास नदिएर रोकेको हो। 'नेपाली उद्योगका सहायक कच्चा पदार्थ, औषधी प्याकिङ गर्ने समान र भिटामिन बी-१२ र भिटामिन बी-६ लगायत रक्सौल भन्सारको गोदाममा तीन दिनदेखि थन्केर बसेको छ,' उनले भने, 'भंसारले छाडेन भने हाम्रा उद्योग बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।'

संसारभर धेरै कम्पनीले औषधिको कच्चा पदार्थ चीनबाट झिकाउँछन्। भारतका सबैजसो औषधि उत्पादक कम्पनीले पनि चीनबाटै बल्कमा कच्चा पदार्थ खरिद गर्ने गरेका छन्। चीनमा कोरोना भाइरसको प्रकोपपछि बन्द भएको निर्यात अझै सहज भइसकेको छैन।

चीनबाट कच्चा पदार्थ आउन बन्द भएपछि युरोपेली र अमेरिकी कम्पनीले भारतबाट आयात गर्ने अवस्था आएको थियो। कोरोनाको संक्रमण दर बढ्दो स्थितिमा रहेको देखेर भारतले आन्तरिक आवश्यकतालाई ध्यानमा राख्दै पारासिटामोलदेखि एन्टीबायोटिकसम्मका २६ प्रकारका औषधि र तिनका कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ।

चीनबाट बल्कमा खरिद गर्ने कम्पनीबाट नेपाली कम्पनीले औषधिका कच्चा पदार्थ खरिद गरिआएका छन्। सूचीमा नपरेका औषधि, कच्चा पदार्थ र सहायक सामाग्री पनि भित्रयाउन नपाउँदा मर्का परेको नेपाली औषधि उद्योगीको भनाइ हो।  

‘वीरगंज करिडोरका चारवटा उद्योग बन्द भइसकेका छन् र बाँकी १० वटा उद्योग पनि भारतीय भन्सार अधिकारीको कारण बन्द हुने अवस्थामा पुगिरहेका छन्,’ रुगंटाले भने।

अत्यावश्यक उद्योग सञ्चालन गर्न सरकारले आग्रह गरेकाले उद्यमीले कारखाना चालु नै राखेका छन्। लकडाउन हुँदा पनि वीरगंजबाट कामदार उद्योगमा पुगेका छन् भने ग्रामीण क्षेत्रबाट आउनुपर्ने कामदार उपस्थित हुन सकेका छैनन्। थोरै संख्यामा मात्रै कामदार आउँदा पनि कारखाना चालु राखेका उद्योगी अब भने कच्चा पदार्थ अभावले बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन्।

ढुवानीका लागि गाडीको समस्या

उद्योगीहरूका अनुसार यतिबेला ज्वरोको औषधिमात्रै बढी बिक्री छ। मागअनुसार बजारमा पुर्‍याउन भने ढुवानीका साधन अभाव छ।

कोरोना संक्रमणको डरसँगै बाटोमा हुने सुरक्षा जाँचलाई झन्झट मान्दा धेरै चालकहरूले काम गरेका छैनन्। त्यसैले उद्योगबाट विराटनगर, जनकपुर, इटहरी, धरान, हेटौंडा, भरतपुर, काठमाडौं, पोखरा, बुटवल र धनगढी लगायतका सहरहरूमा औषधि पुर्‍याउन ढुवानी व्यवसायी मानेका छैनन्। चालक अभावको समस्या देखाएर ढुवानी व्यवसायीले माल उठाउन नमान्दा औषधिको खुद्रा आपूर्ति प्रभावित भइरहेको छ।

वीरगंज करिडोरमा प्राइम, समर, युनिक, जिडी फर्मास्युटिकल्सलगायत उद्योग बन्द भइसकेका छन् । उद्योगीका अनुसार नेशनल हेल्थ केयर, क्वेस्ट, एनपीएल, म्याग्नस, एपेक्स, मारुति, सुप्रिम, आर्या र  भाष्कर हर्बास्यूटिकल्स सञ्चालनमा छन्।

‘अरू औषधिको खासै बिक्री छैन, किनभने अस्पतालमा ओपिडी बन्द छन्, अन्य रोगीहरू घरमैं बसिरहेको अवस्था छ । जसले गर्दा एउटा उद्योगले थोरै मात्रामा रूघाखोकी र ज्वरोको औषधि पठाउन खोजिरहेका छन् , तर गाडी र ढुवानी व्यवसायी एक ट्रक नभरे गाडी नलैजाने भनिरहेका छन्,' क्वेस्ट फर्मास्युटिकल्सका मानव संशाधन प्रबन्धक अनिल जैसवालले भने, 'यसले गर्दा समस्या भइरहेको छ ।’

बजारमा पारासिटामोल र अर्निन्डाजोल अभाव

औषधि व्यवसायीहरूले बजारमा ज्वरो र रूघाखोकी, पेटको औषधिको अभाव भएको बताएका छन् । भारत सरकारले एक साताअघि अतिआवश्यक २६ प्रकारको औषधि निर्यातमा रोक लगाएपछि त्यस्ता औषधि नेपाल भित्रिन पाएको छैन।

वीरगंजका केही थोक व्यवसायीहरूले भारतबाट पहिलेको बुकिङको माल मगाए पनि त्यस्ता तीन–चार गाडी रक्सौल भन्सारको गोदाममा रोकिएको नेपाल औषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले बताए। 'नेपालभरि ३० हजार पसलहरू संघमा आबद्ध छन्,' उनले भने, 'सबैतिरबाट अभाव भएको खबर आइरहेको छ।' भारतबाट भित्तिन नपाउँदा एक रूपैयाँ प्रति टयाब्लेट पर्ने पारासिटामोल र १४ रूपैयाँ पर्ने पेटको रोगमा काम लाग्ने अर्निन्डाजोलको बजारमा अभाव भएको उनले बताए ।

वीरगंजका तीन–चारजना थोक व्यवसायीहरूले झिकाएको चार गाडी मालमा १३ प्रकारका औषधि छन्। सबै रक्सौलमै रोकिएको छ।