बजेटमाथि सुरेन्द्र पाण्डेको ‘कर्मकाण्डी’ टिप्पणी,’महत्त्वाकांक्षी नभएपनि कार्यान्वयनमा जटिल

बिजमाण्डू
२०७७ जेठ १८ गते १५:१६ | May 31, 2020


काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले बजेट महत्वकाक्षी नभए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। 

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०७७/७८को बजेट माथिको राजस्व र व्यय अनुमान माथिको सैद्धान्तिक छलफलमा सांसद पाण्डेले अहिलेको सम्पूर्ण परिस्थितिलाई ध्यानमा राख्दै आएको बजेट महत्त्वाकांक्षी नभएको बताए। 

बजेटका स्रोतहरुको अभावका कारण चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनमा छुट्याइएको बजेट खुम्चिएको उनले बताए। चालु आर्थिक वर्षमा २८ प्रतिशत मात्रै खर्च भएकाले यसले कार्यान्वयन क्षमता कमजोर रहेको प्रष्ट पारेको उनले बताए। 

उनले आगामी आर्थिक वर्षमा कार्यान्वयनमा यस्तो अवस्था आउन नदिने गरी काम गर्नतर्फ ध्यान दिनुपर्ने बताए। बजेटमा ८ खर्ब ९० अर्ब राजस्व उठाउने र चालु खर्च ९ खर्ब ४९ करोड खर्च गर्ने उल्लेख भएको भए पनि झण्डै ६० अर्ब रुपैयाँले अझै चालु खर्च धान्ने अवस्था नभइरहेको बताए।

विश्व बैंक र एशियाली विकास बैंक लगायतका संस्थाहरुले बजेट सपोर्टका लागि अनुदान दिने बचन दिनु पनि सकारात्मक पक्ष भएको उनले बताए। ब्यालेन्स अफ पेमेन्टमा समस्या आउन नदिन आइएमएफले क्रेडिट सुविधा दिनु सकारात्मक भए पनि वैदेशिक मुद्रालाई व्यवस्थापन गर्न चुनौती रहेको उनको भनाई छ। पर्यटन र रेमिट्यान्स पनि घट्न सक्ने हुँदा वैदेशिक मुद्राको स्टकमा चाप पर्न सक्ने चुनौती रहेको उनले बताए।

प्रदेश र स्थानीय तहमा जाने पैसालाई कटौति नगर्नु सकारात्मक पक्ष भएपनि संघीय सरकारले स्थानीय तहको खर्च गर्ने क्षमता विकासका लागि सहयोग गर्नुपर्ने आवश्यकता औल्याए। 

स्वास्थ्य क्षेत्रमा झण्डै एक तिहाइ बजेट विनियोजन भएको उल्लेख गर्दै उनले भवन, औजार र उपकरण मात्रै अस्पताल नभएकोले जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे।

कृषकहरुलाई उत्पादन गर्नुपूर्व नै आधारमुल्य तोकेर मनबोबल बढाउने प्रयास बजेटले गर्नु सकारात्मक भएको बताए। विदेशबाट नेपाल फर्किने नागरिक बढ्ने भएकाले अझै बढी उत्पादन बढाउनु पर्ने अवस्थामा कृषिमा अझै बजेट कम भएको बताए।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सत्तारुढ दलकै सांसदहरुले बजेटमाथि आशंका गर्दा यसको विश्वसनियता माथि नै प्रश्न उठेको बताए। बजेटमा अमेरिकी सहयोग परियोजना एमसीसीको बुँदा घुसाइएको भन्दै नेकपाभित्र विरोध भइरहेको प्रशंगमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘‘बजेटमा ४ सय केभि क्षमताको अन्तरदेशिय प्रशारण लाइनको लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रसारण निर्माण गर्ने राखेको छ। यो बजेट कतिको विश्वसनियछ । यसलाई सत्तारुढ पार्टीले अगाडी नबढाउने भनेको छ। यसले बजेट कति विश्वसनिय छ भन्ने छ। कार्यान्वयनमा यतिकै फितलो हुने छ।’’ 

आर्थिक वर्ष २०७७/०७८को बजेट माथिको राजश्व र व्ययको अनुमान माथिको सैद्धान्तिक छलफलमा उनले कोरोना महामारीबाट अर्थतन्त्रमा पार्ने प्रभावलाई सरकारले नजरअन्दाज गरेको बताए। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई सरकारले गम्भिरताका साथ नलिएको उल्लेख गर्दै उनले यसका लागि कुनै पनि कुरा प्राथमिकतामा नराखेको बताए। उनले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिसन्तोषजनक नभएको बताए।