संक्रमित बढेसँगै कोरोनासँग लड्न सरकारको नयाँ रणनीति, ‘परीक्षण, पहिचान र उपचार’

बिजमाण्डू
२०७७ बैशाख ३ गते १९:४८ | Apr 15, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले यससँग लड्न नयाँ रणनीति अख्तियार गर्ने भएको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिले संक्रमित बढेको अवस्थामा नयाँ रणनीति अख्तियार गर्ने निर्णय गरेको हो।

हाल संक्रमितको संख्या १६ पुगेको छ। केही जिल्लाहरुमा र्‍यापिड टेस्टबाट पोजेटिभ देखिएका केसलाई पीसीआर परीक्षणका लागि पठाइएको छ।

समितिको निर्णय सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘संक्रमितको संख्या बढेको छ। यसलाई मध्यनजर गर्दै अब परीक्षण, पहिचान र उपचारको रणनीतिमा केन्द्रित हुनुपर्ने निर्णय भएको छ।’

चीनबाट ल्याइँदै सामाग्री

यस्तै, समिति कोरोना संक्रमण उपचारको उपकरण चीनबाट ल्याउने प्रक्रिया अन्तिम रुपमा पुगेको जनाएको छ। सचिव बिडारीले सरकार–सरकारबीच खरिद गर्नेगरि आज नै केही खरिद प्रक्रिया टुंगोमा पुग्ने बताए।

स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको टोलीले बुधबार भिडियो कन्फ्रेन्सबाट उपकरण, औषधिको मागबारे जानकारी गराएको बिडारीले बताए। यस्तै दरभाउका विषयमा पनि कुराकानी भएको उनले जानकारी दिए।

समितिले उपकरण र औषधि खरिदमा निजी क्षेत्रले गर्ने आयातलाई पनि सहजीकरण गर्ने निर्णय गरेको छ। यस्तै, स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट हुने खरिदको प्रक्रियालाई पनि निरन्तर राख्ने निर्णय समितिले गरेको छ।

प्रदेश २ लाई पीसीआर

बैठकले त्रिभुवन विश्वविद्यालयसँग रहेको एक थान पीसीआर मेसिन प्रदेश २ मा पठाउने प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ।  संक्रमितको संख्या बढिरहेको तर्फ मध्यनजर गर्दै मेसिन पठाउन लागिएको हो।