ट्रम्पको तथ्यहीन दाबी, भन्छन् ‘अमेरिकामा सर्वाधिक कोरोना संक्रमण पुष्टि हुनु सम्मानजनक विषय हो’

बिजमाण्डू
२०७७ जेठ ७ गते १०:०१ | May 20, 2020

Tata
GBIME
Nepal Life

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या उच्च हुनुलाई 'ब्याच अफ अनर' अर्थात् सम्मानको बिल्ला भएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित सम्मेलनमा उनले मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि हुनुलाई परीक्षणको दायरा फराकिलो हुनुको परिणाम बताए।

संक्रमण फैलिए पछिको पहिलो क्याबिनेट बैठकमा ट्रम्पले भने,'मैले यस विषय बारे सोचें। संक्रमित ज्याँदा देखिनुको मतलब अमेरिकामा परीक्षण अरु देशमा भन्दा राम्रो भइरहेको छ। यो सम्मानजनक विषय हो।'

उनले आफू नराम्रो पक्षमा ध्यान नदिने सुनाउँदै भने,'हाललाई परीक्षण र उपचारमा खटिएका सबैमा सम्मान व्यक्त गरौं।'

तर, अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनका अनुसार अमेरिका परीक्षणको १६ औं स्थानमा पर्छ। जनसंख्याको हिसाबमा प्रत्येक हजार मानिसमा गरिएको परीक्षणको आधारमा अमेरिका दक्षिण कोरियाभन्दा अगाडि छ। तर, क्यानडा, न्यूजिल्याण्ड, आइसल्याण्ड लगायत देशहरुभन्दा पछाडि छ। मतलब ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै परीक्षण भएको बताएपनि उनले दिएको जानकारी तथ्यहीन छ।

त्यहाँको 'कोभिड ट्रयाकिङ प्रोजेक्ट'ले जनाए अनुसार भने गत सातादेखि अमेरिकामा दैनिक तीनदेखि चार लाख मानिसमा संक्रमण परीक्षण भइरहेको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्रै १५ लाख २८ हजार मानिस संक्रमित छन्। त्यस्तै करिब ९३ हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।