कर्मचारीलाई प्रहरीले रोकेपछि वीरगंजका बैंक बन्द, राष्ट्र बैंकले भन्यो-‘प्रहरीले सहयोग गरेन्’

बिजमाण्डू
२०७७ बैशाख २६ गते १९:१७ | May 8, 2020
कर्मचारीलाई प्रहरीले रोकेपछि वीरगंजका बैंक बन्द, राष्ट्र बैंकले भन्यो-‘प्रहरीले सहयोग गरेन्’

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंजमा शुक्रवार कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक सबै बैंकले सेवा बन्द गरे। कर्मचारीहरुलाई प्रहरीले बीच बाटोमा रोकेर दुःख दिएपछि आफूहरु सेवा सञ्चालन गर्न असमर्थ रहेको बैंकहरुले बताएका छन्।

नबिल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडका केही कर्मचारीलाई प्रहरीले ३ घण्टा रोकेपछि वीरगंजका बैंकरहरु आक्रोशित भएका हुन्। एकातर्फ सरकारले दैनिक सेवा दिन बैंक खुला गर्नु पर्ने भन्ने र अर्कोतर्फ प्रहरीले दुःख दिन थालेपछि हालको अवस्थामा कसरी बैंक चलाउने भन्ने बारेमा राष्ट्र बैंक र पर्साका सुरक्षा निकायका अधिकारीहरुसँग समन्वय भइरहेको ग्लोबल आईएमई बैंक घडिअर्वाका शाखा प्रबन्धक सन्तोष साहले बताए।

‘बैक खोलेन भने राष्ट्र बैंकले पेल्ने, कर्मचारीलाई बाटोमा प्रहरीले नियन्त्रणमा लिने काम गरिरहेको छ’, उनले भने, ‘वीरगंजमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा प्रशासनले पनि कडाइ गरेको होला तर बैंकको समस्या र सेवाग्राहीलाई पनि बैंकसम्म कसरी सावधानी आपनाएर आउन दिने बारेमा प्रहरी प्रशासनले गृहकार्य गरेका छैनन्।’

नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक राजन विक्रम थापाले प्रहरी प्रशासनको उदासिनताका कारण सरकारी र निजी गरी २७ बैंकमध्ये दुई वटा मात्र सञ्चालनमा आएको बताए। उनले स्थानीय प्रहरी प्रशासनले बैंक सञ्चालनमा नसघाएको आरोप लगाए। काठमाडौंमा राष्ट्र बैंकले सवारी साधन सञ्चालन सम्बन्धी पास दिइरहेको तर वीरगंजमा स्थानीय प्रशासनले दिन भनेपनि हालसम्म नदिइएको उनले बताए।

यस विषयमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले आइतवारदेखि जिल्ला प्रशासनबाट बैंकको एउटा गाडीले पास पाउने र उसैले कर्मचारी ओसार्नेदेखि पैसा ओसारपसार गर्ने बताइन्। उनले बैंकसम्म आउने सेवाग्राहीहरु पैदल आएर सामाजिक दुरी कायम गरी कारोबार गर्नु पर्ने बताइन्। जसको लागि बिहान ११ बजेदेखि २ बजेसम्मको समय दिइएको उनको भनाइ छ।